News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङको बराहपोखरी गाउँपालिकामा बाबुराम मगरले कुकुरलाई झुण्ड्याएर कुटपिट गरी हत्या गरेका थिए र घटना फेसबुकमा पोस्ट भएपछि सार्वजनिक भएको थियो।
२६ मंसिर, काठमाडौं । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकामा बाबुराम मगरले कुकुरलाई झुण्ड्याएर कुटपिट गरी निर्दयी तरिकाले हत्या गरेका थिए । उनले हत्याको फोटो फेसबुकमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो ।
घटनाअनुसार, मगरको भाले कुकुर र छिमेकीको पोथी कुकुरबीच संसर्ग भइरहेको बेला छुटाउने क्रममा भाले कुकुरले आफ्नै भतिजलाई टोकेको थियो । रिसको झोंकमा उनले पोथी कुकुरलाई झुण्ड्याएर, कुटेर मारेका थिए । फेसबुक पोस्टमा उनले सामुदायिक कुकुर मारेको लेखेका थिए तर प्रहरीलाई दिएको बयानमा आफ्नै कुकुर मारेको बताएका थिए ।
विराटनगरकी पशु अधिकारकर्मी एलिना प्रसाईंले फेसबुक पोस्टका स्क्रिनशट र फोटोहरू संकलन गरी खोटाङ प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले मुचुल्का उठाउने काम सकेर पशुपन्छीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । त्यसपछि प्रहरीले अभियुक्तलाई तुरुन्त पक्राउ गरेको थियो ।
टीएफसी नेपालका संस्थापक तुलाराज राजवंशी र एलिनाज एनिमल प्रिजबेसन सेन्टरकी एलिना प्रसाईको समन्वयमा प्रहरी कार्यालयमा मुद्दाको फलोअप गरिएको थियो । आज अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउपछि एलिना र तुलारामले अभियुक्तसँग भेट गरे । भेटमा उनले हात जोडेर बारम्बार माफी मागेको एलिना बताउँछिन् ‘मबाट ठूलो गल्ती भयो, अब कहिल्यै यस्तो गर्दिनँ बरू सामुदायिक कुकुरहरूको हेरचाह गर्छु,’ उनले पश्चाताप गर्दै भने । अभियुक्तले बारम्बार हात जोडेर माफी मागेर पश्चाताप गरेको तुलाराम पनि बताउँछन् ।
नेपालको पशुपन्छीसम्बन्धी ऐनअनुसार यस्तो क्रूरतामा जरिवाना वा कैद सजाय हुन सक्छ । अधिकारकर्मीहरूले कडा कारबाहीको माग गरेका छन् । यो घटनाले खोटाङमा पशु अधिकारप्रति सकारात्मक परिवर्तन देखाएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4