+

यसपटक जसरी पनि फाइनल पुग्‍ने संकल्प थियो : लुम्बिनीका ओनर ईश्‍वर जीसी

२०८२ पुष  २ गते १२:४० २०८२ पुष २ गते १२:४०
यसपटक जसरी पनि फाइनल पुग्‍ने संकल्प थियो : लुम्बिनीका ओनर ईश्‍वर जीसी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सका मालिक ईश्वर जीसीले एनपीएल २०२५ को उपाधि जित्न फाइनल पुग्ने दृढ संकल्प लिएर सफल भएको बताएका छन्।
  • जीसीले गत वर्ष अपेक्षित प्रदर्शन नभएको स्मरण गर्दै यसपटक टेक्निकल टिम र कोचिङ स्टाफको सुझबुझले सफलता हात लागेको बताए।
  • उनले फ्रेन्चाइजलाई दीर्घकालीन रूपमा दिगो बनाउन आर्थिक सबलता आवश्यक रहेको र आगामी सिजन होम एन्ड अवे ढाँचामा खेल सुरु हुन सक्ने बताए।

२ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को उपाधि जितेपछि लुम्बिनी लायन्सका मालिक ईश्वर जीसीले अघिल्लो संस्करणमा अपेक्षित प्रदर्शन हुन नसकेपछि यसपटक फाइनल पुग्ने दृढ संकल्प लिएर सफल भएको बताएका छन् ।

च्याम्पियन बनेपछि प्रतिक्रिया दिँदै जीसीले गत वर्ष अपेक्षित नतिजा आउन नसकेको स्मरण गरे। ‘गत संस्करण राम्रो हुन सकेको थिएन, यस सिजन पनि सुरुवातमा जितेर त्यसपछि तीन खेल हार्दा चुनौती देखिएको थियो । तर खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर देखाए’ उनले भने।

उनका अनुसार गत वर्ष सबैका लागि नयाँ अनुभव भएको र विदेशी खेलाडीहरूबाट पनि अपेक्षित प्रदर्शन हुन सकेको थिएन। यसपटक भने सुरुबाटै फाइनलमा पुग्ने लक्ष्यसहित योजना बनाइएको र टेक्निकल टिम तथा सम्पूर्ण कोचिङ स्टाफको सुझबुझले सफलता हात लागेको बताए। जीसीले टिमको सफलतामा खुसी व्यक्त गर्दै अब दिगोपनालाई प्राथमिकता दिने बताएका छन् ।

जीसीले यस वर्ष टिमको पहिचानलाई पनि विशेष ध्यान दिइएको बताए। ‘देशको प्रतिनिधित्व झल्किने गरी जर्सीमा रातो रंग, ढाकाको प्याटर्न र मन्दिरको गजुरसँग मेल खाने गोल्डेन कलर प्रयोग गरिएको उनले जनाए । यसले नेपाललाई अन्तर्राष्ट्रय स्तरमा चिनाउन पनि मद्दत पुग्ने उनको विश्वास छ ।

‘यसबाहेक पर्यटन प्रवर्द्धन अनि अन्तर्राष्ट्रियकरणका लागि विदेशी खेलाडीहरूलाई सम्भव भएको ठाउँदेखि नेपालसम्म राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समार्फत नेपाल ल्याई पर्यटन प्रवर्द्धनमा पनि सहकार्य गर्ने योजना रहँदै आएको छ’ उनले भने ।

लुम्बिनी लायन्सले रुपन्देहीको एक्स्ट्राटेक मैदानलाई होम ग्राउन्ड मानेर अभ्यास गरेको र त्यहाँको तयारीले प्रतियोगितामा सहज भएको पनि जीसीको भनाइ छ।

इन्भेस्टरको रूपमा हेर्दा जित–हार दुवै स्वाभाविक हुने उल्लेख गर्दै उनले अहिलेको ठूलो चुनौती भनेको फ्रेन्चाइजलाई दीर्घकालीन रूपमा कसरी दिगो बनाउने भन्ने रहेको बताए। क्यानसँग १० वर्षको सम्झौता रहेको र आर्थिक रूपमा सबल नभएसम्म भावनाले मात्रै क्रिकेट चलाउन गाह्रो हुने उनको धारणा छ।

आगामी सिजनबाट होम एन्ड अवे ढाँचामा प्रतियोगिता सुरु हुन सक्ने सम्भावना पनि जीसीले व्यक्त गरे। ‘फ्रेन्चाइजको आफ्नै होम ग्राउन्ड भएमा खेल मात्र होइन, उद्यमशीलता र स्थानीय सहभागितामा पनि सकारात्मक प्रभाव पर्छ’ उनले भने ।

यसैबीच, लुम्बिनी लायन्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने तयारी पनि गरिरहेको जीसीले बताएका छन् ।

हाललाई विदेशी टिमहरूमा लगानी गरेर फ्रेन्चाइज विस्तार गर्ने योजना भने नरहेको जीसीले स्पष्ट पारे।

अनलाइनखबरका खेल पत्रकार गोविन्दराज नेपालले जीसीसँग गरेको कुराकानीका आधारमा तयार पारिएको । पूरा अन्तर्रवार्ता हेर्नुहोस् :

ईश्वर जीसी लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय