२० मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताएका छन् ।
शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् । मेयर महर्जनले जेन–जी आन्दोलनको बेला पनि आगलागी लगायतका विपद व्यवस्थापनको काममा आफूहरूले ठूलो सफलता हात पारेको पनि बताए ।
उनले विपद् व्यवस्थाका लागि आफूहरूले आवश्यक सबै अवयवहरूको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप २ वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी समेत दिए ।
‘ललितपुर महानगरपालिकाले डिआरआर एउटै छानामुनि यसको व्यवस्थापन गरेका छौं । दमकल, एम्बुलेन्स, शववाहन, नगर प्रहरी र यसलाई चाहिने सबै कुराहरूको व्यवस्थापन त्यहाँ भित्र भएको छ । र, एक चुटकी बज्ने वित्तिकै नगरप्रहरीहरू गइहाल्छन् । दमकल पुग्छ । हामीले एउटा नयाँ अभ्यास पनि गरेका छौं । दमकल निस्केपछि एम्बुलेन्सले फलो गर्नैपर्छ,’ उनले भने ।
विपद् व्यवस्थापनका लागि आफूहरूले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताए ।
‘सोही सिष्टम हामीले राम्रोसँग चलाएका छौं । यो भनेको हाम्रो पुल्चोकमा रहेको जुद्ध वारुण यन्त्रबाट हामीले डिआरआर । विपदका सबै अवयवहरूलाई त्यहाँ राखेर हामीले सेवा प्रवाह गरेका छौं । यसको राम्रो नतिजा भनेको अस्तिको आन्दोलनमा पनि उहाँहरूले सुन्नुभएको होला,’ उनले भने, ‘महानगरपालिकाले गर्नुपर्ने काममा हामी किञ्चित पनि, कुनैपनि अवस्थामा हामी ब्याक भएका छैनौं । यसलाई अझै सृृदृढिकरण गर्दै लैजाने हाम्रो इच्छा छ । यसलाई अझ व्यवस्थित बनाउन हामी निकट भविष्यमै दुई वटा दमकल थप्न गइरहेका छौं ।’
प्रतिक्रिया 4