News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय काठमाडौंले डा. अरुण शाहीको उजुरीपछि वारेसनामा उम्मेदवारी दिएका चिकित्सकहरूलाई निर्वाचनमा सहभागी गराउन निर्देशन दिएको छ।
८ पुस, काठमाडौं । डा. नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनमा वारेसनामा मार्फत उम्मेदवारी दिएका चिकित्सकहरूलाई सहभागी गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । उपाध्यक्ष (बागमती संयोजक) पदमा उम्मेदवारी दिएका डा. अरुण शाहीको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो ।
डा. शाहीले आफूलाई नियमविपरीत रूपमा निर्वाचनबाट वञ्चित गराइएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । उनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले वारेसनामा मार्फत उम्मेदवारी दिएकाहरूलाई सहभागी गराउन निर्देशन दिएको हो ।
मनोनयनका दिन विदेशमा रहेका डा.शाहीले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गरेका थिए । तर निर्वाचन समितिले यो वैध नभएको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो।
प्रशासनले चिकित्सक संघलाई पुस ५ गते पठाएको पहिलो पत्रमा निर्वाचन प्रक्रिया रोक्न र ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । एनएमए निर्वाचन नियमावली २०७० विपरीत अतिरिक्त सर्तहरू राखेर लोकतान्त्रिक प्रक्रियालाई प्रभावित गरेको आरोप डा.शाहीको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज पठाएको दोस्रो पत्रमा नियमावलीअनुसार तोकिएको समयसीमाभित्र वारेसनामा वा मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएकाहरूलाई निर्वाचनमा सहभागी गराउन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4