+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares
एमाले महाधिवेशन :

१०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने एमाले मञ्च (भिडियो)

यसरी बन्दैछ मञ्च

एमाले भक्तपुर अध्यक्ष वचन देउजाका अनुसार उद्घाटन प्रविधि मैत्री हुनेछ । कस्तो हुन्छ भन्ने कुरा गोप्य राखिएको छ । ‘उद्घाटन कसरी गर्ने सार्वजनिक गरिएको छैन । तय गर्न बाँकी छ । बेलुकासम्म हुन्छ,’ उनले भने ।

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर २६ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेले भक्तपुर सल्लाघारीमा १०८ रोपनीमा फैलिएको क्षेत्रमा ११औँ महाधिवेशन उद्घाटनस्थलको मञ्च निर्माण गरेको छ।
  • मञ्चमा विश्व सम्पदा सूचीको चाँगुनारायण मन्दिरको झल्को दिने डिजाइन गरिएको छ र काठमाडौं उपत्यकाका तीन शहरका ऐतिहासिक सम्पदा समेटिएको छ।
  • एमालेले उद्घाटनमा तीन लाखभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने र १५ हजारको हाराहारीमा चियर राख्ने योजना बनाएको छ।

२६ मंसिर, काठमाडौं । दायाँबायाँ शंख, चक्र, घन्ट अनि बीचमा मन्दिर । झट्ट हेर्दा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर जस्तै देखिन्छ ।

मन्दिरको अगाडिपट्टि धरहरा ठडिएको छ भने वरिपरि काठमाडौं उपत्यकाको प्राचीन सम्पदा झल्किने विभिन्न आकृति सजाइएको छ ।

भक्तपुरको सल्लाघारीस्थित एमालेको ११औँ महाधिवेशन उद्घाटनस्थलको दृश्य हो यो । जहाँ बनाइँदैछ, महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च ।

मञ्च व्यवस्थापनमा खटिएका एमाले भक्तपुर अध्यक्ष वचन देउजाका अनुसार मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सबै काम सक्ने तयारी छ ।

‘एमाले महाधिवेशनको जति चर्चा हुन्छ, त्यो भन्दा आकर्षणको केन्द्रमा मञ्च रहने गरेको छ । यो वर्ष पनि त्यस्तै छ,’ उनले भने, ‘पृष्ठभूमिमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर छ । मन्दिरमै गए जस्तो हुन्छ ।’

भक्तपुरको सल्लाघारीमा १०८ रोपनी जग्गामा फैलिएको चौरमा एमालेले उद्घाटनस्थल बनाएको हो । ‘उद्घाटनस्थललाई साजसज्जा गर्ने काम भइरहेको छ । राम्रो बनाउन कुनै कसर बाँकी राखिएको छैन,’ अध्यक्ष देउजाले भने, ‘आधुनिक वस्तु प्रयोग गरेर प्राचीन झल्को दिने मञ्च बनेको छ ।’

उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका जीवनशैलीदेखि कला, संस्कृति र सम्पदा समेटिएको छ ।

‘पर्खालमा काठमाडौं उपत्यकाका तीनवटै शहरका ऐतिहासिक सम्पदालाई राखिएको छ । समाज आधुनिकतर्फ अगाडि बढे पनि प्राचीन सम्पदा जोगाउन र प्रबर्द्धन गर्न यस्तो मञ्च बनाएका हौँ,’ उनले भने ।

वचन देउजा, अध्यक्ष/एमाले भक्तपुर

देशभरबाट आएका नेता/कार्यकर्ता र प्रतिनिधिलाई उपत्यका चिनाउन यसरी मञ्च बनाइएको बताउँछन् देउजा । एक दिनअघि नै मञ्च बनाएर सर्वसाधरणको लागि समेत खुला गर्ने योजना एमालेको थियो । तर अझै अन्तिम चरणको काम भइरहेकाले उद्घाटनअघि स्थानीयले अवलोकन गर्न नपाउने भएका छन् ।

‘समय अभाव भयो । एक दिनअघि नै सकिएको भए सर्वसाधरणको लागि खुला गर्ने सोच थियो,’ उनले भने ।

तर, मञ्च सर्वसाधनरणको ध्यान खिच्ने गरी बनाइएको देउजाको दाबी छ । साउन्ड सिस्टम पनि सोहीअनुसार तयार गरिएको छ ।

‘मञ्चको दुईतिरबाट ठूलो भिजुअल हेर्न सकिन्छ,’ उनले भने । यो मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता उतार्ने तयारी एमालेको छ । १५ हजारको हाराहारीमा चियर राख्ने योजना छ ।

अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधि मैत्री हुनेछ । कस्तो हुन्छ भन्ने कुरा गोप्य राखिएको छ । ‘उद्घाटन कसरी गर्ने सार्वजनिक गरिएको छैन । तय गर्न बाँकी छ । बेलुकासम्म हुन्छ,’ उनले भने ।

उद्घाटन सत्रमा सडकमा सवारी आवागमनमा असर नपर्ने गरी मञ्च बनाइएको एमालेले जनाएको छ । अघिल्लो महाधिवेशनमा चितवनमा ट्राफिक व्यवस्थापन असहज भएको थियो ।

‘यसपटक सर्वसाधारणको सवारीमा समस्या नपरोस् भनेर उद्घाटनस्थल यहाँ बनाएका हौँ । महाधिवेशनमा आएका गाडी जगाती र राधेराधेमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

गाडी पार्किङ पनि प्रविधिमैत्री बनाइएको छ । ‘गाडी पार्किङ गर्न क्यूआर कोडसहित ठाउँ तोकिएको छ,’ देउजाले भने ।

सुरक्षाको प्रबन्ध पनि चुस्त बनाइएको छ । ‘सबै सुरक्षा निकायमा समन्वय भएको छ,’ उनले भने ।

उद्घाटनलाई व्यवस्थित गर्न एमालेले स्वयंसेवक खटाउने छ । शनिबार ११ बजे उद्घाटनका लागि नेता तथा कार्यकर्ता सल्लाघारी पुग्नेछन् । दिउँसो ४ बजेभित्र उद्घाटन सत्रको सबै काम सक्ने योजना एमालेको छ ।

फोटो/भिडियो : शंकर गिरी र कमल प्रसाईं/अनलाइनखबर

 

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?