News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू पाँचौं पटक प्रतिनिधिसभा चुनावमा मोरङ–१ बाट उम्मेदवार सिफारिस भएका छन्।
- लिम्बूले १८ वर्षमा दुई पटक जित र दुई पटक हार बेहोरेका छन् र पाँचौं चुनावपछि रिटायरमेन्ट लिने बताए।
- मोरङ–१ मा लिम्बू र एमाले नेता घनश्याम खतिवडाबीच चौथो पटक चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ।
२६ मंसिर, विराटनगर । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले १८ वर्ष यता चार पटक चुनाव लडे । दुई पटक संविधानसभा र दुई पटक प्रतिनिधिसभा चुनाव लडेका उनले दुई पटक जिते भने दुई पटक हार बेहोरे ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी खेलकुद मन्त्री समेत बनेका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उनी पाँचौं पटक उम्मेदवार सिफारिस भएका छन् ।
आगामी चुनावका लागि लिम्बूको नाम मोरङ– १ बाट क्षेत्रीय समितिले उम्मेदवारको रूपमा सिफारिस गरेको छ । उनीसँगै कोशी प्रदेश सहमहामन्त्री खड्गबहादुर फागो र दिब्या बस्नेतको नाम पनि सिफारिस भएको छ । क्षेत्रिय समितिले पठाएको नाम जिल्ला र प्रदेश समिति हुँदै केन्द्रीय समितिले उम्मेदवारको टुङ्गो लगाउनेछ ।
अबको प्रतिस्पर्धा आफ्ना लागि अन्तिम हुने लिम्बू बताउँछन् । पाँचौं पटक चुनावी प्रतिस्पर्धा गरेपछि रेस्ट लिने उनले बताए । ‘पाँचौं पटक संसदीय प्रतिस्पर्धापछि रिटायरमेन्ट लिने पक्षमा छु । पार्टीमा चाहिँ काम गर्छु,’ उनले भने ।
मोरङ–१ मा लिम्बू र एमाले नेता घनश्याम खतिवडाले तीन पटक प्रतिस्पर्धा गरिसकेका छन् । उनीहरू आलोपालो गर्दै निर्वाचित भएका छन् । २०७० सालको दोस्रो संविधासभा निर्वाचन खतिवडालाई पराजित गर्दै लिम्बूले जिते । पहिलो संविधासनभा निर्वाचनमा भने लिम्बू तत्कालीन माओवादीका उम्मेदवार नगेन्द्र धिमालसँग पराजित भएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार खतिवडाले लिम्बूलाई नै पराजित गरे । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लिम्बू र खतिवडा मुख्य प्रतिस्पर्धी थिए । यो पटक लिम्बूले चुनाव जितेका थिए ।
एमाले प्रदेश अध्यक्ष रहेका खतिवडा यो पटक पनि उम्मेदवार बन्ने तयारीमा छन् । उनीहरूबीच चौथो पटक प्रतिस्पर्धाको सम्भावना छ ।
प्रतिक्रिया 4