+
+
Shares

नागे पोखरी जान ‘घोडा सवारी’को व्यवस्था गर्दै अजिरकोट

जिल्लाको अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरू अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटकका लागि घोडा पर्यटन साझेदारी कार्यक्रम सञ्चालन गर्न लागेको छ।
  • घोडा सवारीका लागि व्यवसायी छनोट गर्न आवेदन मागिएको छ र योग्य व्यवसायीलाई ५० प्रतिशत अनुदान दिइनेछ।
  • कार्यक्रमले पर्यटकीय स्थलसम्मको बाटो स्तरोन्नती र पूर्वाधार निर्माण गरी स्थानीयलाई रोजगारी दिने योजना छ।

८ पुस, गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरू अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ । गाउँपालिकाले पर्यटकको सेवा सुविधाका लागि पालिकाले घोडा पर्यटन साझेदारी कार्यक्रम संचालन गर्न लागेको हो ।

पालिकाको केन्द्र भच्चेक बजारदेखि अजिरकोट डाँडा, नम्की, सिरानडाँडा, नागेपोखरी, दूधपोखरी लगायतका स्थानसम्म घोडा सवारीको व्यवस्था गर्न लागिएको पालिका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।

पर्यटन प्रवर्द्धन मुख्य उदेश्य रहेको उनको भनाइ छ । ‘पालिका आउने पर्यटकलाई लक्षित गरेर नयाँ-नयाँ स्किम जोड्दै लगेका छौँ,’ उनले भने, ‘सोहीअन्तर्गत अहिले घोडा सवारीको व्यवस्था गर्न लागेका हौँ ।’

कार्यक्रममा साझेदार गर्न इच्छुक व्यवसायी, समूह तथा संस्थासँग पालिकाले आवेदन मागसमेत गरिसकेको छ ।

१५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन भनिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए ।

‘आवेदन प्राप्त भएपपछि इच्छुक व्यवसायी र सरोकारवालाहरुसँग बसेर बृहत छलफल गर्छाै,’ उनले भने, ‘कार्यक्रमको दिगोपनाका लागि एउटा मोडालिटी तयार पारेर अघि बढ्छौ ।’ यही बर्षबाट कार्यक्रम लागू हुने उनले जानकारी दिए ।

कार्यक्रम संचालनका लागि कार्यविधि बनेको छ । व्यवसायी छनोटका लागि पन्थीको नेतृत्वमा समिति समेत गठन भएको छ । ‘प्राप्त आवेदनहरुमध्ये व्यवसायी छनोटका लागि एउटा कार्यविधि छ, त्यही आधारमा हामी योग्य व्यवसायी छान्छौँ,’ उनले भने । छनोट भएका व्यवसायीले घोडा खरिदमा पालिकाबाट ५० प्रतिशत अनुदान पाउने उनको भनाइ छ ।

नीति तथा कार्यक्रममा समावेश गरेर पालिकाले यस कार्यक्रमको प्रक्रियाअघि बढाएको हो । कार्यक्रमका लागि यो बर्ष दश लाख रकम विनियोजन भएको पन्थीले बताए ।

कार्यक्रम अन्तर्गत पर्यटकीय स्थलसम्म पुग्ने घोरेटोबाटो स्तरोन्नती र आवश्यक पूर्वाधार निर्माणका काम पनि अघि बढाइने उनले जानकारी गराए । कार्यक्रम संचालन भएसँगै स्थानीयलाई रोजगारीको अवसर समेत मिल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?