+
+
Shares
मधेश :

रामआशिषको फड्को : शिक्षक, पत्रकार हुँदै सभामुख

रामआशिष २०५० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बागदेवी माध्यमिक विद्यालय, ज्याम्दीमा अंग्रेजी शिक्षक थिए । अढाइ वर्ष शिक्षण पेसामा संलग्न रहेपछि उनी पत्रकारितातर्फ आकर्षित भए । अहिले सभामुख जिते ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ पुष ६ गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टीका रामआशिष यादव ७२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
  • रामआशिष यादव धनुषा-२ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् र जसपाका प्रमुख सचेतक हुन्।
  • शिक्षक, पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय यादवले महागंगा आरती सुरु गरी पर्यटकीय गन्तव्य विकास गरेका छन्।

६ पुस, जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव निर्वाचित भएका छन् । आइतबार (आज) बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत यादव सभामुख निर्वाचित भएका हुन् ।

मत विभाजन गर्दा उनको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको छ । प्रदेशसभा बैठकमा जम्मा ९६ सांसद उपस्थित थिए । सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले गरेका थिए ।

प्रदेशसभामा बहुमत ५४ भन्दा बढी मत ल्याएका यादवलाई सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले निर्वाचित भएको घोषणा गरिन् ।

सुरुमै यादवको प्रस्ताव बहुमतले पारित भएपछि सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकीप्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुख बनेका यादव धनुषा-२ (ख)बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए । अब उनी मधेशको नीति निर्माण हुने प्रदेशसभाको सभामुख पदमा पुगेका छन् ।

शिक्षक र पत्रकारिताबाट राजनीतिक नेतृत्वसम्मको यात्रा तय गरेका यादवको जन्म २०२६ साल चैत १५ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७, साविक कनकपट्टी गाविसमा भएको हो । उनी स्वर्गीय रामलखन यादव र दौलतिया देवीका १० सन्तानमध्ये कान्छा छोरा हुन् । कृषक पेसामा संलग्न उनका बुबाका ९ छोरा र १ छोरी थिए ।

स्नातक तहसम्म अध्ययन गरेका रामआशिष यादव २०५० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बागदेवी माध्यमिक विद्यालय, ज्याम्दीमा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत रहे ।

करिब अढाइ वर्ष शिक्षण पेसामा संलग्न रहेपछि उनी पत्रकारितातर्फ आकर्षित भए । २०५४ सालमा रेडियो नेपालका धनुषा संवाददाताका रूपमा काम सुरु गरे । २०६० सालमा पुनः शिक्षण पेसामा फर्किएका यादव जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा शिक्षक बने ।

सँगसँगै उनले पत्रकारिता पनि अघि बढाए । गोरखापत्र राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट, इमेज टेलिभिजन र जनकपुर टुडे जस्ता सञ्चारमाध्यममा संवाददाताको रूपमा काम गरे । उनी जनकपुरबाट प्रसारण हुने जनकपुर एफएम, तहल्का नेपाल र जनकपुर टीभीका संस्थापकसमेत हुन् । यद्यपि, पत्रकारितालाई निरन्तरता दिएपछि उनले शिक्षण राम्ररी नगरेको टिप्पणी हुने गरेको छ ।

शिक्षक र पत्रकार दुवै क्षेत्रमा सक्रिय यादव २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष निर्वाचित भए । अध्यक्षको कार्यकालको अन्त्यतिर उनले जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागरको सरसफाइ गर्ने अठोट लिए ।

सरसफाइ अभियानको नेतृत्व गरेर यादव नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शैक्षिक संस्था, पत्रकार महासंघ, क्लब तथा नागरिक समाजसँगको सहकार्यमा प्रत्येक शनिबार महासरसफाइ अभियान अघि बढाए ।

प्रदूषित गंगासागर नियमित सरसफाइले स्वच्छ र सफा भयो । गंगासागरको पूर्ण सरसफाइ भएपछि यादवले पर्यटन प्रबर्द्धन गर्न संस्कृतिको रूपमा २०७१ सालमा महागंगा आरतीको सुरुवात गरे । जहाँ प्रत्येक साँझ अहिले पनि महागंगा आरती हुन्छ । यो जनकपुरधामको पर्यटकीय गन्तव्यसमेत बनेको छ ।

महागंगा आरतीको सुरुवातसँगै रामआशिष यादव वातावरण संरक्षण अभियानमा सक्रिय भए । यही अभियानमा क्रियाशील रहँदै उनी २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरे । धनुषा-२ (ख) बाट फोरमका तर्फबाट उम्मेदवार बनेका यादव विजयी भए ।

भद्र र शालिन स्वभावका यादव २०७९ सालमा सोही क्षेत्रबाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए । प्रदेशसभामा उनले सामाजिक मुद्दाहरूलाई मिहिन र प्रभावकारी ढंगले उठाउँदै आएका छन् भने नियमित रूपमा बैठकमा सहभागी हुने सांसदका रूपमा चिनिन्छन् । यही सक्रियता र भूमिकाका कारण उनी दुई पटक प्रदेशसभाबाट उत्कृष्ट सांसदको सम्मान प्राप्त गर्न सफल भए ।

२०७९ को निर्वाचनपछि यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता पदका उम्मेदवार बनेका थिए । यद्यपि, पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई व्याक गरे । तत्कालीन निवर्तमान सभामुख सरोजकुमार यादव संसदीय दलको नेता बने । उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइयो ।

दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित यादवले आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएका छन् । वातावरण संरक्षण र सामाजिक क्षेत्रमा पुर्‍याएको सकारात्मक योगदानका कारण उनले विभिन्न सम्मानबाट पनि सम्मानित छन् ।

वातावरण संरक्षण सम्मान, नेपाल स्रष्टा सम्मान तथा भारतको दरभंगाबाट प्रदान गरिएको मिथिला विभूति सम्मानलगायत विभिन्न पुरस्कार तथा सम्मान उनले प्राप्त गरेका छन् ।

उदाहरणीय कामको प्रशंसासाँगै केही आलोचनासमेत उनले खेप्नु परेको छ । साथै उनीमाथि जनकपुरमा राजनधानी मै आफ्नो घरमा बसे पनि प्रदेशसभाबाट घर भाडा बुझ्ने गरेको भन्दै नैतिक प्रश्नसमेत उठ्ने गरेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?