News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ ले करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ।
- जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले गाउँमा सरकारी सेवा विस्तार भएको बताए।
- भवन निर्माणमा कुल २ करोड ४९ लाख ७६ हजार १ सय ४३ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।
२९ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ ले स्थानीय सरकार स्थापना भएको करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले संयुक्त रूपमा वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरे ।
यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो । नयाँ भवन निर्माणसँगै सेवा प्रवाह सहज, प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रेष्ठले जनयुद्ध, गणतन्त्र स्थापना र त्यसपछिका राजनीतिक परिवर्तनकै कारण गाउँ–गाउँमा सरकारी सेवा विस्तार सम्भव भएको बताए । ‘पहिले सिंहदरबार काठमाडौँमा सीमित थियो, अहिले गाउँमै सरकार पुगेको छ,’ उनले भने ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले नयाँ भवन सेवा सुधारको आधार भएको बताए । ‘यो भवन भौतिक संरचना मात्रै होइन, सुशासनतर्फको एक महत्वपूर्ण कदम हो,’ उनले भने ।

गाउँपालिकाले सबै वडामा प्रशासनिक तथा सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको दाबी छ । उनले मध्यपहाडी राजमार्ग छेउमा रहेको वडा नम्बर १ को प्रशासनिक भवन चार महिना अघि उद्घाटन भइसकेको र पालिकाभित्रका नौ वडामध्ये दुई वडामा पक्की संरचना निर्माण सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार बाँकी वडाहरूले पनि आफ्नै संरचनाबाट सेवा दिइरहेका छन् ।
उपाध्यक्ष सबिना बुढा मगरले वडा कार्यालयको आफ्नै भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासको महत्वपूर्ण उपलब्धि भएको बताइन् ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता रुपधन कामीले जनयुद्ध र शहीदहरूको बलिदानकै कारण गाउँ–गाउँमा सरकारी संरचना पुगेको उल्लेख गरे ।
वडा अध्यक्ष संगम रोकाले लामो समयको प्रतीक्षापछि आफ्नै भवन पाउन सफल भएको भन्दै यसले प्रशासनिक कामकाजलाई थप सहज बनाउने विश्वास व्यक्त गरे ।
वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने ढोटे रोका, धनलाल रोका, वसन्त रोका, फर्के रोका, उजेलसरी रोका, जंगे रोका र संगम रोकालाई गाउँपालिकाले कदरपत्र प्रदान गरी सम्मान गरेको छ ।
भवन निर्माणका लागि शुभम निर्माण सेवा कम्पनीसँग २०८० माघ २६ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०८२ माघ २६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदारले एक महिना अघि नै भवन निर्माण सम्पन्न गरेको छ ।
नेपाल सरकार र भूमे गाउँपालिकाको समपुरक बजेटअन्तर्गत कुल २ करोड ४९ लाख ७६ हजार १ सय ४३ रुपैयाँ लागतमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया 4