८ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ ।
मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख र उपप्रमुख मतदाता छन् ।
प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १/१ प्रदेश सांसद छन् ।
मतभारमा कांग्रेस अगाडि छ । त्यसपछि एमाले छ । तेस्रोमा जसपा नेपाल छ । चौथोमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी छ । तर, कांग्रेस, एमाले र जसपा नेपालको तुलनामा निकै पछाडि छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा ठूला दलबीच एक्ला एक्लै प्रतिस्पर्धा हुने हो भने पनि साना दलको साथ अनिवार्य छ । जसमा जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, जनमत, लोसपा लगायतका दलहरू निर्णायक हुनेछन् ।
| दल | प्रदेश | स्थानीय तह | कुल मतभार |
| एमाले | २५ | ५७ | २४०८ |
| कांग्रेस | २२ | १०२ | ३१०४ |
| जसपा नेपाल | १९ | ५१ | १९२३ |
| जनमत | १३ | ३ | ७४६ |
| लोसपा | ९ | २४ | ९३३ |
| माओवादी | ९ | १८ | ७६६ |
| एकीकृत समाजवादी | ७ | ११ | ५८० |
| नाउपा | १ | ५३ | |
| राप्रपा | १ | ५३ | |
| संघीय समाजवादी | १ | ५३ | |
| तमलोपा | १ | १९ | |
| विवेकशिल साझा पार्टी | २ | ३८ | |
| स्वतन्त्र | ३ | ३७५ | |
| जम्मा | १०७ (मतभार ५६७१) | २७२ (मतभार ५१६८) | १०,८३९ |
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ ।
मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/रउजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।
पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता चाहनलेलाई समय दिने, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् ।
माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिक्रिया 4