+
+
Shares

कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएका छन् : मन्त्री घिसिङ

मन्त्री घिसिङका अनुसार निर्माण व्यवसायीका कारण २ सय ५० हाराहारी ठेक्का रुग्ण भएको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कर्मचारीका कारण ठेक्का रुग्ण भएको र छानबिन गरिने जानकारी दिए।
  • निर्माण व्यवसायीका कारण २५० हाराहारी ठेक्का रुग्ण भएको पाइएको र ती ठेक्कामा कारबाही अघि बढाइएको उनले बताए।
  • मन्त्री घिसिङले नेपालमा निर्माण व्यवसायी सम्मेलन गर्नुपर्ने र ठेक्का तोड्दा बाँकी कामको असुली व्यवस्था हटाउन सरकार सकारात्मक रहेको उल्लेख गरे।

२३ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन् ।

त्यस्ता ठेक्कामा भने कुनै कारबाही नगरेको बताउँदै मन्त्री घिसिङले छानबिन गरिने जानकारी दिएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग संवाद कार्यक्रम’ मा मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

‘आयोजनाका तर्फबाट पनि रुग्ण भएका ठेक्का धेरै छन्, त्यस्तालाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने, ‘अहिले जति पनि ठेक्का तोडिएको छ र तोडिँदै छन्, त्यस्ता ठेक्का निर्माण व्यवसायीकै कारण रुग्ण भएका हुन्, कर्मचारीका कारण रुग्ण भएको ठेक्कामा कुनै कारबाही अघि बढाइएको छैन, त्यसमा छानबिन गरेर सम्बन्धित कर्मचारीलाई कारबाही गर्नुपर्छ ।’

उनका अनुसार निर्माण व्यवसायीका कारण २ सय ५० हाराहारी ठेक्का रुग्ण भएको पाइएको छ ।

उनले निर्माण व्यवसायीविना देश विकास सम्भव नभएको बताए । यद्यपि, नेपालका निर्माण व्यवसायीको क्षमता अभिवृृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

‘निर्माण व्यवसायीविना ठूला काम सम्भव छैन, निर्माण व्यवसायीविना देश विकास सम्भव छैन, राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय,’ उनले भने, ‘तर, निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक छ, अन्तर्राष्ट्रिय स्तरको काम गर्ने सक्ने क्षमता नेपाली निर्माण व्यवसायीमा हुनुपर्छ ।’

यस्तै नेपालमा लगानी सम्मेलनभन्दा निर्माण व्यवसायी सम्मेलन गर्नुपर्ने बताए । त्यसबाट निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने बताए ।

उनले कतिपय ठेक्कामा ठेकेदार नै खोज्नुपर्ने अवस्था रहेको बताए । ‘कुनै रुग्ण ठेक्का व्यवस्थापन गरौं भन्दा ठेकेदार भेटिँदैनन्, १०–१५ वर्षदेखि ठेक्का रुग्ण अवस्थामा छ,’ उनले भने ।

यस्तै समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएको मन्त्री घिसिङको भनाइ छ । ‘निर्णय नै नगर्दा पनि ठेक्का रुग्ण भएका छन्, सही समयमा सही निर्णय गर्न सक्नुपर्छ तर परियोजना प्रमुखहरूले समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएका छन्,’ उनले भने, ‘तसर्थ, सही समयमा निर्णय गर्न सक्नुपर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्णय नगर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने भनेको उनले बताए ।

नेपालमा निर्माण योजना पनि कमजोर भएको उनको भनाइ छ । ‘भेरी बबई डाइभर्सन सिँचाइ आयोजनामा २०७५ सालमै सुरुङ ब्रेक थ्रु भयो तर त्यसबेलासम्म पावर हाउस लगायत संरचना बनाउने ठेक्का भएको थिएन,’ उनले भने, ‘उक्त परियोजना अझै बनेको छैन,  कहिले के काम गर्ने भनेर योजना नहुँदा यस्तो अवस्था आयो ।’

नेपालमा काम गर्न धेरै थरी अवरोध भएको उनले बताए । ‘चीनको एउटा निर्माण व्यवसायीले ६ महिनामा काम सम्पन्न गर्छ तर त्यही निर्माण व्यवसायीले नेपालमा ६ वर्षमा काम गर्न सक्दैन,’ मन्त्री घिसिङले भने, ‘नेपालमा निर्माण व्यवसायी, परामर्शदाता र परियोजनाबीच राम्रो सहकार्य नहुँदा पनि समस्या भएको छ ।’

उनले ठेक्का तोड्दा बाँकी काम गर्न ठेकेदारबाट बाँकी असुली गर्नुपर्ने व्यवस्था हटाउन सरकार सकारात्मक रहेको बताए । काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सहयोग गर्ने उनको भनाइ छ । ‘तपार्इंहरू (निर्माण व्यवसायी) काम गर्नुस्, सरकार साथमा छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?