+
+
Shares

बालेन आबद्ध हुने भनिएको पार्टीले अगाडि सार्‍यो ‘हाइब्रिड’ विचारधारा

पार्टी विधानको प्रस्तावनामै समेटियो जेनजी आन्दोलन

बालेन आबद्ध हुने भनिएको देश विकास पार्टीले परम्परागत साम्यवादी वा पूँजीवादी समाजवादभन्दा भिन्न दक्षता (योग्यता) र सामाजिक न्यायलाई सँगै लैजाने ‘हाइब्रिड’ विचारधारा अगाडि सारेको देखिन्छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष १२ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देश विकास पार्टीले २०८२ मा आफ्नो नाम परिवर्तन गरी नयाँ विधानमा समावेशी सहभागितामूलक सेवामुखी योग्यतावादी समाजवादलाई आफ्नो विचारधारा बनाएको छ।
  • पार्टीले शासनलाई शक्ति केन्द्रित नभई सेवा केन्द्रित बनाउने र योग्यतालाई नेतृत्वको आधार बनाउने प्रतिबद्धता जनाएको छ।
  • देश विकास पार्टीका अध्यक्ष सन्ध्या खनाल नेतृत्वमा २१ केन्द्रीय सदस्य छन् र पार्टीले २०७९ को जेनजी आन्दोलनलाई आफ्नो विधानमा समावेश गरेको छ।

१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी भनेर चर्चामा रहेको पार्टी हो– देश विकास पार्टी । २९ असार २०७९ मा निर्वाचन आयोगमा दर्ता हुँदा यो पार्टीको नाम ‘हाम्रो नेपाली पार्टी’ थियो ।

४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनमा यो पार्टीले बागमती प्रदेश सभामा दुई सांसद जित्यो । यही पार्टीको नाम फेरिएर २०८२ मा देश विकास पार्टी बनेको हो ।

पार्टी दर्ता हुँदा यो पार्टीको नेतृत्वमा अनन्तराज घिमिरे थिए । हालै उनी नेतृत्वमा छैनन् र अध्यक्षमा सन्ध्या खनाल आएकी छन् । लौरो चुनाव चिह्न रहेको खनाल नेतृत्वको पार्टीमा बाँकी २१ जना केन्द्रीय सदस्य छन् ।

३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन नेपालको संघीय राजधानी काठमाडौं महानगरको मेयरमा निर्वाचित भए । काठमाडौं शहर बनाउने सपना देखाएर चुनाव जितेका बालेन पछिल्लो समय मुलुककै नेतृत्वमा पुग्ने चाहनामा देखिन्छन् ।

भलै, बालेन अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीसँग सहकार्य वा एकताका लागि सघन वार्तामा छन् । त्यसैले बालेनले हाम्रो नेपाली पार्टीबाटै राजनीति गर्ने निश्चित नभए पनि उनीसँग नाम जोडिएको पार्टी कस्तो होला, त्यसले मान्ने विचारधारा र नीतिहरू के होलान् भन्ने चासो हुनु स्वाभाविकै हो ।

निर्वाचन आयोगमा पेश गरिएको कागजातअनुसार, पछिल्लो समय देश विकास पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यको विवरणसँगै पार्टीको विधानमा समेत हेरफेर गरेको छ ।

पार्टीको विधान २०८२ को प्रस्तावनामा भनिएको छ, ‘सार्वभौम नेपाली जनतामा प्रदत्त समान विचारधाराका नागरिकले राजनीतिक दल बनाउन पाउने अधिकारको प्रयोग गर्दै देश विकास पार्टी दल गठन भएको हो ।’

पार्टीले विधानमै गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन पनि उल्लेख गरेको छ । प्रस्तावनामा भनिएको छ, ‘२०८२ साल भाद्र २३ गतेबाट कुशासन र भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको मर्म बमोजिम देशको सुदृढ विकास तथा सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्नका लागि ऐक्यबद्ध रही यो देश विकास पार्टीको विधान लेखी आत्मसाथ गरेका छौं ।’

पार्टीले विधानमा समाजवादलाई अपरिवर्तनीय स्थायी मूल्यहरूमध्ये एक भनेको छ । ‘नेपालको इतिहासमा भएका विभिन्न आन्दोलन र सहिदहरूको बलिदानको उच्च सम्मान गर्दै नागरिक सर्वोच्चता, सार्वभौमिकता, भौगोलिक अखण्डता, मौलिक हक अधिकारको पूर्ण संरक्षण र समाजवादलाई हाम्रो पार्टीले अपरिवर्तनीय स्थायी मूल्यहरूको रुपमा स्वीकार गर्दछ,’ विधानमा भनिएको छ ।

पार्टीले मान्ने समाजवादको थप व्याख्या गर्दै विधानमा भनिएको छ, ‘पार्टीको मूल सिद्धान्त समावेशी सहभागितामूलक सेवामुखी योग्यतावादी समाजवाद हुनेछ ।’ यही सिद्धान्तमा टेकेर पार्टीले न्याया, सीप र जनसहभागितालाई राष्ट्र निर्माणको आधार बनाउने विधानमा उल्लेख छ ।

पार्टीले विधानमा शासक बन्ने भन्दा राज्यलाई जनताको सेवक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विधानमा भनिएको छ, ‘यो पार्टीको उद्देश्य एक यस्तो राष्ट्र निर्माण गर्नु हो, जहाँ शासन शक्ति संग्रह गर्ने केन्द्र नभई नागरिक चेतनाको साझा संयन्त्र बन्नेछ, जहाँ राज्य जनताको सेवक हो, मालिक होइन ।’

देश विकास पार्टीले सुशासन र स्वशासनको माध्यमबाट राष्ट्रको स्वाभिमानको रक्षा र समृद्धिको नेतृत्व गर्ने उल्लेख गरेको छ ।

समावेशी लोकतन्त्रको अवधारणा अगाडि सारेको पार्टीले अगाडि भनेको छ, ‘देश विकास पार्टीको नजरमा शक्ति, विचार र मूल्यहरू परस्पर निर्भर रहन्छन् । राज्यको सक्षमता, यसका जनताको प्रत्यक्ष–परोक्ष समावेशी सहभागितामा निहित हुन्छ र शासन पद्धति शक्ति सञ्चय गर्ने नभई सहभागितालाई बलियो बनाउँदै सुलभ बनाउन क्रियाशील रहनुपर्छ ।’

कानुनको शासनले नियमहरूको पालनलाई मात्रै नभई न्याय, उत्तरदायित्व र आत्म–संयमको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने पार्टीको धारणा रहेको छ ।

‘प्रत्येक नागरिक केवल मतदाता होइन, सह–निर्माता हो । प्रत्येक श्रम राष्ट्रको धड्कन हो, प्रत्येक विचार परिवर्तनको स्रोत हो भन्ने हाम्रो धारणा हो’ पार्टी विधानमा भनिएको छ, ‘यो पार्टी एक लोकतान्त्रिक, समाजवाद तथा योग्यतामा आधारित, सहभागी र समावेशी राजनीतिक संगठन हो, जसको केन्द्रविन्दु नागरिकको सशक्तीकरण, शासनमा पारदर्शिता र अवसरमा समानता हो ।’

पार्टीको प्रमुख चरित्र  सहभागितामूलक, समावेशी, प्रगतिशील, उदार, सहिष्णु र अग्रगामी रहने विधानमा उल्लेख छ ।

के हो योग्यतावादी समाजवाद ?

समावेशी सहभागितामूलक सेवामुखी योग्यतावादी समाजवादलाई देश विकास पार्टीको विचारधाराकै रूपमा व्याख्या गरेको छ ।

यसको व्याख्या गर्दै विधानमा भनिएको छ, ‘यस विचारधाराले यस्तो समाजको परिकल्पना गर्छ जहाँ प्रत्येक नागरिक राष्ट्रको समान अंग हो । शासन सहभागी फ्रक्रियाबाट सञ्चालन हुन्छ र शक्ति सेवाको माध्यमका रूपमा प्रयोग गरिन्छ । यहाँ समावेशिता न्यायको प्रारम्भ हो, सहभागिता लोकतन्त्रको आत्मा हो, सेवा नै नेतृत्वको धर्म हो र योग्यताको सम्मान नै विकासको आधार हो ।’

यसको व्याख्या गर्दै अगाडि भनिएको छ, ‘हाम्रो समाजवाद राज्य केन्द्रित मात्रै नभई मानव केन्द्रित समेत छ । उत्पादन, सम्पत्ति र अवसरको वितरण सामाजिक हितमा निर्देशित हुन्छ ।’

नागरिक चेतना र सामाजिक न्यायमा आधारित प्रस्ताव गरेको प्रणालीले प्रत्येक व्यक्तिलाई योगदान र नेतृत्वका लागि समान अवसर दिन खोज्ने र यसबाट शासन कसैको प्रभुत्व र अधिनता नबनेर केवल सह(निर्माण र साझा उत्तरदायित्वको माध्यम बन्न सक्ने पार्टीको परिकल्पना छ ।

यो विचारधारालाई देश विकास पार्टीले राजनीतिक दर्शन र समाजशास्त्रको समिश्रण भनेको छ । ‘यसलाई लोकतन्त्र र योग्यता केन्द्रित शासन बीचको समन्वय भनी बुझ्नुपर्छ । समावेशिता तथा सहभागिताको सिद्धान्तलाई आत्मसाथ गर्दै, हरेक नागरिकलाई योग्य बनाउनका निम्ति, सभ्यता विकास गर्ने संरचनाको रूपमा देशलाई रुपान्तरण गर्ने यस सिद्धान्तको मुख्य भूमिका रहन्छ,’ विचारधारा बारे व्याख्या गर्दै भनिएको छ ।

लोकतन्त्रले सबैलाई बोल्ने अधिकार दिने र योग्यताले तिनै आवाजहरूलाई देश विकासका लागि छनोट गर्ने चेतना दिने पार्टीको विश्वास रहेको छ । ‘जब शासन केवल शक्ति केन्द्रित हुन्छ, त्यसले आफ्नो नैतिकता हराउँछ। तर जब शासन सहभागिता र योग्यतामा आधारित हुन्छ, त्यस्तो शासन एक आध्यात्मिक अभ्यास बन्छ । शक्ति जिम्मेवारी बिना अशुद्ध हुन्छ र जिम्मेवारी योग्यता बिना दिशाहीन हुन्छ,’ प्रस्तावनामा भनिएको छ ।

योग्यता केवल प्रतिस्पर्धाको मापन नभएर चेतनाको स्तर रहेको र यसले क्षमता, विवेक र करुणा एकैसाथ उपस्थित हुने देश विकास पार्टीले अगाडि सारेको सैद्धान्तिक-वैचारिक अवधारणामा उल्लेख छ ।

देश विकास पार्टीले योग्यतामा आधारित समाजवादको व्याख्या गर्दै भनेको छ, ‘योग्यता त्यो बिन्दु हो जहाँ ज्ञान शासनसँग मिल्छ र सेवा सत्ताभन्दा माथि रहन्छ। समावेशी सहभागितामूलक सेवामूखी योग्यतावादी समाजवादको दर्शन बमोजिम शासनको शुद्धता त्यतिबेला मात्र सम्भव छ, जब प्रत्येक निर्णय ज्ञान, सेवा र न्यायको संयोजनबाट जन्मिन्छ ।’

देश विकास पार्टीका अनुसार, यो दर्शनले परिकल्पना गरेको शासन व्यवस्थामा देश विकासमा भाग लिने अधिकार सबैलाई रहे पनि नेतृत्वको जिम्मेवारी योग्यलाई दिइन्छ । ‘योग्यले साशन गर्ने तर शासकको नैतिक स्थान भने निरन्तर मूल्यांकन हुने हुन्छ,’ विधानमा भनिएको छ, ‘यो दृष्टिले समाजमा मूल्य र योगदानलाई पुनःपरिभाषित गर्छ।’

पार्टीले सत्ताको अधिकार दायित्वपरक हुने र जनसेवालाई नेतृत्वको मापदण्ड बनाउने उल्लेख गरेको छ । दलको सञ्चालन व्यवस्थापन लोकतान्त्रिक, समावेशी, स्वच्छ, विश्वसनीय र व्यवस्थित बनाइने विधानमा उल्लेख गरिएको छ ।

‘हाइब्रिड’ विचारधारा

बालेन आबद्ध हुने भनिएको देश विकास पार्टीले परम्परागत साम्यवादी वा पूँजीवादी समाजवादभन्दा भिन्न दक्षता (योग्यता) र सामाजिक न्यायलाई सँगै लैजाने हाइब्रिड विचारधारा अगाडि सारेको देखिन्छ ।

यसमा खासगरी शासन सञ्चालनको जिम्मा र नेतृत्वको जिम्मेवारी ुयोग्यताु भएका व्यक्तिलाई दिइने योग्यतातन्त्रलाई अगाडि सारिएको छ । यहाँ योग्यतालाई केवल प्रतिस्पर्धाको मापन मात्र नभई क्षमता, विवेक र करुणाको समिश्रण मानिएको छ।

विविधतापूर्ण नेपाली समाजको नेतृत्व गर्न समावेशी र सहभागितामूलक लोकतन्त्रमार्फत् सबै नागरिकको शासन प्रक्रियामा प्रत्यक्ष सहभागिता रहने व्यवस्थाको परिकल्पना पार्टीले गरेको छ ।

सत्तालाई शक्ति अभ्यास नभई सेवाको साधनका रूपमा उल्लेख गर्दै भनिएको छ, ‘नेतृत्वको धर्म नै सेवा गर्ने हुनेछ ।’

यो विचारधाराले राज्य-केन्द्रित नभएर मानव-केन्द्रित शासन व्यवस्थाको अवधारणा अगाडि सारेको छ । यसलाई उत्पादन र अवसरको वितरण सामाजिक हितमा निर्देशित गरेर सुनिश्चित गर्ने उल्लेख छ ।

शक्तिलाई जिम्मेवारी र योग्यतासँग जोड्दै शासनलाई अध्यात्मिक अभ्यास जस्तै शुद्ध बनाउने प्रतिबद्धता विधानमा व्यक्त गरिएको छ ।

राजनीतिक आदर्शभन्दा बढी नतिजा, दक्षता र योग्य व्यक्तिको नेतृत्वमा विश्वास गर्ने संकेत देश विकास पार्टीले गरेको छ । विधानले लोकतन्त्र र योग्यता केन्द्रित शासनबीच समन्वय खोज्ने प्रयास गरेको देखिन्छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?