+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६० बलमा २१ रन आवश्यक
विराटनगर किंग्स 2025
127/2 (9.6)
Shares

बाक्लो सुरक्षा घेराबीच हेटौंडामा धमाधम भत्किंदैछन् सडक छेउका संरचना (तस्वीरहरू)

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सयौंको संख्यामा जनपथ र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।  

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ मंसिर २० गते १३:४४

२० मंसिर, हेटौंडा । सडक डिभिजन हेटौंडाले आज शनिबार बिहान झिसमिसेमै हेटौंडा उपमहानगरपालिकाको मुख्यबजार क्षेत्रको सडक विस्तार कार्यको सुरुवात गरेको छ ।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक डिभिजन हेटौंडाले सडक सीमाको केन्द्ररेखादेखि २५/२५ गज (७५/७५ फिट) भित्र यसअघि नै रेखांकन गरिएका घरटहरा र संरचनाहरू भत्काएको हो ।

महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुँदैछ ।

सडक डिभिजनले आज बिहान हेटौंडा–४, स्थित कर्रा चोक, मेनरोड, बुद्धचोक, राप्तिरोड, पिपलबोट हुँदै चौकिटोल क्षेत्रका सडक सीमाभित्र निर्मित घरटहरा र संरचना भत्काएको छ ।

सडक विस्तारका लागि घरटहरा र संरचना भत्काउन आधा दर्जन बढी ठूला उपकरण प्रयोग गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सयौंको संख्यामा जनपथ र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो । उक्त अल्टिमेटम शुक्रबार सकिएसँगै आज बिहानबाट सुरू गरेको थियो ।

सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म गरेर ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ ।

सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको सडक डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले हिजो शुक्रबार मात्रै  हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न उत्प्रेषण आदेश दिएको थियो । पूर्वसांसदसमेत रहेकी विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौंडाको नाममा आदेश दिएको हो । आदेश आइनसकेको भन्दै सडक डिभिजनले शुक्रबार साँझ सडक विस्तार नरोकिनेबारे अत्यन्त जरूरी सूचना निकालेर बिहानदेखि सडक विस्तार जारी राखेको हो ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?