+
एनपीएल २०२५ :

कप्तानी प्रेसर नहुँदा चल्यो अनिलको ब्याट, जनकपुरले खोल्यो खाता

२०८२ मंसिर  १६ गते २२:३९ २०८२ मंसिर १६ गते २२:३९

लगातार तेस्रो हार बेहोरेपछि जनकपुरले नियमित कप्तान अनिल साहलाई नै बाहिर राख्दै विदेशी खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पेको थियो तर नतिजा भने फरक आएको थिएन ।

कप्तानी प्रेसर नहुँदा चल्यो अनिलको ब्याट, जनकपुरले खोल्यो खाता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले सुरुवाती ४ खेलमा लगातार हार बेहोरेपछि पाँचौं खेलमा पहिलो जित हासिल गर्‍यो।
  • कप्तान अनिल साहले लगातार तीन खेलमा जम्मा ५ रन मात्र बनाएका थिए र टोलीले ती सबै खेल हार्‍यो।
  • मंगलबारको खेलमा अनिल साहले ब्याटिङमा राम्रो प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने।

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणमा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन ।

सुरुवाती ४ खेलमा लगातार हार बेहोरेपछि जनकपुरको प्लेअफ सम्भावना नै झिनो बनिसकेको अवस्थामा पाँचौं खेलमा आएर टोलीले पहिलो जित हासिल गर्न सफल भयो, योसँगै प्लेअफको सम्भावना पनि कायमै रह्यो ।

विशेषगरी बलियो ब्याटिङ लाइनअप भएर पनि कमजोर प्रदर्शन गरेको जनकपुरका टप अर्डर ब्याटरहरू लयमा नै देखिएका थिएनन् । त्यसमाथि पनि कप्तान अनिल साहले ३ खेलमा गरेर जम्मा ५ रन मात्र बनाएका थिए जसमा एउटा ‘डक’ पनि समावेश थियो । ती सबै खेल जनकपुरले हारेकै थियो ।

यस्तोमा अनिललाई कप्तानी दबाबसँगै आफ्नो ब्याटबाट रन बन्न नसक्दा अर्को दबाब पनि थपिएको थियो । लगातार तेस्रो हार बेहोरेपछि जनकपुरले नियमित कप्तान अनिल साहलाई नै बाहिर राख्दै विदेशी खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पेको थियो तर नतिजा भने फरक आएको थिएन ।

तर त्यसपछि मंगलबार भएको चितवन राइनोजसँगको खेलमा अनिल प्लेइङ ११ मा फर्किए, कप्तानी भने पार्नेललाई नै दिइएको थियो । यस खेलमा भने अनिलको ब्याट चल्यो, उनले टोलीलाई खेल नै जिताए, प्लेयर अफ द म्याच पनि भए ।

कप्तानी दबाब हटेपछिको लय

अनिल साहले कप्तानका रूपमा गरेको ब्याटिङ र कप्तान नहुँदा गरेको ब्याटिङ प्रदर्शन छर्लङ्ग छुट्टिने गरी देखियो । कप्तानी जिम्मेवारीबिना खेल्दा उनले फियरलेस क्रिकेट खेले ।

वान डाउनमै ब्याटिङमा आएका अनिलले सुरुवातदेखि नै अट्याकिङ माइन्डेसेटले ब्याटिङ गरेका थिए । अनिल ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन बनाए ।

खेलपछि कुरा गर्दै अनिलले यो क्षणको लागि लामो समयदेखि कुरिरहेको बताए । ‘लामो समयदेखि कुरिरहेको थिएँ मैले धेरै समयदेखि खेलहरू खेलेको थिइनँ’ उनले भने, ‘आजभन्दा पहिलेका खेलमा पनि रनकै लागि खेलिरहेको थिएँ तर भइरहेको थिएन । टिमले ब्याक गर्‍यो, कोच र प्रशिक्षकले पनि सपोर्ट गर्नुभयो।’

उनले आफूलाई एक किसिमको ब्रेक पनि चाहिएको र म्यानेजमेन्टले ब्रेक दिएर राहत दिएको बताए । ‘ब्रेक चाहिएको थियो, कप्तानका रूपमा नखेले पनि खेलाडीका रूपमा खेल्न मन थियो । म्यानेजमेन्टकै निर्णय थियो । ब्रेकपछि रिलिफ पनि भयो, प्रदर्शन पनि गर्न पाएँ अनिलले भने ।

अनिलले अप्रत्यक्ष रूपले कप्तान नहुँदा कम दबाबले खेल्न सकिने कुरातर्फ समेत इंगित गरे । ‘म ब्याटिङ गर्दा ब्याटरकै रूपमा खेल्न खोज्छु । कप्तान हुनुभन्दा अगाडि ब्याटर हूँ भनेर सोच्छु । रन बनिरहेको थिएन प्रेसर थियो पनि, ब्याटर खेल्न खोज्दा पनि हारको कुराहरू आउने रैछ दिमागमा’ अनिलले भने, ‘अहिले लागिरहेको छ, ब्रेकपछि प्रदर्शन भइरहेको जस्तो देखिएको छ । आजभन्दा सिरियस अरु खेलमा थिएँ, ब्रेकपछि त्यो चेन्ज भएजस्तो देखिन्छ।’

जनकपुरको पहिलो जित

जनकपुर बोल्ट्सले पनि यस संस्करण पहिलो जित हासिल गरेर अंकको खाता खोल्यो । यस क्रममा जनकपुरले प्लेअफको दाबेदारका रूपमा रहेको चितवन राइनोजलाई धक्का दियो ।

टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको जनकपुरले खेल जित्नका लागि १७७ रनको लक्ष्य पाएको थियो । एनपीएलको यो संस्करणमा यस योगफल औसतभन्दा बढी थियो ।

तर जनकपुरले बिना कुनै दबाब यो लक्ष्य पूरा गर्‍यो । १५ बल बाँकी छँदै खेल जितेको जनकपुरले प्लेअफको झिनो सम्भावना पनि कायमै राख्यो । जनकपुरको जितमा अनिलसँगै पाकिस्तानी युवा खेलाडी माज सदाकत पनि नायक रहे ।

माजले आक्रमक ओपनिङ गर्दै ३० बलमा ६ चौका र ४ छक्कासहित ६३ रन बनाए । अनिलले ६१ रनको योगदान दिए । त्यसअघि बलिङमा पनि दुवैले १-१ विकेट समेत लिएका थिए ।

अनिलले खेलपछि कुरा गर्दै अति नै आवश्यक जित हासिल गरेको बताए । ‘सबैभन्दा जरुरी थियो आफ्नो अनि टिमको पनि खाता खोल्ने’ अनिलले भने, ‘पहिले पनि जितकै लागि खेल्दा चुकिरहेका थियौं, मेरो पनि रन बनिरहेको थिएन।’

अनिलले प्लेअफ सम्भावनाबारे अहिले धेरै नसोचेको बताए । ‘दुईवटा खेल बाँकी छ, त्यो जितेपछि के हुन्छ हेर्छौं, अहिलेलाई धेरै सोचेको छैन’ उनले थपे ।

जनकपुरले अब लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेर अन्य नतिजा पनि आफू अनुकुल आउनुपर्ने हुन्छ । अब एक हारले पनि जनकपुर बाहिरिनेछ ।

आजको खेलमा पिचको अवस्था भने फरक देखिएको थियो । यसअघिका खेलहरूमा ब्याटिङ गर्न केही कठिन देखिँदै आएको थियो, आजको खेलमा भने दुवै खेलमा राम्रो ब्याटिङ भयो । रन पनि चेज भयो ।

चितवनका लागि ओपनर डाविड मलानले ८० रन बनाएका थिए भने अर्का ओपनर अर्जुन साउदले पनि ५२ रन बनाएका थिए । कप्तान कुशल मल्लले ३० रनको फिनिसिङ पारी खेलेका थिए । यद्यपी यो प्रदर्शन जितका लागि भने पर्याप्त रहेन ।

खेलपछि अनिलले पिच ब्याटिङका लागि राम्रो देखिएको बताएका थिए । ‘ब्याटमा लागिरहेको थियो, पिच राम्रो थियो भन्नुपर्छ’ उनले भनेका थिए ।

यस्तै चितवनका ब्याटर मलानले १०-१५ रन अझै कम भएको टिप्पणी गरेका थिए । ‘हामी १०-१५ रन अझै कम भएका हौं जस्तो लाग्छ । बलिङ पनि कमजोर भएको हो, ठूलो स्कोर डिफेन्ड गर्दा बाउन्ड्रीहरू धेरै बेहोर्दा कठिन हुन्छ’ मलानले भनेका थिए ।

मलानले अघिल्ला खेलहरूमा पिचले ब्याटिङका लागि केही कठिन बनाएपनि आजको खेलमा भने केही सहज देखिएको बताए ।

अनिल साह एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५ जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय