१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी बीच आगामी चुनावमा सहकार्य गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । बुधबार ललितपुरको कुपण्डोलस्थित निवासमा भएको पहिलो चरणको छलफल सकारात्मक भएको चौधरीले बताए ।
यद्यपि अन्य ‘धेरै कुरा’ मिल्न बाँकी रहेको भन्दै उनले आगामी दिनमा पनि छलफल जारी रहने बताए । साथै चौधरीले देश जोगाउने नैतिक दायित्व युवा र नयाँ शक्तिहरूको काँधमा आएको बताउँदै बालेनसँगको वैचारिक सामीप्यता सकारात्मक रहेको उल्लेख गरे ।
बालेनसँगको भेटको सन्दर्भमा रेशम चौधरीसँग अनलाइनखबरका लागि विनोद घिमिरेले गरेको कुराकानी :
हिजो बालेनसँगको भेटको सन्दर्भ के थियो ?
हामीबीच समसामयिक राजनीतिका विषयमा छलफल भयो ।
अलि स्पष्ट भनिदिनुस् न, राजनीतिका विषय केके थिए ?
देश गम्भीर संकटमा छ । यसलाई निकास दिन युवा र उदयीमान शक्तिहरुको आवश्यकता छ । त्यसलाई कसरी संयोजन गरेर अघि बढ्ने भन्ने नै हो मुख्य कुरा ।
यो कुरा गर्न बालेनले तपाईंलाई बोलाउनु भयो कि, तपाईंले भेट्न चाहन्छु भनेर समय माग्नुभयो ?
म राजनीतिमा नयाँ शक्तिहरूलाई जोड्ने प्रयासमा जुटिरहेको छु । यसैक्रममा म विभिन्न ठाउँमा पुग्दा, विभिन्न व्यक्तिहरुलाई भेट्दा अधिकांशको सोच वा चाहनाबारे बुझ्ने अवसर पाएँ । उनीहरु पुराना होइन, नयाँ दल, नयाँ नेतृत्व चाहन्छन् । यो कुरा बालेनले पनि राम्रोसँग बुझ्नु भएको छ । मैले बालेनकोबारे र बालेनले मेरोबारे पनि बुझ्ने अवसर मिल्यो सायद । त्यसपछि दुवैको चाहना र अनुकूलतामा भेट्ने अवसर मिल्यो । यसलाई यसैगरी बुझौं न ।
सायद बालेनसँग राजनीतिक सन्दर्भमा तपाईंको पहिलो भेट होला । कस्तो पाउनु भयो बालेनलाई ?
उहाँ स्पष्ट र स्टेट फरवार्ड मान्छे हो । र अर्को कुरा देशको भद्रगोल अवस्थाले उहाँ निकै चिन्तित पाएँ । पुरानाबाट अब चल्दैन, हामी नयाँले केही गरौं भन्ने छ उहाँमा । नयाँ शक्तिहरू एक हुनुपर्छ भन्नेमा बालेन र मेरो समान धारणा र बुझाइ रह्यो ।
आगामी चुनावबारे बालेनको भनाइ के थियो ?
देशको वर्तमान राजनीतिक संकट टार्न नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको कुरा भयो । देशभरका युवाहरुको चाहना पनि यही हो । राजनीतिमा मिलेर देशलाई निकास दिऔं, जनअपेक्षा पूरा गरौं भन्ने कुरा भयो । सारमा चुनावमा मिलेर जाऔं, देश बनाऔं भन्ने नै हो ।
चुनावमा जाँदा बालेनसँग कुन मोडालिटीमा जाने ? एकता वा सहकार्य वा अरु कुनै विधिबारे कुरा भयो ?
हाललाई एकताभन्दा पनि सहकार्यको विषयमा प्रारम्भिक छलफल भएको छ । म पनि राजनीतिमा मिलेरै अगाडि बढ्नुपर्छ भनेर नयाँ शक्तिहरू जोड्ने क्रममा छु । त्यसबारे आगामी दिनमा थप छलफल होला ।
तपाईंको राजनीतिको अलग पृष्ठभूमि छ । बालेन अलग पृष्ठभूमिबाट अघि बढिरहनु भएको छ । यहाँ तालमेलको संगती कसरी मिल्छ ?
हो म राजनीतिमा रहरले भन्दा पनि परिस्थितिले आएँ । जबसम्म पुरानो कपडा तपाईं आफ्नो जिउबाट उतार्नु हुन्न । तबसम्म नयाँ कपडा लगाउन पाउनु हुन्न नि । नयाँ कपडाको अनुभव नगरे चाडपर्व कसरी आउँछ ? चाडपर्व नै नआए उत्सवको अनुभव कसरी गर्नुहुन्छ ? अनि उत्सवसँगै जोडिएको पीडा हुन्छ हैन र ? त्यसैले आगामी निर्वाचनमा कसैले नसोचेको परिणाम ल्याउन हामी प्रयासमा छौं । नयाँ त आउँछ आउँछ । अब आउने शक्ति चाहिँ फरक धारको हुनेछ, फरक प्रकृतिको हुनेछ र देशलाई निकास दिने छ ।
जेनजी आन्दोलनपछि दलहरु फुट्ने, जुट्ने, सहकार्य गर्ने जस्ता गतिविधि भइरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
पुरानाबाट अब काम चल्दैन । उनीहरु जुट्दा होस् वा फुट्दा होस्, त्यसले नयाँ र युवा पुस्ताहरुलाई पनि एक ठाउँमा आउन सहयोग गरिरहेको छ । नेपालको राजनीतिमा नयाँ वैकल्पिक शक्तिहरूको मोर्चाबन्दी हुन सक्ने स्पष्ट संकेत दिएको छ । यद्यपि, नयाँ शक्तिहरुबीच सहकार्यको ठोस स्वरूप कस्तो हुने भन्नेबारे भने थप बसाइ आवश्यक छ ।
आगामी चुनावलाई लिएर तपाईंको पार्टीको तयारी चाहिँ कस्तो छ ?
हामीले आन्तरिक तयारी गरिरहेका छौं । आगामी चुनावमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी अगाडि बढाएका छौं । यसक्रममा विचार मिल्ने शक्तिहरुसँग तालमेल सहकार्य गर्नपरे त्यसमा छलफल गर्न पनि खुला छौं ।
प्रतिक्रिया 4