१८ मंसिर, काठमाडौं । सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अहिले फ्लडलाइटमुनि भव्य रुपमा सञ्चालन भइरहेको छ ।
नेपाली क्रिकेटको इतिहास पहिलो पटक टीयू क्रिकेट मैदानमा डे-नाइट म्याचहरू यसपटक एनपीएलमा भइरहेको छ ।
विश्वकै स्टार क्रिकेटहरु आगमन, ८ फ्रेन्चाइजको करोडौँ लगानी अनी विश्व चर्चित स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण भइरहेको एनपीएल क्रिकेटको चर्चा अहिले जताततै छ । नेपाली खेलकुदमा एनपीएल छुट्टै खालको ब्राण्ड बनिसकेको छ ।
दोस्रो संस्करण सुरु हुनुअघि एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले करिब ४२ करोड आम्दानीको प्रक्षपेण गरेको थियो ।
फ्रेन्चाइज लिग भएकोले खेलाडीले कमाउने रकम, स्पोन्सरहरुबाट आउने पैसा देखि विभिन्न खालको आर्थिक पाटो एनपीएलमा जोडिएको छ ।
स्पोनरबाट आउने रकम, ब्रोडकास्ट राइट्स (टिभी र ओटिटि प्ल्याटर्फ), टिकेटिङ र फ्रेन्चाइज फि बाट क्यानले आम्दानी गर्ने क्यान कोषाध्यक्ष तथा एनपीएल गभर्निङ काउन्सपलका मेम्बर समेत रहेका पदम बहादुर खड्काले जानकारी दिए ।
सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै खड्काले एनपीएलको विभिन्न आर्थिक पाटो देखि फ्रेन्चाइजले गर्ने खर्च र आम्दानीको विषयमा समेत जानकारी गराएका छन् ।
एनपीएल लगातार दोस्रो संस्करण भव्य रुपमा सफल भइरहेको र नेपाली क्रिकेटमा एउटा इतिहासको रुपमा रहने खड्काले बताए । ‘नेपाली क्रिकेटमा एनपीएललाई सफल बनाउन क्यानले मात्र नभएर सबैले सहयोग गर्नुभाछ । दर्शकहरुले शान्तिपूर्वक आएर हेर्नुभाछ । कतिले घरमै बसेर हेर्नुभाछ । नेपाली क्रिकेटको एउटा इतिहास बनेको छ’, उनले भने, ‘हामी निर्वाचित भएर आएपछि स्वर्णिम सुरुवात गर्छौं भनेका थियौँ, त्यसको सुरुवाती पाइला चालेका छौँ ।’
खड्काले दोस्रो संस्करणमा फ्रेन्चाइज फि, स्पोनसरहरु, ब्रोडकास्ट र टिकेटिङबाट क्यानले आम्दानी गर्ने जानकारी दिए ।
‘पहिलो संस्करणमा फ्रेन्चाइजबाट १६ करोड आएकोमा यस पटक घटेको छ । दोस्रो संस्करणमा फ्रेन्चाइजबाट ९ करोड आउँछ,’ क्यान कोषाध्यक्ष खड्काले भने, ‘यस पटक स्पोनसरहरु बढाएका छौँ । १४-१५ स्पोनरहरु छन् । त्यसबाट करिब १५ करोड आउँछ । ब्रोडकास्टबाट लिनर टिभी र ओटिटि गरेर ८ करोड आउँछ । ८ देखि १० करोड टिकेटिङबाट उठ्ने अनुमान छ । ४२ करोड अनुमानित छ । ४० करोड माथि नै जान्छौँ ।’
क्यानले आम्दानी गरेको रकम मध्ये फ्रेन्चाइज फि मात्र क्यानको हुने र बाँकी उठेको रकम ८ टिमहरुलाई नै बाँडिने खड्काले बताए ।
‘फ्रेन्चाइजवापतको ९ करोड क्यानले पाउँछ । बाँकी रकममा हामीले ५० प्रतिशत सिधा फ्रेन्चाइज टिमलाई बाँड्छौँ । स्पोनसर, टिकेटिङ र ब्रोडकास्टबाट उठेको रकम सबैबाट ५० प्रतिशत टिमलाई जान्छ ।’
यस्तै पहिलो संस्करणजस्तै यस पटक पनि स्टार स्पोर्ट्सलाई पैसा तिरेर नै प्रत्यक्ष प्रशारणको लागि ल्याइएको खड्काले बताए । ‘स्टार स्पोर्ट्स नल्याउने हो भने नेपाली क्रिकेटको प्रचारमा असर गर्छ कि जस्तो लाग्यो ।’
यसैगरी फ्रेन्चाइज टिमहरुको पनि दोस्रो संस्करणमा स्पोनसरहरुमा वृद्धि भएको खड्काले दावी गरे । ‘पहिलो वर्ष टिमहरुको लागि पनि छोटो समय भयो तयारी गर्न । यो वर्ष टिमहरुले स्पोनरसर बढाउनु भएको छ ।’
उनले एक फ्रेन्चाइजले औषतमा साढे ५ करोड जति खर्च गरेको बताए ।
दोस्रो संस्करणमा फ्रेन्चाइजहरुले रिभेन्युबाट पाउने रकममा पनि वृद्धि हुने खड्काले बताए ।
यसले फ्रेन्चाइज ओनरहरुला२ पनि केही राहत मिल्ने उनले बताए ।
यस्तै एनपीएलको हाइप बढ्दै गएको र तेस्रो संस्करणमा अझ बढी आम्दानी हुने बताए ।
क्यानले फ्रेन्चाइज टिमहरुसँग १० वर्षसम्म रिभेन्यु सेयर गर्ने गरी सम्झौता गरेको खड्काले जानकारी दिए ।
फ्रेन्चाइजहरुले पनि स्पोनसरहरु बढाउँदै जानुपर्ने खड्काले बताए । नेपाली क्रिकेटमा लगानी गर्न नयाँ कम्पनीहरु तयार हुनु सुखद संकेत भएको उनले बताए ।
यस्तै एनपीएलका खेलहरु काठमाडौं भन्दा बाहिर गएर आयोजना गर्न सकेन त्यसले स्पोनसरहरु अझ बढ्ने खड्काको विश्वास छ । ‘एनपीएलका लागि राज्यले काठमाडौं बाहिर राम्रो पुर्वाधारहरु विकास गर्यो भने अझ राम्रो हुन्छ । कम्तीमा तीन वटासम्म स्टेडियम राम्रो भयो भने नेपाली क्रिकेटमा अझ स्पोनर बढ्छ ।’ उनले भने ।
खड्काले नेपाली क्रिकेटलाई चरढबद्ध रुपमा अगाडि बढाउने लक्ष्य रहेको र थ्यसका लागि ग्रसारुट नै विकास गर्नुपर्छ भनेर सबै जना लागेको बताए । ‘नेपाली क्रिकेटलाई ग्रसारुटदेखि नै विकास गर्नुपर्छ भनेर लागेका छौं । सरकारले, राज्यले साथ दिनुपर्छ । छोटो समयमै टीयू मैदान बनाएजस्तै अब मुलपानी मैदान पनि बनाउनुपर्छ । अन्य पूर्वाधारहरु पनि तयार भयो भने राम्रो हुन्छ । अब महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर हुँदैछ ।’
उनले नेपालमा खेलकुद र पर्यटनको राम्रो सम्भावना भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘हामीले कि खेलकुदलाई कि पर्यटनलाई नै विकास गर्ने हो । राज्यले संवेदनशिल रुपमा लाग्यो भने नेपाललाई खेलकुद पर्यटनको रुपमा विकास गर्न सकिन्छ ।’
एनपीएलमा पहिलो वर्ष १ अरब बराबरको कारोबार भएको चर्चा थियो । त्यो तथ्याङ्कले क्यानले मात्र गरेको आर्थिक कारोबार नभई फ्रेन्चाइजहरु देखि क्यानको खर्चसम्मको कारोबार रहेको खड्काले बताए ।
साथै दोस्रो सिजन पनि १ अरब माथिको कारोबार हुने र यो एनपीएलले पारेको आर्थिक कारोबारको इम्प्याक्टको विषय भएको बताए ।
एनपीएलमा प्रत्यक्ष रुपमा देखिएको बाहेक यससँग जोडिएर अप्रत्यक्ष रुपमा नेपालको आर्थक पाटोमा चलायमान बनाउन सहयोग पुगेको उनले बताए ।
प्रतिक्रिया 4