१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले लामो विवादपछि १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरे पनि ५४ प्रतिशत प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनको विवाद भने यथावतै देखिन्छ ।
१५ औं महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्दा केन्द्रीय कार्यसमिति बैठक ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विषयबारे मौन रहँदा कांग्रेस नेताहरू विशेष महाधिवेशनको मागको पक्ष–विपक्षमा उभिएका छन् ।
डेढ महिना लामो छलफलपछि महाधिवेशनबारे निर्णय गर्दा केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको प्रसंग कतै उल्लेख गरेको छैन । विशेषबारे कुनै निर्णय नगरेर केन्द्रीय कार्यसमिति आफ्नो कार्यकाल २४ मंसिरबाट लागू हुने गरी आगामी माघ मसान्तसम्म थप गरेसँगै विशेष महाधिवेशन पक्षधर सशंकित बनेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय सार्वजनिक भएलगत्तै उक्त समूहले विज्ञप्तिमार्फत् प्रश्न गरेको छ, ‘पौष २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ?’
विशेष पक्षधरले २९ असोजमा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित रहेको र संस्थापन पक्षले बहाना गरेर अधिवेशनका श्रृंखलाहरू अवरूद्ध गरे विधानवमोजिम पूर्णरूपमा कार्यान्वयन योग्य रहेको स्पष्ट पारेको छ ।
‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृंखलाहरू अवरूद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान वमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ,’ विज्ञप्तिमा भनिएको छ ।
केन्द्रीय कार्यसमितिले प्रस्ताव गरेको २६–२८ पुसको महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको विशेष महाधिवेशन पक्षधरको भनाइ छ ।
विशेष महाधिवेशनको मागको अवधि सकिनै लाग्दा नियमित हुने गरी कार्यतालिका ल्याइएको छ । नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न व्यवधान पुर्याए विशेष महाधिवेशन हुने महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले बताउँदै आएका छन् ।
महामन्त्री शर्मा भन्छन्, ‘सभापति नियमित महाधिवेशनका लागि तयार हुनुभएको छ । कार्यतालिका कार्यान्वयन गराउनेतिर नेताहरू नलाग्ने हो भने उहाँहरूले सभापतिलाई नै विशेषतिर धकेलेको ठहरिन्छ ।’
तर, नियमित महाधिवेशनको कार्यतालिका आइसकेका कारण विशेषको आवश्यकता नरहेको संस्थापन पक्षको बुझाइ छ । उनीहरू नियमित महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताइरहेका छन् ।
सोमबार बैठकले गरेको निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने प्रतिक्रिया दिएका थिए ।
‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि । मूल कुरो अधिवेशन समयमा हुनुपर्यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि,’ प्रवक्ता महतले भने, ‘त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’
संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरूङ १५औं महाधिवेशन गर्ने निर्णयले विशेष महाधिवेशनको पत्र स्वत: निस्क्रिय र निस्तेज भइसकेको बताउँछन् ।
‘२०८२ पुस २६, २७ र २८ गते नियमित १५औं महाधिवेशन गर्ने निर्णय भइसकेका कारण विशेष महाधिवेशनको पत्रको स्वत: सान्दर्भिकता, आवश्यकता र औचित्य समाप्त भइसक्यो,’ उनले भने, ‘यो पत्र नै स्वत: निस्क्रिय र निस्तेज भइसक्यो ।’
क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम नटुंग्याएर बाहिर आफैं विशेष महाधिवेशनको रोइलो गर्दै हिँडनु लाजमर्दो विषय भएको नेता गुरूङको भनाइ छ ।
‘निर्धारित मितिमा नियमित महाधिवेशन नभए त्यही मितिमा विशेष महाधिवेशन हुन्छ’
विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने मध्येका नेता गुरूराज घिमिरे संस्थापन पक्षले समयमै अधिवेशन सम्पन्न नगरे विशेषको औचित्य झन् प्रखर भएर आउने बताउँछन् ।
‘कार्यतालिका अनुसार समयमै महाधिवेशन सम्पन्न गरियो भने विशेष महाधिवेशनको माग आफैं निस्तेज हुन्छ भनेर हामी भन्दै आएका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘तलमाथि गरियो, परम्परागत रूपमा आन्तरिक विषयमा अल्झिएर पर सार्ने प्रयास गरियो भने विशेषको औचित्य झन् प्रखर भएर आउँछ ।’
नेता घिमिरेले अनलाइनखबरसँग कुराकानीको क्रममा १५ औं महाधिवेशनको कार्यतालिका पारित भइसक्दा पनि विशेष महाधिवेशन पक्षधरमा संशय उत्पन्न हुनुको कारणबारे पनि खुलाए ।
‘१२ दिनमा वडादेखि केन्द्रीय कार्यसमितिको चयन भइसक्नुपर्ने छ । कार्यतालिका एकदमै टाइट छ, यसमा प्रश्न उठेको छ । १६ देखि २८ को मिति व्यवहारिक छैन । फेरि हामीलाई चाहिएको पुस २८ सम्मको म्याद । हामीले माघ मसान्तसम्मको म्याद थप गरेका छौं । मुख्य यी दुई कुराले संशय उत्पन्न भएको हो,’ उनले भने ।
नेता घिमिरेसहितको समूहले विशेष महाधिवेशनको माग गर्दै २४ सय ८८ प्रतिनिधिहरूले २९ असोजमा पार्टीमा लिखित प्रस्ताव दर्ता गराएको थियो ।
महामन्त्री गगन थापा निकट केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ पनि विशेष महाधिवेशनको औचित्य यथावत रहेको बताउँछन् । उनले निर्धारित मितिमा नियमित महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशन हुने प्रतिक्रिया दिए ।
‘विशेष पक्षधरको बलमा केन्द्रीय समिति महाधिवेशन गर्न बाध्य भयो । यसको सान्दर्भिकता अझै सकिएको छैन । भोलि महाधिवेशन अनिश्चित बनाउने षड्यन्त्र भयो भने यसको उपयोगिता झन् बढेर जान्छ,’ नेता रसाइलीले भने, ‘निर्धारित मितिमा नियमित महाधिवेशन नभए त्यही मितिमा विशेष महाधिवेशन हुन्छ ।’
उनले केन्द्रीय कार्यसमिति बैठकले सोमबार गरेको निर्णय विशेष महाधिवेशन पक्षधरहरूको गौरवको विषय भएको पनि जिकिर गरे । ‘हिजोको निर्णय सबै हस्ताक्षरकर्ताहरूको गौरवको विषय हो,’ रसाइलीले भने, ‘देशभर जनमत सिर्जनाका लागि हस्ताक्षरकर्ताहरू अझै सशक्त हुनपर्छ, अझै बढी प्रभावकारी हुनपर्छ ।’
प्रतिक्रिया 4