News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले १० मंसिरमा काठमाडौंमा प्रभावकारी सभा गरी ११ मंसिरको केन्द्रीय समिति बैठकमा दबाब दिने रणनीति बनाएका छन्।
- महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिमा पेश गरेका छन्, तर बैठकले निर्णय लिएको छैन।
- विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएका छन् र विधान अनुसार २८ पुसभित्र महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले प्रतिनिधिहरू काठमाडौं भेला गरेर निरन्तर दबाब दिने रणनीति बनाएको छ ।
२८ असोजदेखि पाँच साता भन्दा बढी समय लगाएर केन्द्रीय समितिले महाधिवेशनको विषयमा कुनै निर्णय लिन नसकेपछि विशेष महाधिवेशन पक्षधर रुष्ट बनेको छ ।
११ मंसिरका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा दबाब पुर्याउने उद्देश्यले त्यसको एक दिन अघि ‘प्रभावकारी सभा’ गर्न लागेको विशेष महाधिवेशन पक्षले जनाएको छ । विशेष महाधिवेशन मागको लागि अगुवाइ गर्ने नेता गुरुराज घिमिरेले १० मंसिरमा केन्द्रीय स्तरको सशक्त र प्रभावकारी भेला हुने जानकारी गराए ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा विशेष सभा गर्न लागिएको विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको अगुवाइ गर्ने नेताहरूले जानकारी गराएका छन् ।
विशेष सभामा विशेष महाधिवेशनको पक्षधर तर सार्वजनिक रूपमा धारणा नराखेका नेताहरूले समेत सम्बोधन गर्न उक्त पक्षले जनाएको छ । विशेष महाधिवेशनका लागि यसअघि भएका दबाब भेला भन्दा बुधबारको सशक्त हुने नेविसंघका पूर्व नेता बलदेव तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार विशेष सभाका लागि उपत्यका बहिरबाट प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ । ‘नियमित महाधिवेशनका गर्नका लागि समय धेरै घर्किसकेको छ । कार्यतालिका ल्याएर नियमित गर्न हामीलाई समयाभाव छ,’तिमिल्सिनाले अनलाइनखबरसँग भने,‘महाधिवेशन गर्ने नियत नदेखिएको हुँदा अब दबाब कार्यक्रम निरन्तर गर्छौ ।’
कांग्रेसका शीर्ष तहका नेताहरूका अनुसार संस्थापनका शीर्ष तहका नेताहरूले महाधिवेशनको कार्यतालिका ल्याउनका लागि विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने शर्त राखेका छन् । विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन मागकर्ताहरूले सुन्नै चाहेका छैनन् । पुसभित्र महाधिवेशन नियमित महाधिवेशन भए ।
विशेष महाधिवेशनको माग स्वतः निस्तेज हुने केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् । ‘नियमित महाधिवेशन नगर्ने तर विशेषको प्रस्ताव फिर्ता गर्नुपर्ने स्वीकार्न सकिँदैन’, उनी भन्छन्,‘विशेष महाधिवेशन गुरुराज घिमिरे, मधु आचार्यले फिर्ता गरेर फिर्ता हुने प्रस्ताव होइन । २४८८ प्रतिनिधिको अधिकारलाई अरू कसैले फिर्ता गर्छु भनेर हुँदैन ।’
कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आव्हान गर्नुपर्ने व्यवस्था छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमा विशेष महाधिवशेनको माग सहित कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशन लिखित प्रस्ताव गरिएको मितिले २८ पुसभित्र महाधिवेशन आह्वान गर्नुपर्दछ ।
महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिमा पेश गरेपनि त्यसबारेमा बैठकले निर्णय लिएको छैन । त्यसअवधि भित्र नियमित महाधिवेशनका लागि नेताहरू तयार नभएपछि विशेष महाधिवेशनको मिति २७ मंसिरका लागि महामन्त्री थापाले केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए ।
पूर्व पदाधिकारीहरूको एक समूह चुनावअघि नियमित वा विशेष महाधिवेशनको पक्षमा देखिएको छैन । खासगरी कावा सभापति पूर्णबहादुर खड्कालाई अन्तरिम अवधि चलाउने म्यान्डेटसहित सिंगापुर उपचारमा गएका सभापति शेरबहादुर देउवा फेरी शक्तिमा फर्कन खोजेका संशयमा पार्टीभित्रको परिवर्तन पक्षधर शक्तिले रणनीतिबारे सोचिरहेको छ ।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समयको चापले गर्दा अब विशेष महाधिवेशनतिर जानुपर्ने बताएका छन् । विशेष महाधिवेशन गर्ने स्पष्ट महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल मार्फत पनि पारेका छन् ।
‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ महामन्त्री थापा भन्छन्,‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन ।’
२०१४ सालमा विशेष महाधिवेशन भएको कांग्रेसको इतिहास छ । त्यसबेला सभापति सुवर्णशमसेर राणा स्वयं विशेष महाधिवेशनका लागि तयार हुँदा नयाँ नेतृत्व चयन सहज भएको थियो । यसपटक भने मूल नेतृत्वबाट विशेष महाधिवेशनको प्रस्ताव नगरी महाधिवशेनका प्रतिनिधिहरूबाट भएको छ । विधानले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने उल्लेख गरेको छ । तर, कुन कुन संरचनाको नेतृत्व चयन हुने बारे स्पष्ट छैन ।
विशेष महाधिवेशन पक्षधरका नेताहरू कुन विधिबाट विशेष महाधिवेशन गर्न सकिनेमा छलफल गर्न तयार रहेको बताउँदै आएका छन् । समयले सभापति देउवालाई सुवर्णशमसेर राणाको भूमिकामा देखिनुपर्ने अर्का महामन्त्री विश्वप्रकाश शर्माको सुझाव छ ।
तत्कालीन सभापति सुवर्ण शमशेरलेझैं सभापति देउवाले विशेष महाधिवेशन बोलाउनु उपयुक्त विकल्प शर्मा देख्छन् । ‘पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ,’ शर्माले सोमबार इलाममा भने, ‘त्यो भनेको ०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने । त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउने छ ।’
१४ औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर सम्बोधन नगरी कांग्रेस अघि बढ्न नसक्ने महामन्त्री शर्माले बताए । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन,’ उनले भने ।
विधान अनुसार केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन गर्न सकिने व्यवस्था छ । उक्त विधिबाट विशेष महाधिवेशन गरिए पार्टीभित्रका समूहको टकराव नहुने र सर्वस्विकार्य हुने नेताहरू बताउँछन् । विशेष महाधिवशेन पक्षका एक नेताले भने,‘अब सबैभन्दा उपयुक्त उपाय विशेष महाधिवेशन नै हो । केन्द्रीय समितिबाट नै विशेष महाधिवेशन गर्ने निर्णय भए पार्टीभित्रको समूह समूहको द्धन्द्ध भन्ने कुरा पनि रहँदैन ।’
नियमित महाधिवेशनकै विधिबाट विशेष गर्न सभापतिले वक्तव्य दिए झनै उपयुक्त हुने ती नेता बताउँछन् । उनी थप्छन्,‘नियमित महाधिवेशनले जे जे गर्न सक्छ त्यहि बमोजिम गर्ने गरी विशेष महाधिवेशन मंसिरको अन्तिम हप्तालाई बोलाउनलाई म केन्द्रीय समितिलाई आग्रह गर्दछु भनेर सभापतिले वक्तव्य दिनुभयो भने भइहाल्यो त ।’
केन्द्रीय समिति बैठक स्थगित गर्दै शीर्ष तहमा सहमति जुटाउने प्रयत्न गरेपनि महाधिवेशन चुनावअघि महाधिवेशनमा कुरा मिल्न सकेको छैन । गत शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन बारे निर्णय नगरी अन्य एजेण्डाबारे निर्णय गरेको थियो ।
चुनावपछि महाधिवेशनको हुने गरी कार्यतालिका ल्याउन खोजिए त्यसलाई मान्य नहुने विशेष महाधिवेशन पक्षधरले जनाएका छन् । शनिबारको बैठक लगत्तै महामन्त्री थापाले भनेका थिए,‘पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ । कसैले कार्यतालिका खोजेको होइन । महाधिवेशन खोजेको हो ।’
विशेष महाधिवेशनको मागबाट पछि हट्न नसकिने सोमबार पनि जानकारी गराएका छन् । चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका देउवा पक्षीय केन्द्रीय सदस्यहरुले सोमबार विशेष महाधिवेशन पक्षधरका अगुवा नेताहरूलाई भेटेका थिए ।
बिहीबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने सुनिश्चिता नगरे दबाबलाई निरन्तर बढाउने विशेष महाधिवेशन पक्षधर नेताहरुले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4