News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उद्योग विभागमा १ सय ९६ उद्योग दर्ता भएका छन्।
- यी उद्योगमा ७० अर्ब २२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरिएको छ र १२ हजार १ सय ६२ रोजगारी प्रस्ताव गरिएको छ।
- पहिलो त्रैमासमा ३ सय १२ प्रत्यक्ष वैदेशिक लगानीका आयोजना स्वीकृत भएका छन् र ४३ ट्रेडमार्क मुद्दाको कारबाही टुंगो लगाइएको छ।
१८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उद्योग विभागमा १ सय ९६ उद्योग दर्ता भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्ता उद्योगमा ७० अर्ब २२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरिएको छ । साथै, ती उद्योगले १२ हजार १ सय ६२ रोजगारी प्रस्ताव गरेका छन् ।
विभागका अनुसार दर्ता उद्योगमध्ये ठूला र मझौला उद्योग संख्या १६/१६ छ । साना उद्योग संख्या १ सय ६४ छ ।
यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानीका ३ सय १२ आयोजना/उद्योग स्वीकृत भएका छन् । तीमध्ये स्वचालित मार्गबाट १ यस ९८ उद्योगको लगानी स्वीकृत भएको छ ।
पहिलो त्रैमासमा ३५ अर्ब १६ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । यी उद्योगमा १५ हजार ७ सय ५१ रोजगारी सिर्जना हुने अनुमान छ ।
चालु आव पहिलो त्रैमासमा उद्योग विभागमा ४३ ट्रेडमार्क सम्बन्धी मुद्दाको कारबाही टुंगो लगाइएको छ । भारतमा रियायती निर्यातका लागि सर्टिफिकेट अफ ओरिजिन सिफारिस १९ छ । यो अवधिमा २४ उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ ।
मन्त्रालयले यस अवधिमा नीतिगत सुधार र कार्यविधिगत सरलीकरणमा काम गरेको जनाएको छ । जसबाट औद्योगिक लगानी सम्बन्धी वातावरण सुधार, व्यापार सहजीकरण तथा सेवा प्रवाहमा सुधार अपेक्षा गरिएको छ ।
यसबीच उद्योग, लगानी तथा व्यापार प्रवर्द्धनमा सकारात्मक वातावरण तयार गर्ने गरी चालु आवको बजेट कार्यान्वयनका काम थालिएको समेत मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4