+
+
WC Series
विराटनगर किंग्स 2025
13/2 (2.6)
VS
१०२ बलमा १६२ रन आवश्यक
चितवन राइनोज 2025
174/5 (20)
Shares

कठपुतली सरकार बनाउन ओली नेतृत्वको सरकार ढालियो : पृथ्वीसुब्बा गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १८:०२

१० मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सुशीला कार्कीले कठपुतली सरकार बनाउन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको बताएका छन् ।

बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बाहिरी शक्तिले आफू अनुकूल कठपुतली सरकार बनाउन ओली नेतृत्वको सरकार ढालिएको उनको तर्क थियो ।

२३ र २४ भदौको घटना प्रति लक्षित गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुने दोष नरहेको गुरुङको भनाइ छ ।

उनले भने, ‘उहाँ (केपी शर्मा ओली) को कुनै दोष छैन । उहाँको कुनै कमजोरी छैन । आफू अनुकूलको कठपुतली सरकार बनाउनका लागि केपी ओलीलाई बलीमा चढाइयो । जनताको सरकारलाई बलीमा चढाइयो । यो सरकारलाई परास्त गर्नका लागि पार्टीको मुद्दाको सम्मान गर्नुपर्छ । त्यो लिगेसीलाई बचाउन सक्नुपर्छ । त्यो लिगेसीलाई बचाउन सक्ने भनेको केपी शर्माले नै हो ।’

अहिले बनेको सुशीला कार्की नेतृत्वको सरकार परास्त नगरेसम्म नेपालको स्वतन्त्र र राष्ट्रिय स्वाधिनता बच्न नसक्ने उनको तर्क छ ।

राष्ट्रियताको पक्षमा एमाले मात्रै रहेको भन्दै उनले जेनजीहरूले पुराना दलका पुराना नेताहरू हुँदैन भनिरहे पनि मुलुकको राष्ट्रिय स्वाधिनता र स्वतन्त्र बचाउन केपी शर्मा ओलीको विकल्प नरहेको बताए ।

मुलुकको स्वाधीनता र स्वतन्त्रता बचाउनु पर्छ भनेर लागेको सरकारको प्रमुखको हैसियतमा केपी शर्मा ओलीलाई सत्ता च्युत गरिएको भन्दै उनको कुनै दोष र कमजोरी नरहेको जिकिर गरे ।

प्रतिनिधिसभा पुनर्स्थापना गरी संविधानलाई लिकमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । तर संसद् पुनर्स्थापनाको फैसला गरेमा मार्ने भनेर धम्की दिइएको दाबीसमेत उनले गरे ।

उपमहासचिव गुरुङले मुलुकका तीनवटै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक संकटमा रहेको बताए ।

‘जेनजी आन्दोलनका नाममा व्यवस्थापिक, न्यायपालिका र कार्यपालिका जलाएर सबैलाई आतंकित पार्ने काम भएको छ । अहिले तीनवटै अंग संकटमा छन् । संविधान पुनर्स्थापनाको निर्णय फैसला गरिस् भने तिमीलाई मार्छु भनेर धम्की दिइराखेका छन्,’ गुरुङले भने, ‘अहिले संविधान कोमामा छ । यसको उपचारको पहिलो समाधान संसद् पुनर्स्थापना भएपछि मात्र संविधान संशोधन, संवैधानिक सरकार बन्न सक्छ । संसद् पुनर्स्थापना पहिलो सर्त हो ।’

उनले संविधान पुनर्स्थापना गरेर जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार बनाएर उनीहरूले उठाएका सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतका माग सम्बोधन गर्न सकिने बताए ।

राष्ट्रिय युवा संघले गरिरहेको कार्यक्रममा देशभर जेनजी युवाको नाममा अवरोध सिर्जना गर्न खोजिएको पनि उनको भनाइ थियो ।

जागरण सभालाई सम्बोधन गर्दै एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जेनजीको नाममा एमालेमाथि आक्रमण भइरहेको बताएका छन् । भट्टले २३ र २४ भदौको घटना फरकफरक भएको समेत बताए ।

उनले एमालेले राष्ट्रियता र देशको पक्षमा काम गरेकै कारण पार्टीमाथि आक्रमण भइरहेको पनि दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?