News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुरका राजा प्रताप मल्लले काजी भीम मल्ललाई तिब्बतसँग युद्ध गरी जित्न र सन्धि गर्न आदेश दिएका थिए।
- भीम मल्ललाई दरबारका प्रतिस्पर्धी भारदारहरूले आरोप लगाएर वि.सं. १७०७ मा राजा प्रताप मल्लले मृत्युदण्ड दिएका थिए।
- भीम मल्लकी पत्नीले सती जाने बेलामा देशका भलाइ गर्नेहरूलाई कहिल्यै राम्रो नहोस् भनेर सराप दिएकी थिइन्।
नेपाल सतीले सरापेर उँभो लाग्न नसकेको देश हो भनेर नेपालीहरूले नै भन्ने गरेका छन्। यसको रहस्य मल्लकालीन इतिहाससँग जोडिएको छ।
कान्तिपुरका राजा प्रताप मल्लको समयका चर्चित र देशभक्त काजी भीम मल्ललाई अनाहकमा मृत्युदण्ड दिइएपछि उनकी पत्नीले सती जाने बेलामा सराप दिएकी थिइन् भन्ने इतिहासमा उल्लेख छ।
नेपाली इतिहासको स्रोत “भाषा वंशावली” दोस्रो भाग (देवीप्रसाद लम्साल (सम्पा.), २०२३ : ८३–८४) अनुसार भीम मल्लकी पत्नी पनि एक सुझबुझ भएकी नारी थिइन्। उनको र राजा प्रताप मल्लकी महारानीबीच एकापसमा राम्रो मेलमिलाप थियो।
यी दुई रानीबीच भएको कतिपय सल्लाहबाट राजा र काजी पनि निकै प्रभावित थिए। यसै प्रभावबाट भीम मल्ललाई राजा प्रताप मल्लले भोट, मधेश र पहाड गएर बुझी बन्दोबस्त गरी धन दौलत कमाउन आदेश दिँदै राजाले बन्देज बाँधी काजीले गरेको स्थितिमा सबै प्रजा राजी भई सामेल रहनू भनी झ्यालीसमेत पिटाइदिएका थिए।
काजी भीम मल्लको ऐतिहासिक प्रसङ्गमा चर्चा गर्नुअघि काठमाडौँ उपत्यकाको तत्कालीन राजनीतिक अवस्था र मल्ल वंशका बारेमा थोरै चर्चा गरौँ।
काठमाडौं खाल्डोभित्रको सबैभन्दा पुरानो राजधानी त्रिपुर हो। भक्तपुरलाई पहिले त्रिपुर भनिन्थ्यो। निकैपछि मात्र मल्ल वंशमा दाजुभाइभित्रै हानाथाप र राज्य बाँडफाँट हुँदा ललितपुर र कान्तिपुर छुट्टै राज्यका रूपमा अस्तित्वमा आएका हुन्।
सिम्रौनगढमा मुसलमानी आक्रमणपछि राजा हरिसिंहदेव त्यहाँबाट भागेर पहाडतिर चढ्दा तीनपाटनमा उनको निधन भयो। यो ठाउँ हाल सिन्धुली जिल्लामा पर्छ।
पतिको मृत्युपछि नेपाल राज्यमा शरण पर्न आएकी हरिसिंहदेवकी विधवा रानी देवलदेवी कालान्तरमा दरबारभित्र शक्तिशाली नारीका रूपमा देखा परिन्। उनी दरबारका शक्तिशाली भारदार रत्न मल्लकी चेली हुन् भन्ने अनुमान अधिकांश इतिहासकारहरूले गरेका छन्।
देवलदेवीका छोरातिरकी नातिनी राजल्लदेवीको विवाह जयस्थिति मल्लसँग भएको थियो। जयस्थिति मल्लले पुराना मल्ल वंशका राजा अर्जुन मल्ललाई आफ्नो वशमा राखेर आफू राजा भएका थिए। त्यसपछि उनकै वंशको राज्य चल्यो।
भक्तपुरका अन्तिम राजा रणजित मल्ल जयस्थिति मल्लकै वंशका राजा हुन्। कान्तिपुर र ललितपुरको राजवंशमा भने विभिन्न कारणले पछिल्लो समय जयस्थिति मल्लको वंशभन्दा फरक वंशमा जन्मेकाले शासन चलाए।
ललितपुरका राजा योगनरेन्द्र मल्ल र कान्तिपुरका राजा भाष्कर मल्ल जयस्थिति मल्लको वंशका अन्तिम राजा रहे। उनीहरूमध्ये योगनरेन्द्र मल्लको विवाहिततिरका छोरा नभएको र भाष्कर मल्ल निसन्तान भएकोले उनीहरूका नातेदारबाट त्यहाँ राज्य चलाइयो।
वि.सं. १४११ मा राजल्लदेवी ८ वर्षकी थिइन्। त्यसबेलासम्म राजा राज मल्लको देहान्त भइसकेको थियो। पुरानो मल्ल राजाका उत्तराधिकारी अर्जुन मल्ल राजा भएका थिए। देवलदेवीकै प्रयत्नबाट वि.सं. १४११ असोज महिनामा दक्षिण मधेशतिरबाट वरका रूपमा ल्याई स्थिति मल्ललाई भक्तपुर ल्याइएको थियो। उनलाई भक्तपुरको त्यंखोमा राखिएको थियो। यसको पाँच महिनापछि उनको विवाह राजल्लदेवीसँग भयो (धनबज्र बज्राचार्य, “गोपालराजवंशावलीको ऐतिहासिक विवेचना” (२०६४ : १२५)।
यसरी चौधौँ शताब्दीमा राजा स्थिति मल्लको उदय हुन पुगेको थियो। त्यसबेला राजाको नामका अगाडि “जय” लेखिने हुँदा उनी जयस्थिति मल्लका नामले इतिहासमा प्रसिद्ध छन्।
जयस्थित मल्लका नाति यक्ष मल्लले भक्तपुर, बनेपा, कान्तिपुर र ललितपुरको प्रशासन हेर्ने गरी आफ्ना चार जना छोरालाई जिम्मेवारी दिँदा एक महत्त्वाकाङ्क्षी छोरा रत्न मल्लले कान्तिपुरलाई छुट्टै राज्यको रूपमा फुटाएर शासन चलाउन थाले।
भक्तपुरका राजाका रूपमा उनका दाजु राय मल्ल कायम रहे। रत्न मल्लपछि अमर (नरेन्द्र) मल्ल, महेन्द्र मल्ल, सदाशिव मल्ल कान्तिपुरका राजा भए। सदाशिव मल्ललाई लखेटेर उनका भाइ शिवसिंह मल्ल राजा भए। तर, उनका छोरा हरिहरसिंहको राजा हुन नपाउँदै निधन भयो।
शिवसिंहले आफू जीवितै हुँदा आफ्ना दुई नातिलाई आफ्नो राज्य भाग लगाउँदा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरको र सिद्धिनरसिंह मल्ल ललितपुरको स्वतन्त्र राजा हुन पुगे। राजा शिवसिंहले ललितपुर जिती कान्तिपुरमा मिलाए पनि ललितपुर सहर एउटा गढको रूपमा रहनुका साथै यहाँका प्रधानहरू केही सङ्गठित हुनाले कान्तिपुर र ललितपुर प्रशासनको दृष्टिले एक हुन सकिरहेको थिएन। त्यसैले बाबुको प्रतिनिधिको रूपमा शिवसिंहका छोरा हरिहरसिंहले केही कार्यकाल ललितपुरको शासन गरे।
उनका दुई छोरामध्ये लक्ष्मीनरसिंह कान्तिपुरमा हजुरबुबा राजा शिवसिंहसँग र सिद्धिनरसिंह प्रायः आमाका साथ ललितपुरमा बस्थे। शिवसिंहको अन्तिम समयतिर उनी जीवित छँदै सिद्धिनरसिंह सानै उमेरमा ललितपुरको राजगद्दीमा बसे। वि.सं. १६७७ माघ महिनामा दुई दाजु-भाइ लक्ष्मीनरसिंह र सिद्धिनरसिंह मल्लले परस्पर सन्धि गरी विधिवत् कान्तिपुर र ललितपुरलाई पृथक् स्वतन्त्र राज्यमा परिणत गरे (धनबज्र बज्राचार्य, “मल्लकालका अभिलेख” (२०५६ : ६८–६९)।
यसरी उपत्यकामा भक्तपुर, ललितपुर र कान्तिपुर गरी ती राज्य अस्तित्वमा देखा परे। प्रताप मल्ल उनै राजा लक्ष्मीनरसिंह मल्लका उत्तराधिकारी हुन्।
कान्तिपुरका काजी भीम मल्ल
प्रताप मल्ल सानैदेखि निकै महत्त्वाकांक्षी स्वभावका थिए। आफ्ना बाबु लक्ष्मीनरसिंह राजा हुँदै १३ वर्षको युवराज अवस्थामा केही भारदारहरूले उचालेका भरमा वि.सं. १६९३ मा उनले आफ्ना काका राजा सिद्धिनरसिंह मल्लको राज्य ललितपुरमा आक्रमण गरेका थिए। त्यसबेला त्यहाँ राजा सिद्धिनरसिंह मल्ल भर्खरै कृष्ण मन्दिर बनाइसकेर होम गरिरहेका थिए।
कान्तिपुरेहरू ललितपुरको केही किल्ला कब्जा गरेर अगाडि बढिरहेको बेला ललितपुरका प्रजाहरू उठेर आएका हुँदा कान्तिपुरेहरूको हार हुन पुगेको थियो (डा. पेशल दाहाल, “नेपालको इतिहास” (२०५७ : १५४)।
राजा लक्ष्मीनरसिंह मल्ल शान्त स्वभावका थिए। उनका विशेष सल्लाहकारहरूमा मायासिंह, नरदेव, भीम मल्ल आदि थिए। तीमध्ये काजी भीम मल्ल राजाका ठूला विश्वासपात्र थिए। तर पछि काजी भीम मल्लले राजा लक्ष्मीनरसिंहलाई विश्वासघात गर्न पुगे।
युवराज प्रताप मल्लले वि.सं. १६९८ मा उनै काजी भीम मल्लको सहयोग लिएर आफ्ना बाबु राजा लक्ष्मीनरसिंह मल्ललाई कैद गरे र आफू राजगद्दीमा बसे। यसरी राज्य गुमाएर १६ वर्षसम्म कैदी जीवन बिताई वि.सं. १७१४ मा लक्ष्मीनरसिंह मल्लले भौतिक रूपमा संसार छाडे (दाहाल, २०५७ : १५५)।
जसरी पहिले राजा लक्ष्मीनरसिंह मल्लका विश्वासिला काजी भीम मल्लले उनैलाई धोका दिएर उनको छोरा प्रताप मल्ललाई कान्तिपुरका राजगद्दीमा राखे, कालान्तरमा काजी भीम मल्ल नै राजा प्रताप मल्लको साह्रै नराम्ररी धोकाको शिकार भए।
काजी भीम मल्लको योगदान
नेपाललाई “सतीले सरापेको देश” भन्ने चलन प्रताप मल्लकै समयदेखि चलिआएको हो। राम्रो काम गर्नेको भलाइ नहुने भन्ने मान्यताका साथ यस्तो धारणा राख्ने गरेको पाइन्छ।
राजा प्रताप मल्लका अति विश्वासिला र प्रभावशाली भारदार काजी भीम मल्लले तिब्बतसँग युद्ध गरी उनीहरूलाई पराजित गरी कान्तिपुरको ठूलो हित हुने गरी सन्धिसमेत गरेका थिए। तर उनका कतिपय प्रतिस्पर्धी भारदारहरूलाई भीम मल्लको दरबारमा बढ्दै गएको रवाफ र शक्ति मन परिरहेको थिएन र राजासमक्ष उनीहरूले उनका विरुद्ध नचाहिँदा अनेक कुरा लगाए। त्यसपछि उनलाई तिब्बतबाट तुरुन्तै फिर्ता बोलाइयो र राजा प्रताप मल्लको आदेशमा काटियो।
सती जाने बेलामा उनकी पत्नीले सराप दिएर गएकी थिइन्। यसैलाई ‘सतीको सराप’ भनिन्छ।

राजाको आज्ञा लिएर काजी भीम मल्ल तिब्बतका विभिन्न भागमा कान्तिपुरको अधिकार स्थापना गराउन समर्थ भएका थिए। उनी तिब्बततिर जाँदा तत्कालीन माझकिरातको ओखलढुङ्गा हुँदै त्यसतर्फ गएका थिए। उनले ठूलो ढुङ्गामा ओखल खोपी धान कुटेर आफ्ना दललाई सामल तुल्याएका थिए (ज्ञानमणि नेपाल, “नेपालनिरूपण” (२०५५ : २९०)। त्यसपछि त्यस ठाउँको नाम नै ओखलढुङ्गा रहन पुग्यो।
काजी भीम मल्लले धान कुट्न ओखल खोपेको ढुङ्गा अहिले पनि ओखलढुङ्गा बजारमा देख्न पाइन्छ। त्यहाँ यसलाई ऐतिहासिक गौरवका रूपमा सुरक्षित राखिएको छ।
काजी भीम मल्लले तिब्बतको त्यसबेलाको राजनीतिक अव्यवस्थितताको मौका छोपेर सुझबुझ र पराक्रमका साथ कुती, केरुङ तथा खासा लगायतका केही भूभागमा कान्तिपुरको अधिपत्य स्थापित गराएका थिए। त्यसपछि तिब्बत र कान्तिपुरबीच शान्ति सम्झौता भएको थियो।
त्यस सम्झौताअनुसार तिब्बत सरकारले नेपाली नागरिकलाई तिब्बतमा आफ्नो व्यापार कोठी स्थापना गर्न र व्यापार सञ्चालन गर्न दिनुपर्ने भयो। साथै तिब्बत सरकारले आफ्नो राज्यको बाटो भएर मात्र भारतसँग व्यापार सम्बन्ध स्थापित गर्नुपर्ने व्यवस्था भयो।
भीम मल्लको यस्तो धाक रवाफ त्यसबेला कान्तिपुर दरबारमा रहेका नरदेव, मयासिंह नामका भारदारहरूलाई मन परेन। उनीहरूले महादेव ओझा नामका एकजना भारदारलाई प्रयोग गरी प्रताप मल्ललाई काजी भीम मल्लविरुद्ध अनेक कुरा लगाइरहेका थिए। उनीहरूले तिब्बतमा जितिएका भूभागहरू कान्तिपुरबाट अलग्याएर काजी भीम मल्ल आफैं स्वतन्त्र प्रशासक हुने धुनमा लागिरहेका छन् भन्ने झूटो कुराले राजाको कान भरे। त्यसपछि राजा प्रताप मल्लले सत्यतथ्य नबुझी भीम मल्ललाई कान्तिपुर बोलाउन लगाएर राजदरबारको मूलढोकामै हत्याराहरू प्रयोग गरी वि.सं. १७०७ मा काट्न लगाए (बाबुराम आचार्य, “नेपालको सङ्क्षिप्त वृत्तान्त” (२०६३ : ७६)।

पछि काजी भीम मल्ल निर्दोष देखिँदा प्रताप मल्लले निकै ठूलो पछुतो गरेका थिए। सती जाने बेलामा उनकी पत्नीले देशको “भलाइ गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै राम्रो नहोस्” भनी कठोर सराप दिएकी थिइन् (आचार्य, २०६३ : ७७)।
काजी भीम मल्ल वास्तवमै राजा प्रताप मल्लको भलो चाहने भारदार थिए। भीम मल्लकै आडभरोसामा प्रताप मल्ल किशोरावस्थामै कान्तिपुरको राजा हुन सम्भव भएको माथि उल्लेख भइसकेको छ। उनी भक्तपुरलगायत अन्य राज्यले षड्यन्त्र गर्दैछ भन्ने सुइँको पाउनासाथ पत्र लेखेर राजालाई सजग गराउने गर्थे (भाषा वंशावली, २०२३ : ८४)।
वास्तवमा काजी भीम मल्लले देशको भलाइका लागि ठूलो काम गरेका थिए। तर यति राम्रो काम गर्दा पुरस्कार त कता हो कता, उल्टै ज्यानै गुमाउनु परेको थियो।
भीम मल्लको अनाहकमा गरिएको हत्यापछि राजा प्रताप मल्ल ठूलो पछुतोमा परे। प्रायश्चित र पापमोचनका लागि उनले यट्खा टोलमा भीम मल्लको नाममा शिवालय स्थापना गरी नित्य गुठी पनि राखिदिएका थिए (भाषा वंशावली, २०२३ : ८६)।
तिब्बतसँगको सन्धिबाट कान्तिपुरले त्यहाँ विशेष सुविधा पाएको थियो। यसबाट कान्तिपुरलाई उल्लेख्य फाइदा पुग्यो। कालान्तरमा ललितपुर र भक्तपुरले समेत सोही सुविधा प्राप्त गरी भोट व्यापारमा सरिक हुने अवसर पाए। यस सन्धिबाट उपत्यकाका मल्ल राजाहरूलाई प्रशस्त फाइदा हुँदा देशको अर्थतन्त्र पनि दरिलो हुन पुगेको थियो।
प्रतिक्रिया 4