News Summary
Generated by OK AI. Editorially reviewed.- स्तनपान गराउने आमाहरूको यौन जीवनमा ८०–९० प्रतिशतसम्म असर पर्छ, प्रोल्याक्टिन हर्मोनले इस्ट्रोजन र टेस्टोस्टेरोन दबाउँछ।
- स्तनपानले योनी सुख्खा बनाउँछ र यौन इच्छामा कमी आउँछ, साथै अत्यधिक थकाइ र तनावले पनि यौन जीवन प्रभावित हुन्छ।
- दम्पतीले खुलस्त कुराकानी गरी, पूर्वक्रीडा र सुत्केरीपछि शरीरको हेरचाहले यौन जीवन सहज बनाउन सकिन्छ।
स्तनपान बच्चाको स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने सबैलाई थाहा छ । तर धेरै आमाहरूलाई थाहा नहुनसक्छ, यो अवधिमा उनीहरूको यौन इच्छा र यौन स्वास्थ्यमा निकै ठूलो असर पर्छ ।
बच्चा जन्मिएपछि कम्तीमा ६ हप्तासम्म यौन सम्पर्क नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् । तर, ६ हप्तापछि पनि धेरै दम्पतीले यौन सम्बन्ध सुचारु गर्न सकिरहेका हुँदैनन् । कारण हो– स्तनपान ।
स्तनपान गराउने आमाहरूको यौन जीवनमा ८०–९० प्रतिशतसम्म असर पर्छ । यो सामान्य कुरा हो, तर धेरैजसो दम्पतीले यसबारे खुलस्त कुरा गर्दैनन्, जसले सम्बन्धमा दूरी बढाउँछ ।
स्तनपानले यौन इच्छामा कसरी असर गर्छ ?
स्तनपान गराउने बेला शरीरमा प्रोल्याक्टिन हर्मोनको मात्रा अत्यधिक बढ्छ, जसले यौन हर्मोन (इस्ट्रोजन र टेस्टोस्टेरोन)लाई दबाउँछ । इस्ट्रोजनको कमीले योनी सुख्खा हुन्छ, जसकारण सम्भोग गर्दा दुख्न पनि सक्छ ।
प्रोल्याक्टिनले डोपामिन (आनन्द दिने रसायन)लाई रोक्छ, फलस्वरुप यौन इच्छा घट्छ ।
त्यस्तै, स्तनपान गराउँदा महिनावारी ढिलो हुन्छ वा पूरै बन्द हुन्छ । यसले इस्ट्रोजनको स्तर निकै कम गराउँछ, जसले यौन इच्छा घट्ने, योनी सुख्खा हुने, उत्तेजनामा कमी र चरम सुख प्राप्त गर्न गाह्रो हुने हुन्छ ।
अत्यधिक थकाइ र तनाव
यौन जीवन प्रभावित पार्ने अर्को कारण हो, अत्यधिक थकाइ र तनाव । नवजात शिशु दिनरात दूध माग्छन् । हरेक २–३ घण्टामा उठेर दूध चुसाउनुपर्छ । निद्रा पूरा नहुँदा शरीर र दिमाग दुवै थाक्छ । यस्तो अवस्थामा यौन सम्पर्कको कुरा सोच्न पनि गाह्रो हुन्छ । त्यसैले, उनीहरूको ध्यान यौनइच्छामा नजान पनि सक्छ ।
मानसिक अवस्था
धेरै आमाहरूलाई ‘म अब आमा भइसकेकी छु, बच्चा सानै छ, श्रीमानसँग यौन सम्पर्क गर्नु ठिक होला र ?’ भन्ने हुन सक्छ । यो पूरै सामाजिक र मनोवैज्ञानिक कुरा हो ।
आफ्नो पार्टनरसँग खुलेर बोल्ने अभ्यास
आफ्नो शरीरसँग सहज बनौं
सुत्केरीपछि शरीरमा धेरै परिवर्तन आउँछ । पेट लचिलो हुने, स्तन दूधले भरिएको, योनी दुखिरहेको हुन सक्छ । यी सबै सामान्य हुन् । आफ्नो शरीरलाई हेरचाह गर्ने र नकारात्मक सोच्नु हुँदैन ।
यदि कुनै पोजिसनमा दुख्छ वा असजिलो लाग्छ भने श्रीमानसँग खुलेर भन्नुपर्छ । आफ्नो शरीरको कुरा लुकाउनुहुँदैन, यो तपाईंको अधिकार हो । तपाईंलाई के कुराले दुख्छ, के कुराले डर लाग्छ, के कुराले असजिलो गराउँछ, सबै खुलस्त भन्नुहोस् । साथै, उहाँलाई पनि सोध्नुहोस् ।
इमानदारीले एकअर्काको आवश्यकता पूरा गर्न सजिलो हुन्छ । जुन दम्पतीले इमानदारीपूर्वक कुरा गर्छन्, उनीहरूको यौन जीवन छिट्टै सामान्य बन्छ । त्यसैले, लाज मान्नुहुन्न, साँचो कुरा गर्नुहोस् ।
इच्छा नहुँदा चुप बस्ने, झर्किने गर्दा सम्बन्धमा तनाव बढ्छ । यो भन्नु लाजको कुरा होइन, यो तपाईंको स्वास्थ्यको कुरा हो । कुरा लुकाउँदा रिस बढ्छ । खुला कुराकानीले श्रीमान् सजग हुन्छन् र तपाईंलाई आराम दिन थाल्छन् ।
कसरी यौन जीवन सहज बनाउने ?
१. सम्भोगभन्दा पहिले पूर्वक्रीडा चुम्बन, स्पर्श, मसाज गर्नाले लामो समय गर्ने गर्दा उत्तेजना बढ्ने र प्राकृतिक चिप्लोपन बढ्छ । लामो, गहिरो र भावुक चुम्बनले शरीरमा अक्सिटोसिन हर्मोन निस्कन्छ, जसले तनाव कम गरी माया बढाउँछ ।
२. रातिको सट्टा बिहानको समय उपयुक्त हुन्छ । बच्चा सुतिसकेको बिहानको समयमा आमाहरू अलि फ्रेस हुन्छन् ।
३. हप्तामा कम्तीमा २–३ पटक ३० मिनेट केवल दुईजनाको लागि छुट्याउनुहोस् । बच्चालाई परिवारको कसैलाई हेर्न लगाउनुहोस् वा सुताएपछि मात्र समय लिनुहोस् ।
गुणस्तरको समय बिना यौन इच्छा पनि कम हुने हुँदा बच्चाको हेरचाहसँगै आफ्नो सम्बन्धको पनि ख्याल राख्नुहोस् ।
४.श्रीमानले यदि बच्चालाई सुताउने, डायपर बदल्ने, राति दूध तताउने, घरको काममा सघाउने गरेमा श्रीमतीको मनमा माया दोब्बरले बढ्छ । सानो–सानो केयरले ठूलो प्रेम जाग्छ ।
५. यदि योनी धेरै सुख्खा छ वा दुखाइ लामो समयसम्म रहन्छ भने स्त्रीरोग विशेषज्ञसँग सल्लाह लिन सकिन्छ ।
६. योग, ध्यान वा छोटो व्यायामले तनाव र थकान कम गर्नुहोस् ।
७. यदि १ वर्षपछि पनि यौन इच्छा पूरै फर्किएन भने हर्मोन ‘थाइराइड, प्रोल्याक्टिन लेभल जाँच गर्नु उपयुक्त हुन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको धैर्य आवश्यक हुन्छ । यो अवस्था अस्थायी हो, बच्चा १–२ वर्षको भएपछि ९५ प्रतिशत आमाको यौन इच्छा आफैं सामान्य हुन्छ ।
प्रतिक्रिया 4