+
+
Shares

सामाजिक सञ्जालमा एआई निर्मित सामग्री छ्याप्छ्याप्ती, चिन्ने कसरी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १८:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली डिजिटल स्पेसमा एआई निर्मित डिपफेक र नक्कली सामग्रीले गलत सूचना फैलाउन थालिसकेको छ।
  • एआईले बनाएका फोटो, भिडियो, अडियो र टेक्स्टमा विशिष्ट त्रुटिहरूले तिनीहरूलाई पहिचान गर्न सकिन्छ।

राम्रो पक्ष, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले डिजिटल स्पेसमा क्रान्ति ल्यायो । नराम्रो पक्ष, एआईको चरम दुरुपयोग हुन थाल्यो । गलत जानकारी दिन, भीड भड्काउन अथवा घटनालाई बङ्ग्याउन नेपाली डिजिटल स्पेसमा एआईलाई प्रयोग गर्न थालिसकिएको छ । जसले गर्दा अहिले सामाजिक सञ्जाल ‘डिपफेक’ र एआई निर्मित नक्कली सामग्रीले भरिन थालेको छ ।

त्यस्ता सामग्रीहरू यति वास्तविक देखिन्छन् कि, सामान्य प्रयोगकर्ताले सजिलै भेद छुट्याउन सक्दैनन् । गलत सूचना र भ्रमबाट बच्न एआई निर्मित र वास्तविक सामग्रीबिच फरक छुट्याउनु गाह्रो हुँदै गइरहेको छ । तर, केही कुराहरूमा ध्यान दिँदा र टुल्स प्रयोग गर्दा त्यो भेद फेला पार्न सकिन्छ ।

मुख्यत: एआई निर्मित सामग्रीलाई चार प्रकारमा बाँड्न सकिन्छ ।

१. फोटो

२. भिडियो

३. अडियो

४. टेक्स्ट

मानव निर्मित सामग्री र एआई सिर्जित सामग्री कसरी चिन्ने त ?

१. फोटो

केही समयअघिसम्म एआईबाट बनाइएका फोटोहरूमा असाध्यै धेरै गल्ती हुन्थे । ती हेर्नासाथै एआईबाट बनाइएको भनेर बुझिन्थ्यो । तर आजकल फोटो जेनेरेटेड एआई टुल्समा भएको विकासका कारण फरक पहिचान गर्न अलि कुराहरूमा ध्यान दिनुपर्छ । धेरैले जेमिनाई, च्याटजीपीटी, मिड जर्नी, ग्रोक जस्ता टुल्सबाट फोटो तयार पारिरहेका हुन्छन् ।

एआई निर्मित फोटो चिन्ने केही तरिका:

एआईले मानिसको हात, औंला र दाँतको बनावटमा प्राय: गल्ती गर्छ। यदि कुनै पनि फोटोमा अस्वभाविक हात, औंला, दाँत अथवा छालाहरू देखिए, शंका मान्नुपर्छ । एआईले मान्छेको रूप बनाए पनि भौतिक विज्ञानका नियमहरू पालना गर्न बिर्सिन्छ । भन्नुको अर्थ कतै न कतै एआईले बनाउने फोटोहरूमा भौतिक विज्ञानका नियमहरू पालना भइरहेको हुँदैन ।

जस्तो, एआईले प्रायः आँखाको नानीमा देखिने प्रकाशको परावर्तनलाई सही रूपमा देखाउन सक्दैन । वास्तविक तस्बिरमा दुवै आँखामा प्रकाशको प्रतिबिम्ब एकैनासको र सही दिशामा हुन्छ । तर एआई निर्मित तस्बिरमा यो फरक वा बाङ्गो हुन सक्छ ।

एआईले बनाएका फोटोहरूमा चस्मा, झुम्काहरूको आकार फरक-फरक हुन्छ । कपडाका बुट्टाहरू एकातिरबाट अर्कोतिर जाँदा समेत मिल्दैन । फोटोमा भएका साइनबोर्ड, किताब वा कपडामा लेखिएका अक्षरहरू अस्पष्ट, विकृत वा अर्थहीन हुन्छन् । नेपाली अक्षर त झनै किरिङमिरिङ देखिन्छ ।

एआईले बनाएका फोटोहरूमा छाला अत्यधिक चिल्लो वा एयरब्रश्ड जस्तो, दाग बिनाको, प्रकाश र छाया नमिलेको जस्तो देखिन्छन् । वास्तविक छालामा कोठी, स-साना छिद्र, चाउरी, दाग हुन्छन् । एआईले बनाएका अनुहारहरू भने ‘प्लास्टिक’ जस्तै चिल्ला र चम्किला देखिन्छन् । प्राय: फोटोको कुनामा कुन एआई टुल्स प्रयोग गरेर बनाइएको छ, तिनको लोगो हुन्छ । धेरै जसोमा ती असाध्यै सानो अथवा अदृश्य जस्तो देखिन्छन् ।

२. भिडियो

एआईको सहयोगमा बनाइएका भिडियोहरू चिन्न पनि माथि दिइएका फोटोका उपायहरू अपाउन सकिन्छ । कतिपयले आजकल एआईले बनाएको फोटोलाई समेत भिडियो बनाउने गर्छन् । यदि त्यसो नगरेको खण्डमा सोझै प्रम्प्ट (एआईलाई दिइने निर्देशन) मार्फत पनि भिडियो बनाउने गर्छन् । धेरैले भिओ, क्लिङ, रनवे जस्ता टुल्स प्रयोग गरी भिडियो बनाइरहन्छन् ।

एआई निर्मित भिडियो चिन्ने केही तरिका:

एआईबाट बनाइएका भिडियोहरूमा पात्रहरूको भावना कमजोर हुन्छ । जस्तो, आँखा निकै कम झिम्क्याउँछ । अनुहार अधिक चिल्लो हुन्छ । माइक्रोएक्सप्रेसनहरू हुँदैन ।
ओठ र आवाजको तालमेल (लिपसिन्क) मिलेको हुँदैन । बोल्दा ओठको हलचल र आवाजमा थोरै पनि ढिलाइ वा गडबड हुन्छ ।

स्वर धोद्रो, रोबोटिक अथवा असामान्य सुनिन्छ । रोबोटको जस्तै हुन्छ । वातावरणको आवाज हुँदैन । भिडियोको गुणस्तरहीन, कम रिजोलुसन अथवा कम्प्रेस गरिएको हुन्छ । गल्तीहरू लुकाउन जानाजानी कम गुणस्तरको बनाइएको हुन्छ ।

भिडियोहरूमा अस्वभाविक गतिविधि असाध्यै धेरै देखिन्छ । जस्तो, पात्रहरू हराउने । कुनै पनि वस्तुहरूको रङ परिवर्तन हुने । अनावश्यक हर्कत गर्ने ।
तुलनात्मक रूपमा एआई भिडियोहरूको कलर मिलेको हुँदैन । स्थान अस्वभाविक हुन्छन् । घाम र छायाको तालमेल मिलिरहेको हुँदैन । कतिपय अवस्थामा टेक्स्ट र लोगोमा गडबड भएको हुन्छ ।

३. अडियो

एआईले बनाएका भिडियोहरू चिन्ने तरिकाबारे त हामीले चर्चा गरिसकेका छौं । अडियो पनि हामीले त्यसरी नै पत्ता लगाउन सक्छौं । यद्यपि अहिले गीतहरू बनाउनमा समेत एआई प्रयोग हुन थालेको छ । सुनो, नोटबुक एलएलएम, इलेभेन ल्याब्स जस्ता टुल्स प्रयोग गरिरहेका हुन्छन् ।

एआई निर्मित अडियो थाहा पाउने केही तरिका:

आवाज एकै किसिमको रहन्छ । भावनात्मक परिवर्तन कम हुन्छ । अर्थात् एकै तरिकाले स्वरलाई उकालो-ओरालो गर्ने मात्र हुन्छ । गीतमा स्वर अनौठो ठाउँमा रोकिन्छ । अथवा श्वासप्रश्वास अस्वाभाविक हुन्छ । गीतका शब्दहरूको उच्चारण बिग्रिएका हुन्छन् । आवाज भद्धा सुनिन्छ । डिजिटल टोन महसुस हुन्छ । अनि उच्चारणमा गडबड हुन्छ ।

४. टेक्स्ट

तुलनात्मक रूपमा एआई टेक्स्टले ‍समाजलाई त्यति दिग्भ्रमित पारिरहेको छैन । तर, एआई टेक्स्ट पनि जताजतै देखिन थालेको छ । विशेषत: अङ्ग्रेजीका लागि एआई टेक्स्ट व्यापक प्रयोग भइरहेका छन् । च्याटजीपीटी, जेमिनाई, कोपाइलट, ग्रोक जस्ता टुल्स टेक्स्ट तयार पार्न अधिक प्रयोग हुन्छन् ।

एआई टेक्स्ट चिन्ने केही तरिका:

धेरैजसो वाक्यहरू एकै लम्बाइका, समान संरचना वा एकै किसिमले सुरु हुन्छन् ।अनुच्छेदभर क्लिचे वा दोहोरिरहने फ्रेजहरू हुन्छन् । एआईले लेखेको टेक्स्टमा कम विविधता हुन्छ । मान्छेको लेखाइमा छोटा लामा वाक्य मिसिएका हुन्छन्, तर एआईमा एकै किसिमको हुन्छन् ।

एआईको लेखाइमा गहिराइको कमी हुन्छ । सतही जानकारी, कुतर्क हुन्छन् ।

माथि उल्लेखित विधिबाहेक एआई सामग्री चिन्ने प्राविधिक पक्ष पनि छन् । यदि कुनै पनि फोटो/भिडियो, अडियो वा टेक्स्ट पहिचान गर्न असाध्यै गाह्रो भए प्रविधि प्रयोग गर्न सकिन्छ । त्यसमा सजिलो विधि रिभर्स इमेज सर्च वा टिनआई जस्ता टुल्स प्रयोग गर्ने हो ।

त्यसमा कतिपय सञ्चार संस्थाले फ्याक्ट चेक पनि गरिरहेका हुन्छन् । त्यसबाट समेत समाजमा मिथ्या सूचना फैलाइरहेका एआई सामग्री थाहा पाइन्छन् । त्यसबाहेक ‘वाजइटएआई’, ‘जीपीटी जिरो’ जस्ता टुल्स समेत प्रयोग गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?