News Summary
Generated by OK AI. Editorially reviewed.- स्कटल्याण्डका क्रिकेटर मार्क वाटले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा पहिलो शतक प्रहार गरे । उनले लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाए ।
- कर्णाली याक्सले १५७ रनको लक्ष्य १२.२ ओभरमै १ विकेट मात्र गुमाएर पूरा गर्दा वाटले ६ चौका र १२ छक्का प्रहार गरे ।
- वाटले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए र एक रनआउट पनि गरे, जसले कर्णालीलाई लुम्बिनीमाथि एकपक्षीय जित दिलायो ।
६ मंसिर, काठमाडौं । स्कटल्याण्डका क्रिकेटर मार्क वाट बलर हुन् । आवश्यक परेको बेला उनी टप अर्डरतिर पनि ब्याटिङ गर्छन् ।
तर शनिवार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने उनले ओपनिङ नै गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो शतक प्रहार गरे ।
२९ वर्षीय वाट विशेषगरी बलर भएपनि उनले एनपीएलमा लुम्बिनी लायन्स विरुद्ध ओपनिङ ब्याटिङ मात्र गरेनन् एनपीएलकै सबैभन्दा छिटो शतक समेत प्रहार गरे ।
पहिलो संस्करणमा अमेरिकी खेलाडी आन्द्रेस गौसले पोखरा एभेन्जर्सबाट खेल्दै एनपीएलको पहिलो शतक प्रहार गरेका थिए । त्यो शतक पनि लुम्बिनी लायन्स विरुद्ध नै थियो र त्यो खेल पोखराले १० विकेटले जितेको थियो ।
यस पटक मार्क वाटले एनपीएलमा शतक बनाउँदा सबै कीर्तिमान तोडिदिए । उनले एनपीएलमा सबैभन्दा छिटो ४१ बलमा शतक प्रहार गरे । यसअघि पोखरा एभेन्जर्सबाट आन्द्रेस गौसले ५४ बलमा शतक प्रहार गरेका थिए । यस्तै एकै खेलमा सर्वाधिक स्कोर (११४) को कीर्तिमान पनि बनाए । यसअघि गौसले १०४ रन बनाएका थिए । वाटले एकै खेलमा सर्वाधिक छक्का प्रहारको कीर्तिमान पनि बनाए ।
प्रियांक पाञ्चलसँग ओपनिङ गरेका वाटले ४१ बलमा शतक पूरा गरेका थिए । उनले अविजित ११४ रन बनाउँदै खेल नै सकाए ।
टीयू मैदानमा वाटले ‘वान म्यान शो’ शैलीमा ब्याटिङ गरे । सुरुदेखि नै आक्रमक ब्याटिङ गरेका उनले त्यो शैली अन्तिमसम्म कायम राखे ।

लुम्बिनीले वाटलाई आउट गर्ने अवसर पाएपनि गुमाएको थियो । ३९ रन हुँदा अभिशेष गौतमले वाटको क्याच ड्रप गरेका थिए । ‘केही क्याच ड्रप भयो र भाग्य मेरो साइड रह्यो । मैले त्यसलाई सदुपयोग गरेँ’ ड्रप क्याचको बारेमा वाटले खेलपछि पोष्ट म्याच कन्फेरेन्समा भने ।
मार्क वाटले २०२५ जुनमा नेपाल, नेदरल्याण्ड्स सम्मिलित रहेको टी-२० ट्राई सिरिजमा स्कटल्याण्डको राष्ट्रिय टिमबाटै चार खेलमा ओपनिङ गरेका थिए । तर खासै रन बनाउन सकेका थिएनन् ।
तर एनपीएलमा भने उनले धुँवाधार ब्याटिङ गरे । त्यो पनि रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ, शेर मल्लजस्ता विपक्षी बलरहरूको विरुद्धमा ।
आफ्नो क्रिकेट करियरमै यो पहिलो शतक भएको र दर्शकहरूको माझ त्यो उपलब्धि हासिल गर्न पाउँदा उनी दंग देखिएका थिए ।
‘क्रेजी’ उनले शतकको बारेमा अनुभव सोध्दा उनले सुरुमै भने, ‘यो मेरो पहिलो प्रोफेसनल शतक हो । अमेजिङ दर्शकको अगाडि शतक बनाउन पाउँदा खुशी छु । मेरो करियरमा खुशीको दिन मध्ये एक हो । यो शतक म कर्णालीलाई डेडिकेट गर्न चाहन्छु ।’
वाटले ओपनिङ गर्ने निर्णयबारे आफूलाई खासै थाहा नभएको तर टप अर्डरमा ब्याटिङ गर्न पठाएको कर्णाली याक्सलाई धन्यवाद दिए । उनले सुरुवात देखि नै आक्रमक खेल्ने सोच अनुसार नै बाउण्ड्री प्रहार गर्न थालेको बताए ।
लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै १ विकेट मात्र गुमाएर पूरा गर्दा वाट नायक बने । उनले ४४ बल खेल्दा चौका भन्दा दोब्बर संख्यामा छक्का प्रहार गरे । ६ चौका र १२ छक्का प्रहार गर्दै उनले ९६ रन बाउण्ड्रीबाटै जोडेका थिए ।

पहिलो विकेटका लागि पाञ्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गरेका वाटले दोस्रो विकेटका लागि विलियम बोसिस्टोसँग अविजित १२३ रनको साझेदारी गरे ।
अष्ट्रेलियन अलराउण्डर बोसिस्टोले वाटलाई राम्रो साथ दिँदै २० बलमा अविजित २९ रन जोडे । यसक्रममा उनले २ चौका र १ छक्का प्रहार गरे ।
कर्णालीले दोस्रो सिजन पहिलो जित निकाल्ने क्रममा वाटसहितका विदेशी खेलाडी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा वाट, बोसिस्टो र पाञ्चल क्रिजमा उत्रँदा नेपाली खेलाडीको पालो नै आएन । बलिङमा नेपालका नन्दन यादवले २ विकेट लिए, वाट र बोसिस्टोले पनि प्रभावकारी प्रदर्शन गरे ।
वाटले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । उनले दिलिप नाथलाई कट एण्ड बोल्ड गरेका थिए । यस्तै एक रनआउट पनि गरे । फिल्डिङमा पनि विदेशी खेलाडी प्रभावशाली देखिए । बोसिस्टोले विकेट नलिएपनि २ महत्वपूर्ण क्याच गरे । लुम्बिनीका ओपनर सन्दिप जोरालाई आउट गर्न बोसिस्टोले नै शानदार क्याच लिएका थिए । यस्तै पाञ्चल र अर्का विदेशी खेलाडी नजिबुल्लाह जद्रानले पनि एक-एक क्याच लिए ।

विदेशी खेलाडीको प्रदर्शनमा नेपाली खेलाडीको साथ पाएको कर्णालीले लुम्बिनीमाथि एकपक्षीय शैलीमा जित निकाल्यो ।
कर्णालीले दुई खेलबाट २ अंक जोड्दा लुम्बिनीको पनि दुई खेलबाट उति नै अंक छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी सुरुवात गरेपनि त्यो प्रदर्शन दोहोर्याउन सकेन ।
लुम्बिनीका लागि पनि कप्तान रोहित पौडेलको ब्याटिङबाहेक विदेशी खेलाडी नै चम्किए । ब्याटिङमा नामिबयाका दुई खेलाडी रुबेन ट्रम्पलम्यान र जेजे स्मिथले इनिङ्सको अन्त्यतिर आक्रमक ब्याटिङ गरे ।
लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ४९ रन बनाए । तर बलर ट्रम्पलम्यानले क्यामियो खेल्दै १४ बलमा १ चौका र ३ छक्का मदतमा अविजित २९ रन जोडे । यस्तै जेजे स्मिथले १४ बलमै २ चौका र१ छक्कामा २३ रन योगदान गरे । ओपनर डार्शी सर्टले १९ रन बनाए । पहिलो खेलमा चम्केका गुल्बादिन नाइब भने आज चल्न सकेननन् । उनी ९ बलमा ७ रन बनाएर आउट भए ।
प्रतिक्रिया 4