+
+
WC Series
काठमान्डु गोर्खाज 2025
42/4 (9.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

चुनावतिर लाग्यो कांग्रेस, पुनर्स्थापनाको मागमा एक्लियो एमाले

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दबाब दिन काठमाडौंमा एमालेले सभा राखेकै दिन नेपाली कांग्रेसले एक महिना लामो केन्द्रीय कार्य समिति बैठक सम्पन्न गर्दै चुनावमा जाने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १६:१४

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म शक्ति प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

भृकुटीमण्डपमा सभा गर्दै ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म एमालेको सभा जारी रहने बताएका हुन् । ‘यो अन्तिम होइन, सुरुवात हो । यो कुनै भोट माग्नलाई चुनावी सभा गरिएको होइन’ ओलीले भने, ‘देश बचाउन, लोकतन्त्र बचाउन, संविधान बचाउन, जनताको अधिकार बचाउन गरिएको सभा हो ।’

प्रतिनिधिसभा पुनर्स्थापना गराएरै छाड्ने समेत ओलीले दाबी गरे । ‘आगामी दिनमा अझ व्यापक, अझ सशक्त सभा गर्दै जानेछौं, जबसम्म प्रतिनिधिसभाको पुनर्स्थापना हुँदैन’ ओलीले भने, ‘माग राख्नलाई राखिएको माग होइन, यो । पूरा गराउन राखिएको माग हो ।’

एमाले अगुवा राजनीतिक शक्ति भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा नेतृत्व गर्ने बताए । उनले अरू राजनीतिक दलहरूलाई पनि पुनर्स्थापनाको पक्षमा उभिन पटकपटक आग्रह गरे ।

‘एमाले यसको अग्रभागमा छ । सबै पोलिटकल पार्टीहरूलाई पनि पोलिटकल पार्टीको औचित्य सावित हुनेगरी प्रस्तुत हुन पनि आग्रह गर्न चाहन्छु’ ओलीले भने, ‘संसद पुनर्स्थापना गरौं, जेनजीका मागलाई पनि सम्बोधन गरौं, लोकतन्त्र पुनर्स्थापना गरांै, संविधानलाई बाटोमा हिडाऔं ।’

ओलीले सार्वजनिक सभा गरेर पुनर्स्थापनाको पक्षमा उभिन आग्रह गरिहँदा नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले भने चुनावमा जाने निर्णय गरेको छ । एक महिना लामो केन्द्रीय कार्य समिति बैठकलाई टुंग्याउँदै कांग्रेसले चुनावमा जाने निर्णय गरेको हो ।

जबकि ओलीलाई कांग्रेसकै आश थियो । जेनजी आन्दोलनका क्रममा ढलेको आफ्नो सत्तालाई पनि कांग्रेसकै समर्थन रहेकाले पुनर्स्थापनाको एजेण्डामा ओलीले साथ मागिरहेका थिए ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूको हस्ताक्षर समेत संकलन गरेका थिए । एमाले सांसदहरूको हस्ताक्षर संकलनलाई साथ दिने उद्देश्यले नै घिमिरेले अभियान चलाए पनि कांग्रेसले चुनावमा जाने निर्णय गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीसहित दलहरू यसअघि नै चुनावमा जाने निर्णयमा पुगिसकेका छन् । अर्थात् चुनाव नभएर प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्ने पक्षमा एमाले अब एक्लिएको छ ।

तर अध्यक्ष ओलीले भने भावनामा बगेर चुनावमा जाने निर्णय नगर्न दलहरूसँग आग्रह गरेका छन् । ‘भावनामा नबग्नुस् । … दलहरूले एकछिनका लागि भ्रम पाल्नु हुँदैन,’ ओलीको आग्रह छ ।

दलहरूले पूर्वाग्रह त्याग्नुपर्ने पनि ओलीको आग्रह छ । ‘सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु– कुनै पनि प्रकारको आग्रह, पूर्वाग्रह, संकीर्णता, प्रतिशोध छोडौं,’ उनले भने ।

ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको जन्ती नबन्न पनि आग्रह गरे । ‘असंवैधानिक सरकारको पछि–पछि जन्ती जस्तो भएर, जन्तीले पाउने के हो ? त्यही गएर एक छाक भात खाएर फर्कने होला कि खाजा खाएर फर्किने हो,’ ओलीले भनेका छन् ।

नागरिक समाज, सञ्चार क्षेत्र लगायतसँग पनि ओलीले गुहार मागेका छन् । आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पनि उनले चौबर सक्रिय हुन निर्देशन दिएका छन् ।

‘नेकपा एमालेका नेता कार्यकर्ता साथीहरूलाई म आग्रह गर्न चाहन्छु– पहिले कहिल्यैभन्दा असहज अप्ठ्यारो अवस्थामा देश छ, यस्तो अवस्थामा नेकपा एमाले जस्तो जनताको पार्टी, देशभक्त पार्टी डबल होइन चौबर सक्रियताका साथ सही विचार लिएर जनताको बीचमा जानुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?