७ पुस, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले नागरिकहरूमा सन्त्रास रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफल उनले यस्तो बताएका हुन् । ‘नागरिकमा सन्त्रास छ । यसबाट मुक्ति पाउनुपर्छ अनि निर्वाचन हुन्छ’ श्रेष्ठले भने ।
उनले सरकारले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्ने र सन्त्रास हटाउन भूमिका खेल्नुपर्ने बताए ।
छलफलमा नागरिक समाज, जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका अधिकारीहरू, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीलगायतको सहभागिता छ ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ का लागि तोकिएको छ । उक्त निर्वाचनको तयारी र सुरक्षाको सन्दर्भमा सरकारले सर्वपक्षीय छलफल राखेको हो ।
गृहमन्त्रालयका अनुसार निर्वाचनसँग सम्बन्धित चार वटा ऐन संशोधनको गृहकार्य भइराखेको छ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर जिल्ला मतदान गराउने, नो भोटको प्रावधान राखने कार्यलाई कानुनद्धारा नै सम्बोधन गर्न खोजिएको छ ।
विदेशमा रहेका नेपालीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको अधिकार दिन खोजिएको छ । अन्तर निर्वाचन क्षेत्रबाट मतदानमा प्रत्यक्ष र समानुपातिक दुवैमा मतदान गर्न पाउने गरी कानुनी प्रावधान राखेर मस्यौदा गरिएको छ । नो भोटको विषयमा पनि कानुन बनाएर लागू गर्न खोजिएको छ ।
यी लगायतका विषयमा सरकारले सरोकारवाला पक्ष, नागरिक समाजका अगुवा, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरूसँग सुझाव मागेको छ । सर्वपक्षीय छलफल जारी छ ।
प्रतिक्रिया 4