नेकपा एमालेको ११औं महाधिवेशन केही अर्थपूर्ण परिणामहरू निकाल्दै सम्पन्न भएको छ । पार्टीका नीति र सिद्धान्तमाथि बहस गर्न रोक लगाइएको यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित थियो । पहिल्यै अनुमान गरिए जस्तै कमरेड ओली तेस्रो पटकका लागि अध्यक्षमा निर्वाचित भएका छन् । यसो भन्न सकिन्छ ओलीलाई भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक माहोलपछि पनि पार्टी पंक्तिले आफ्नो नेताका रूपमा पुन: अनुमोदन गरेको छ ।
पार्टी जीवनका लागि यसको परिणाम जे–जस्तो आउने भए पनि कमरेड ओलीको राजनीतिक जीवनलाई यसले पुनर्स्थापित गरिदिएको छ । नवनिर्वाचित अध्यक्ष कमरेडलाई हार्दिक बधाई तथा शुभकामना ।
कमरेड ईश्वर पोखरेललाई पनि हार्दिक बधाई तथा शुभकामना । उनले हिम्मत गरेर आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याए । यसै पनि उनलाई नेतृत्वबाट अवकाशको बाटो देखाउने प्रपञ्च विधान महाधिवेशनबाटै गरिएको थियो । तर अध्यक्षमा कमरेड ओलीसँग प्रतिस्पर्धा गरेर पोखरेलले एमालेलाई प्रश्नविहीन भक्तिमार्गतिर जानबाट बाहिर निकाल्न कोशिश गरेका छन् ।
आफ्नो जीवनको उत्तरार्धतिर आएर उनले २१ वर्षे उमेरमा जस्तै आन्दोलनलाई एउटा गुन लगाएका छन् । उनलाई यसका निम्ति इतिहासले सम्झने छ । विशेष बधाई गोकर्ण विष्ट र योगेश भट्टराईलाई जसले एमालेभित्र जीवनतत्व बाँकी छ भन्ने प्रमाणित गरेका छन् ।
कमरेडहरू पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रघुजी पन्तहरूलाई पनि बधाई । महासचिवमा फेरि निर्वाचित कमरेड शंकर पोखरेललाई पनि र जो जो कमरेडहरूले जित्नुभयो उहाँहरू सबैलाई बधाई । जो–जो पराजित हुनुभयो उहाँहरूलाई शुभकामना !
हार्ने र जित्नेहरूका बीचको यो टक्करले एमाले भित्र र बाहिर समाजमा जुन बहस सिर्जना गरेको छ त्यो खेर जाने छैन ।
उकुसमुकुसबाट मुक्ति
एमालेको पार्टी जीवनमा एघारौं महाधिवेशनको विशेष अर्थ रहनेछ । २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा कमरेड ओली अध्यक्ष निर्वाचित भएपछिबाटै नेकपा एमाले एउटा उकुसमुकुसको च्याम्बरमा प्रवेश गरेको थियो । सार्वजनिक वैधता ओलीका पक्षमा थियो । पार्टीभित्र उनको बहुमत हुनेवित्तिकै उनले पार्टीलाई एकलौटी रूपमा चलाउन थालेका थिए ।
पार्टीमा स्थापित सामूहिक निर्णयपद्धति समाप्त गरियो । फरक मतलाई निषेध गरियो । २०५५ तिरदेखि समूहगत रूपमा पेलानमा परेका ओली पक्षधरहरूले माथिदेखि तलसम्म फरक समूहलाई पेलेर जाने बदलाको नीति लिए ।
पार्टीमा जो जो जुन तहका अध्यक्ष या इञ्चार्ज भए तिनले आफूलाई तह अनुसारको छोटे ओलीमा बदले । कुनै पनि कमिटीमा राजनीतिक वैचारिक बहस निषेध गरियो । फरक मत व्यवस्थापन गर्नुभन्दा नेता–कार्यकर्तालाई पार्टी छाडेर जान चुनौती दिन थालियो ।
यो सिलसिला बढ्दै जाँदा पार्टी विभाजित भयो । दशौं महाधिवेशनपछि त यो प्रवृत्तिले थप गति लियो । अध्यक्ष र महासचिव आफैं प्रदेश र जिल्ला हुँदै वडातहसम्म अनि सबै जनसंगठनमा गुट हुर्काउन थाले । यससँगै आफ्नो गुटसँग नजिक नहुनेलाई माथिदेखि तलसम्म अवसरबाट वञ्चित गरियो । पार्टीलाई भक्तहरू (एसम्यान) को झुण्डमा बदल्ने कोशिश भयो ।
यसपालि विद्या भण्डारी प्रकरणसँगै पार्टीमा थुनिएको उकुुसमुकुसको बाँधमा प्वाल परेकोे थियो । कमरेड भण्डारीलाई पार्टीमा आउन, आफू पछिको अध्यक्ष बन्न पनि ओलीले नै निम्त्याएका थिए भनिन्छ । जब विद्याले मुखै फोरेर अध्यक्षमा दाबी गर्न थालिन् अनि ओलीले सबै वाचा र सम्बन्धहरू तोडे । पार्टीमा आफ्नो पद ताक्नेलाई बाघझाप्पु हान्ने भनेर सार्वजनिक वक्तव्यबाजी गर्दै गए ।
महाधिवेशन आएसँगै कमरेड ईश्वर, युवराज, अष्टलक्ष्मी, सुरेन्द्र, योगेश, विन्दा, गोकर्ण र कर्णहरूले जबर्जस्त रूपमा पार्टीमा फरक समूह र फरक मत अगाडि सारे । यससँगै तलसम्म एउटा लहर आयो । अन्यायमा परेका, कुनामा परेका या बोल्न डराएकाहरू पनि बोल्न थाले । महाधिवेशनस्थलसम्म आइपुग्दा धेरैले आफूलाई स्वतन्त्र महसुस गर्न पुगे ।
खास समयमा फरक मत र कित्तामा पुगे पनि पार्टीका लागि सबै बराबर हुनुपर्छ, विभेद गर्न पाइन्न भन्नेहरू एउटै गुट बलियो बन्यो भने पार्टीमा तानाशाही हुर्कन्छ, गलत निर्णयको शिकार बन्छ भनेर विश्लेषण गर्नेहरूले क्रस भोटिङ गरेर पार्टीमा एकताको धागो छिराए । गोकर्ण, योगेश, सुरेन्द्र र विन्दाहरूले पाएको मतले त्यसको पुष्टि गर्छ ।

समग्रमा ओली नेतृत्वमा आएपछि रोकिएको पार्टीको आन्तरिक लोकतन्त्रीकरणको प्रक्रियाले फेरि लय समात्ला कि भन्ने आशा पलाएको छ । एमालेको लोकतन्त्रीकरणले अरू दल र समाजमा पनि लोकतन्त्रीकरणको प्रक्रियालाई बलियो बनाउन मद्दत गर्नेमा विश्वास गर्न सकिन्छ ।
सुनिजान्नेहरूका अनुसार ओली कमरेड पार्टीका औपचारिक, अनौपचारिक थलोहरूमा आफूलाई सी चिनफिङलाई झैं प्रश्नरहित नेता मान्नुपर्छ भनेर माग गर्ने गर्थे । चीनको र नेपालको शासन प्रणालीका बीच रहेको भिन्नताका सन्दर्भमा ओलीले गरेको सीको झैं प्रश्नहीन बन्न पाउनुपर्ने माग असंगतिपूर्ण थियो ।
त्यसमाथि नेपालको कम्युनिस्ट आन्दोलन आरम्भदेखि नै उदार सोचबाट प्रभावित छ । एमालेले अँगालेको जबजले उदारवादकै आधारहरूलाई स्वीकार गरेको छ । खुला प्रतिस्पर्धा यसको मुख्य प्रवृत्ति बन्न थालेको पनि पाँचौं महाधिवेशनबाटै हो ।
एमालेलाई विचारमा अनुदारवाद र संगठनमा फाँसीवादतिर धकेलेको ओली नेतृत्वमा आएपछि नै हो । यसपटक उनको मिसनमा केही चोट लागेको त छ तर त्यसले उनलाई थप उग्र बनाउन पनि सक्छ ।
जे भए पनि ओलीले प्रश्न सहितको र विकल्पहरूमध्येको एउटा च्वाइसका रूपमा आफ्नो अस्तित्व स्वीकार गर्न कर लागेको छ । भित्र गुम्सिएको च्याम्बर भेन्टिलेट भएको छ ।
गिर्दो वैधानिकता
महाधिवेशनबाट ओली पुन: नेतृत्वमा आएका छन् । त्यसमाथि दशौं महाधिवेशनको जस्तो एकलौटी नभएर प्रतिस्पर्धाका आधारमा अत्यधिक मत पाएर विजयी भएका ओलीले आफ्नो वैधानिकता पुन: दाबी गरेका छन् ।
भदौ २३ र २४ को कहालीलाग्दो समयपछि पनि पार्टीमा यो स्तरको समर्थन कायम रहनु उनको राजनीतिक जीवनका लागि सन्तोषको विषय हो । यसलाई उनले अरू राजनीतिक दल, आम जनता, राज्यका निकायहरू र विदेशी सरोकारवालाहरूसमक्ष पनि आफ्नो वैधानिकताको प्रमाणका रूपमा पेश गर्नेछन् । तर यो कति राजनीतिक हो र कति प्राविधिक मात्र भन्ने प्रश्नले भने उनलाई पछ्याउन छाड्ने छैन ।

पहिलो, उनले महाधिवेशन आउनु पाँच महिना पहिले कमरेड विद्या भण्डारीको सदस्यता खोसेर आफूलाई चुनौतीविहीन बनाउन शक्तिको दुरुपयोग गरे । दोस्रो, विधान महाधिवेशनका बेला समेत नीति तथा कार्यक्रममा बहस हुन दिएनन् । यस्तो वातावरण निर्माण गरे कि फरक मतले प्रवेश पनि पाएन ।
स्थायी समितिका सदस्य कर्ण थापा आफ्नो मत पेश गर्न माग गर्दै आधा घण्टा फ्लोरमा उभिए पनि बोल्न अनुमति पाएनन् ।
प्रतिनिधि छनोटमा जिल्लाहरूमा फरक समूहमा लाग्नेको राजनीति सिध्याउने धम्की दिइयो, पार्टी विरोधी करार गरियो र ईश्वरहरूले पार्टी विभाजन गर्छन् भनेर मनोवैज्ञानिक त्रास फैलाइयो । १०८ जना प्रतिनिधि मनोनयन एकलौटी गरियो ।
दशौं महाधिवेशनमा ओलीले मनोनित गरेका सदस्यहरू नै केन्द्रीय कमिटीको अत्यधिक संख्या रहेको हुँदा तिनले पनि ओलीलाई सहयोग पुग्यो । पार्टीको अफिसियल स्रोत ओली र उनको समूहको प्रचारमा एकलौटी रूपमा प्रयोग भयो । त्यसैले यो प्रश्न अहिले पनि जीवित छ : ओलीले जित्न त जिते तर यो कति वैधानिक हो र कति प्राविधिक ? उनले जितेका हुन् कि कब्जा गरेका हुन् ?
अर्को कुरा पनि यहाँ चर्चा गर्नु उपयुक्त हुनेछ । कमरेड ओलीले पार्टीलाई एकमना ढंगले आफ्नो मात्र कुरा सुन्ने, आदेश पालन गर्ने भक्तहरूको जत्थामा परिणत गर्न चाहेका थिए । फरक धारणा राख्नेलाई दमन गर्दै आएका थिए । ओली यस्तो सन्देश दिन चाहन्थे कि उनी विकल्पहीन हुन् । तर जतिले ईश्वरको समूहलाई (गोकर्ण, योगेश र सुरेन्द्र) मत दिए तिनले सिधै भने ओलीको पार्टी सञ्चालन शैली ठिक छैन (विष्ट र योगेशको मत कुल मतको ५० प्रतिशत भन्दा बढी हो) ।
तिमीले पार्टीलाई गलत बाटोमा लैजाँदै छौं । हामी बदल्न चाहन्छौं । यसले दिने सन्देश हो ओलीको आन्तरिक लेजिटिमेसी घटेको छ । प्रदीप ज्ञवालीको असन्तुष्टि, क्रस मतदान र अर्को खेमाका उम्मेदवारले पाएको समर्थनको स्तरले पनि ओलीको शक्ति र वर्चस्वमा ह्रास आएको संकेत गरिसकेको छ । उनी निकटका विष्णु रिमाल, शंकर पाेखरेल, राजन भट्टराई र भानुभक्तले ल्याएकाे मतले पनि ओलीकाे इनर सर्कलप्रति उनकै गुटका कार्यकर्ताकाे नकारात्मक धारणा छ भन्ने पुष्टि गरेकाे छ ।
योगेश–गोकर्णहरू अबका प्लेयर
यो महाधिवेशनले प्रदीप ज्ञवाली, पीएस गुरुङ, विष्णु पौडेल लगायत कतिपय पहिलो लहरका नेताको कान्ति क्षय भएको पनि देखायो । बरु पराजित भएर पनि ईश्वर पोखरेलले आफ्नो उचाइ बढाए । पौडेलले खुलस्त नबोलेर आफ्नो भूमिका खुम्च्याए ।
पीएसले ओलीसामु आत्मसमर्पण गरे भन्ने बुझाइ उनका कार्यकर्ता र समर्थकमा पनि देखियो । यसले उनलाई राजनीतिक नोक्सानी भयो । प्रदीपले विचार, कार्यशैली र पद्धतिको कुरा नउठाएर लगाएको घुर्की उनका लागि नोक्सानदायक भयो ।

यो महाधिवेशनबाट एमालेमा सबैभन्दा बढी नाफामा योगेश भट्टराई, गोकर्ण विष्टहरू परे । उनीहरूले एमालेमा वैकल्पिक नेताका रूपमा आफ्नो छवि र भूमिका निर्माण गरे ।
अझै भक्तिमार्ग निर्णायक
दुई दिन पहिले सेतोपाटीका सम्पादक मित्र अमित ढकालले एमालेमा भक्तिमार्गमा चिरा परेको सन्दर्भ उल्लेख गर्दै एउटा अर्थपूर्ण आलेख प्रकाशित गरेका छन् । त्यो आंशिक रूपमा सही पनि हो ।
तीन दिन प्रदर्शनी मार्गको माहोल हेरेर एमालेका कार्यकर्ताहरूको मनोविज्ञान बुझेपछि एउटा कुरा भन्न सकिन्छ– एमालेमा समूहगत विरोध र प्रतिस्पर्धा त खुलेको छ तर अझै पनि विचार, सिद्धान्त र समसामयिक राजनीतिमा एमालेको स्थान र भविष्यका बारेमा हुनुपर्ने आलोचनात्मक बहस मर्दै गएको छ ।
महाधिवेशनका प्रतिनिधिलाई कमरेड ईश्वर पोखरेलले वितरण गरेको अपिलमाथि मैले भेटेका कसैले पनि चर्चा गरेनन् । भदौ २३ र २४ गतेका घटनाका कार्यकारण सम्बन्धहरू, त्यसमा एमालेको भूमिका र आगामी दिनमा नेपालको उदार लोकतन्त्रवादी संविधानको भविष्य, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टीको भविष्यका बारेमा कसैले पनि चर्चा गरेको मैले देखिनँ, भेटिनँ ।
आउने निर्वाचन भएन भने के होला अथवा निर्वाचनले पनि समाधान दिएन भने देश कता जाला भन्ने चिन्ता पनि सुनिएन । आर्थिक रूपले जर्जर बनेको देशको भविष्यको चिन्ता पनि त्यहाँ सुनिएन । ओली समूहमा भक्तिमार्ग नै एक मात्र मुक्तिको बाटो हो भन्ने मनोविज्ञान बलशाली थियो ।
ओलीपक्ष महाधिवेशनलाई सत्ता कब्जाको एकसूत्रीय कार्यसूचीमा केन्द्रित गराउन चाहन्थ्यो । त्यसै तहको प्रतिवाद गर्नमा ईश्वर पक्ष सक्रिय थियो । विचार र पार्टीको भविष्यका कुरा सबै ओझेलमा थिए ।
मैले भेटेका केही प्रतिनिधि र समर्थकहरू ओली या शंकर लगायत व्यक्तिका आलोचक थिए तर विचारले नै समस्या सिर्जेको हो भन्ने अनुभूति थिएन । पार्टी जीवनको लोकतन्त्रीकरणलाई मुख्य मुद्दा बनाएको ईश्वर समूहले पनि विचारलाई प्राथमिकताका साथ बहसमा लैजाने र प्रतिनिधि तथा उम्मेदवार छनोटमा त्यसलाई आधार बनाउने कुरामा पर्याप्त ध्यान दिएको देखिंदैनथ्यो ।
प्रदीप ज्ञवालीले गुमाएको मौका
अघिल्लो लेखमा मैले गुण्डु समूहका बारेमा लेख्दै गर्दा कमरेड प्रदीप ज्ञवालीका बारेमा पनि उल्लेख गरेको थिएँ । तर गुण्डु समूहले उनलाई पनि ऐन मौकामा इच्छा विपरित उपाध्यक्षमा उम्मेदवार बन्न अह्रायो । उनले आफूलाई शंकर पोखरेल भन्दा सिनियर रहेको र पार्टी तथा ओली समूह दुवैमा बढी योगदान गरेको दावी गरेका थिए । हुन पनि उनी २०५९ अघिबाटै बनेको ओली समूहमा सधैं लोयल रहेका थिए । उनले आफूलाई यसपटक पनि अवसर नदिएकोमा चित्त दुखाए र केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिए ।
यहाँसम्म ठिकै पनि थियो । आफ्नो चित्त कुँढाएरै पनि अध्यक्षका पक्षमा उभिइरहनु, सहयोग गर्नु समूह पक्षधरका लागि स्वाभाविक पनि हो । तर उनले आफ्नो पीडा लुकाउन सकेनन् र उम्मेदवारी मनोनयन स्थलमा भक्कानिए । भोलिपल्टै उनै शंकर पोखरेललाई मत माग्दै पनि हिंडे । यसले उनको राजनीतिक कच्चापन मात्र उजागर गरिदियो ।
प्रदीपले यतिबेला कमसेकम पार्टीमा ओली र शंकरले हुर्काएको अराजनीतिक चरित्रका विपक्षमा बोल्न र पार्टीलाई सुधारतिर लैजान अपिल गरेको भए पार्टीका लागि ठूलो योगदान हुन्थ्यो ।
प्रदीप ज्ञवालीले जिल्लाहरूमा पार्टी प्रतिनिधि छान्न गरिएका जालझेलको विरोध गरेनन् । प्रतिनिधि मनोनयनमा एकलौटी गरिंदा विरोध गरेनन् । पुराना र दु:खको बेला योगदान गरेका नेता, कार्यकर्तालाई अपमान गर्दै अराजनीतिक व्यक्तिहरूलाई पार्टीले प्रतिनिधि या केन्द्रीय कमिटीमा अवसर दिंदा त्यसको विरोध गरेनन् । गुण्डु समूहले कमरेड ईश्वर पोखरेल र उनको समूहका अरू नेताको बदख्वाईं र अपमान गर्दा त्यसो नगर्न कहिल्यै भनेनन् । र मतदान अगाडि पार्टीका प्रतिनिधिहरूलाई स्वतन्त्र र भयरहित भएर विवेकपूर्ण रूपमा मत दिन अपिल पनि गरेनन् ।

ओली शंकरका हरेक क्रियाकलापलाई समर्थन गरिरहनु र बाहिर आँसु बगाउनु उनको जत्तिको राजनीतिक इतिहास र व्यक्तित्व भएका नेताका लागि सुहाउँदो कुरा थिएन । उनले समेत गोडमेल, मलजल गरेर जस्तो संस्कृति पार्टीभित्र हुर्काइएको थियो त्यस्तै फल्यो । यो त भाइलाई दुइटा मिठाई मलाई एउटा मात्र भनेर केटाकेटीले रोए जस्तो देखिन गयो । उनले आफ्नो मात्र मत आए पनि महासचिवमा प्रतिस्पर्धा गर्छु भनेर उम्मेदवारी दिएको भए यो संघर्ष अर्थपूर्ण हुन्थ्यो ।
पार्टी कति गलत ढंगले चलेको छ भन्ने कुरा त अनुशासन आयोगको अध्यक्षबाट विदा लिएर राजनीतिक निवृत्तितिर लागेका कमरेड केशव बडालले ग्लोबल टकलाई दिएको अन्तर्वार्तामा व्यक्त गरेको विचार र भावनाले देखाउँछ । यसमा पनि कमरेड ज्ञवाली चुप लागे । कठोर राजनीतिका निर्मम क्षणमा चाहिने भन्दा बढी नै भावुक बनेर कमरेड ज्ञवालीले नेता बन्ने अवसर गुमाउन पुगे ।
अझै पनि, भविष्यमा पार्टीको महासचिव या अध्यक्ष पनि हुने सम्भावना कायमै रहेका कमरेड प्रदीपलाई शुभकामना दिंदै म यति भन्छु– पद्धति राम्रो बनाउनमा समय खर्चिनुस् अनि मात्र तपाईंले जस्तो अरूले पनि पार्टीमा अन्याय भएको महसुस गर्नुपर्ने छैन ।
मन हो नेताको पनि दुख्छ, जनताको पनि दुख्छ । भदौ २३ गते गोलीले जीवन छिनिएका कलिला युवायुवती सम्झेर आँसु नबगाउने र उनीहरूका आफन्तको पीडामा नुन छर्कंदै त्यो बलिदानको दानवीकरण गर्न छाड्नुुस् । अनि मात्र तपाईंको आँशुको पनि सम्मान हुन्छ । मेरो समानुभूति तपाईंसँगै छ ।
जोखिमतिर
ओलीको यो जीत नेपाली राजनीतिका आगामी दिनका लागि खासै सुखद् खबर होइन । उनको जीतले जुन प्रवृत्ति विरुद्ध सडकमा रगत बगेको थियो, जसका कारणले नेपाल इतिहासकै सबैभन्दा क्रूर क्षणमा फसेको थियो; तिनले प्रोत्साहन पाउने छन् ।
कांग्रेसमा समेत देउवालाई फेरि प्रधानमन्त्री बनाउन चलखेल शुरु हुनसक्ने भएको छ । यसले अहिलेको राजनीतिलाई थप निराशा र दक्षिणपन्थी ध्रुवीकरणतिर लैजानेछ । भदौ २४ को अश्लील संस्करणहरू दोहोरिन सक्छन् । देश अस्थिरतातिर धकेलिन सक्छ ।
मनपरेको कुरा
आम जनतासँग एमालेको सम्बन्ध कस्तो छ भन्ने कुरा त आगामी निर्वाचनले थाहा देला तर प्रदर्शनीमार्गमा एमाले नेता–कार्यकर्तामा देखिएको उत्साह लोभलाग्दो थियो । देशभरबाट आएका प्रतिनिधि मात्र होइन प्रतिनिधि हुन नपाएका दुवै समूहका नेता–कार्यकर्ता सडकमा चहलपहल गरिरहेका थिए । नाचगान, प्रचार र भेटघाटले तिनलाई उत्साह थपिरहेको देखाउँथ्यो ।
भदौ अन्तिम साताका घटनामा सत्ताबाट लघारिएका प्रधानमन्त्रीको दलका कार्यकर्तामा यति छिटै देखिएको उत्साह र भएको सहभागिताले एमाले नेपाली राजनीतिमा आउने दिनहरूमा पनि सान्दर्भिक रहने छ भन्ने कुरालाई पुष्टि गर्छ । एमाले नेतृत्व र पार्टी दुवैका लागि यसको सकारात्मक प्रभाव पर्ने कुरा चैं निश्चित छ । यसका लागि एमाले र त्यसका नेता, कार्यकर्तालाई बधाई ।
प्रतिक्रिया 4