२९ मंसिर, काठमाडौं । एमालेको ११ औं महाधिवेशनका प्रतिस्पर्धात्मक हुने भएपछि अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरूको प्यानल बनाउन केही दिन अघि नै गृहकार्य गरिरहेका थिए । त्यही गृहकार्यबाट तयार भएको उम्मेदवारहरूको एउटा प्रस्तावित नामावली सोमबार बिहानै बाहिर आयो ।
जुन नामावलीमा प्रदीप ज्ञवालीको नाम उपाध्यक्ष पदका लागि प्रस्तावित थियो । उनी महासचिव पदका आकांक्षी थिए । तर ओलीले अहिलेकै महासचिव शंकर पोखरेललाई अघि सार्ने भएपछि ज्ञवालीले ओलीलाई उनकै निवास गएर भेटे र प्रस्तावित उम्मेदवारी नदिने आफ्नो निर्णय सुनाए ।
सुरुमा प्रस्तावित नामवलीको सूचीमा रहेका दुई लेखराज भट्ट र भानुभक्तको नाम ओलीले फेरबदल गरे । अहिले नै सचिव रहेका भट्टलाई दोहोर्याउने प्रस्ताव गरिएको थियो । यता अहिले पदाधिकारी नै नरहेका भानुभक्त ढकाललाई एकपटक उपमहासचिव बनाउने तयारी थियो । यो कुरामा भट्टले असहमति जनाएपछि ओलीले भट्ट र ढकालका लागि प्रस्तावित पद हेरफेर गरिदिए ।
तर ओलीले प्रस्तावित उपाध्यक्षको पदमा नजाने ज्ञवालीको मागको भने सुनुवाइ गरेनन् । शंकर पोखरेललाई नै महासचिव बनाउने अन्तिम निर्णय लिए । केपी ओलीको यी निर्णयमाथि प्रदीप ज्ञवालीले सोमबार ‘मौन विद्रोह‘ गरेका छन् ।
लामो समयदेखि ओलीलाई साथ दिँदै आएका ज्ञवालीले यसपटक उनले भनेको मानेनन् । स्वाभाविक रूपमा महासचिव हुने अडानको पक्षमा उभिए । र उनले सुरुदेखि नै ओलीलाई भन्दै आएको वचन पूरा गरे- म महासचिवको उम्मेदवार नहुने भएँ भने कुनै पनि पदाधिकारीको पदमा बस्दिनँ, केन्द्रीय सदस्यको रुपमा मात्र पार्टी रहन्छु ।’
उनले अपरान्ह उम्मेदवारी दिने समय घर्किन लाग्दा भृकुटीमण्डप पुगेर केन्द्रीय कमिटी सदस्यको रूपमा मात्र उम्मेदवारी हालेर फर्केका छन् । त्यसपछि उनी करिब चुपचाप बसेका छन् ।
निकट र अत्यन्तै विश्वास पात्र रहेका ज्ञवालीले जाहेर गरेको यो भद्र असहमतिले एमालेको जारी ११ औं महाधिवेशनका क्रममा ओली समूहमा हलचल ल्याएको छ । महाधिवेशनको सम्भावित परिणामहरूमा पनि केही बदलाव आउनसक्ने आंकलन पनि भइरहेको छ ।
ओलीका निकै विश्वास पात्र मानिने ज्ञवालीले किन मौन विद्रोह गर्ने अवस्था आयो ? ओली समूहकै नेताहरूका अनुसार ज्ञवालीले हरेक राजनीतिक घटनाक्रमहरूमा ओलीको रक्षाकवचको रूपमा उभिँदै आएका थिए ।
उनका राजनीतिक दस्तावेजहरू तयार गर्नेदेखि ओलीमाथि पार्टी बाहिरबाट उठ्ने प्रश्नहरूको पनि उनी बचाउ गर्थे । राजनीतिक योगदानको रूपमा पनि शंकर पोखरेल भन्दा आफ्नै अझै लामो योगदान थियो भन्ने उनको दाबी थियो ।

तर अवसरका दिने सवालमा विगतमा शंकरभन्दा केही पछि पारेकाले अहिले शंकरलाई नदोहोर्याएर आफूलाई एकपटक कार्यकारी भूमिकाको पदमा बसेर काम गर्न दिनुस् भन्ने प्रस्ताव गरेका थिए ।
लुम्बिनी प्रदेशका उनी निकट एक नेताका अनुसार यो विषयमा ज्ञवालीले करिब आधा दर्जन पटक ओलीसँग छुट्टाछुट्टै संवाद पनि गरेका थिए । भेटका क्रममा ओलीले हुन्न कहिल्यै भनेका थिएनन् । काम गर्दै जाने हो भन्ने जवाफ दिने गरेका थिए । तर ज्ञवालीले यसपटक चाहिँ आफ्नै निर्णय नबदलिने र महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने आफ्नै अडान दोहोर्याएका थिए ।
तर, सोमबार उम्मेदवारी दिने बेलामा ओलीले ज्ञवालीलाई उपाध्यक्षमा ल्याएर पोखरेललाई नै महासचिव बनाउने निर्णय गरे । ज्ञवालीको प्रस्ताव चाहिँ पोखरेललाई माथिल्लो पदमा अपग्रेड गर्दा उनको पनि सम्मान हुने भन्दै पोखरेललाई त्यहाँ लैजान भनेका थिए ।
पार्टीभित्र महाधिवेशन भइरहँदा अध्यक्ष र महासचिव दुवै कार्यकारी पदमा उही व्यक्ति दोहोरिने भएपछि महासचिवको औचित्य नहुने धारणा राख्नेहरू पनि ओली समूहमै थिए । विष्णु पौडेल र शंकर पोखरेलको क्षेत्रगत रूपमा गुटबन्दी छ । पृथ्वी सुब्बा गुरुङले पनि आफैं महासचिवमा दाबी गरिरहेका थिए ।
संस्थापन इतर पक्षले पनि मजबुत उम्मेदवार खडा गर्न खोजिरहेका बेला पार्टीका सबै खेमासँग समदूरीको सम्बन्ध रहने भएकाले ज्ञवालीका लागि जित सहज हुने धारणा पनि ओली निकटकै नेताहरूले राखेका थिए ।
तर ओलीले पार्टीभित्रको संकट सामना गर्नका लागि अहिलेको समूह मिलेर अघि बढ्नुपर्ने भन्दै आफ्नै निर्णय सुनाए । महासचिवको उम्मेदवारी दिएपछि शंकर पोखरेलले पनि यस्तै अभिव्यक्ति दिएका छन् ।
‘आफू हुँदा मात्रै संकटको सामाना गर्न सक्ने अर्को उस्तै खालको नेता हुँदा संकट सामना गर्न नसक्ने भन्ने खालको व्याख्याले नेताहरूको भूमिकाको अवमूल्यन हुन्छ’ ओली समूहमै रहेका एक नेताले भने ।
ओलीसँगको निकटताका हिसाबले ज्ञवाली पाँचौं महाधिवशेनपछि नै शंकर जत्तिकै नजिक थिए । ज्ञवालीले आठौं महाधिवेशन सचिवमा उम्मेदवारी दिन खोजेका थिए । तर त्यसबेलामा विष्णु पौडेल र शंकर पोखरेललाई ओलीले अघि बढाए । त्यो बेलामा उनले ओलीको भनाइ मानेर छोडेका थिए । नवौं महाधिवेशनमा ज्ञवाली सचिवका उम्मेदवार बने । शंकर पोखरेल उपमहासचिवका उम्मेदवार थिए । उनले उपमहासचिव पदमा जित्न सकेनन् ।

माओवादीसँगको एकतापछि बनेको नेकपामा ओलीले विष्णु पौडेललाई महासचिव बनाइएको थियो । तर नेकपा विभाजन भएपछि एमालेको दशौं महाधिवेशनमा पौडेल नै महासचिवका आकांक्षी थिए । तर ओलीले चितवनमा भएको महाधिवेशनमा शंकर पोखरेललाई अघि बढाउने निर्णय गरेका थिए । त्यसबेला ओलीले ज्ञवालीलाई उपमहासचिव पदमा ल्याए । तर ज्ञवालीले त्यसबेला पनि महासचिवमा भित्रि रूपमा दाबी गरेका थिए ।
प्रदीप ज्ञवीलले अहिले महासचिव पद दाबी गर्नुको पछाडि उनले पार्टीभित्रकै अन्य समूह र राष्ट्रिय राजनीतिमा बाहिर निर्माण गरेको छवि पनि हो । त्यही छविको बलमा उनी महासचिव दाबी गर्ने अवस्थामा पुगेका हुन् ।
प्रदीप ज्ञवालीलाई चिनाउने विशेषता उनको सौम्य छवि हो । चर्को भाषण, आक्रामक राजनीतिक र तत्काल प्रतिक्रियाभन्दा उनी विचार, तर्क र शालीन प्रस्तुतिका लागि परिचित छन् । यद्यपि नेतृत्वको बचाउमा उभिँदा केही घटनाक्रमहरूमा उनको आलोचना नै नभएको चाहिँ होइन । तर आम रूपमा उनको छवि सौम्य छ ।
उनले ओलीका निकट र भरोसायोग्य नेताकै रूपमा काम गरेका छन् । पार्टीभित्र ओलीका निर्णयहरूमा केही विमति राखे पनि बाहिर उनले बचाउ गर्छन् । तर ओलीप्रतिको निष्ठा, नजिकको सम्बन्ध भएपनि यसपटक उनले आफ्नै अपेक्षाअनुसार ओलीबाट महासचिव पदका लागि विश्वास पाएनन् । त्यसैले मौन विद्रोह गरे ।
ज्ञवालीको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । वामपन्थी विचारप्रति आकर्षण, संगठन निर्माणमा रुचि र वैचारिक बहसमा गहिरो चासोले उनलाई एमाले राजनीतिमा स्थापित गरायो । उनी सधैं पार्टीभित्र सिद्धान्तका कुरा गर्छन् । साहित्यक जगतमा ‘शीतविन्दू’ नामले चिनिने उनी भाषालाई मिठो लवजमा प्रस्तुत गर्न माहिर छन् । त्यसैले ओलीका राजनीतिक दस्तावेजहरूको लेखनीमा उनका कलम चलेका छन् ।
सांसद हुँदा पनि उनका भाषणहरू तथ्यपूर्ण र सन्तुलित हुन्थे । परराष्ट्रमन्त्री भएका बेला उनले खेलेको भूमिका पनि आलोचनात्मक रहेन । यही कुरालाई उनले ‘दिएको जिम्मेवारी कहाँ पुरा गरेको छैन ?’ भन्दै ओलीसमक्ष आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

संसद् विघटनदेखि अहिले जेनजी आन्दोलनबाट बहिर्गमन हुँदासम्म ज्ञवालीले राजनीतिक रुपमा यी घटनाक्रमको व्याख्या गर्ने गरेका छन् । यस्तो व्याख्या गर्दा उनीमाथि सार्वजनिक मञ्चमा ओलीको बचाउ गरेको भन्दै अन्धभक्तको आरोप पनि लागेको छ । तर उनी यो आरोप चिर्दै पार्टीको काममा सक्रिय थिए । उनले यो बीचमा स्कुल विभाग प्रमुखको भूमिकामा पार्टीका सैद्धान्तिक प्रशिक्षण पनि चलाएका थिए ।
वैचारिक पकड, संगठनात्मक अनुभव र सार्वजनिक स्वीकार्यताको हिसाबले पनि आफ्नो आयतन बढेको उनले ठानेका थिए । तर उनैलाई अहिले ओलीले विश्वास गरेनन् । यो ज्ञवालीको व्यक्तिकेन्द्रित भावनात्मक प्रतिक्रिया मात्र होइन शालीन प्रतिरोध हो । कतिपयले यसलाई ज्ञवालीको व्यक्तिगत महत्वाकांक्षा भने पनि ओली समूहभित्र उनको यो असन्तुष्टि अर्थपूर्ण छ । उनको यो प्रतरोध ओली इतर समूहका लागि सुखद खबर पनि हो ।
प्रतिक्रिया 4