१२ पुस, काठमाडौं । निरन्तर संवादमा रहेका काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको वार्ता अवरुद्ध बन्न पुगेको छ ।
बिहीबार र शुक्रबार निरन्तर वार्तामा रहेका उनीहरूबीच ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङलाई समेत समेटेर अघि बढ्नेबारे छलफल चलिरहेको थियो ।
आज (शनिबार) वार्तालाई निर्णायक मोडमा पुर्याउने भनिए पनि संवाद हुन सकेको छैन । बालेन–रवि छलफलको तारतम्य मिलाइरहेको स्रोतले दिएको जानकारी अनुसार, शनिबार उनीहरूबीचको वार्ता टेलिफोन सम्पर्कमा मात्रै सीमित बन्न पुगेको छ ।
‘केही घण्टालाई वार्ता अवरुद्ध नै छ । बालेन, रवि र कुलमानबीच अहिले टेलिफोन वार्ता मात्रै जारी छ,’ उक्त स्रोतले अनलाइनखबरसँग भन्यो ।
रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफल गरेर संख्या तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।
तर, बालेनले समानुपातिक र आफू कुलमान र जेनजीसहित गरेर ५० प्रतिशत र रास्वपाबाट ५० प्रतिशत हुनेगरी अघि बढ्नुपर्ने बताएको उक्त स्रोत दाबी गर्छ ।
रविले भने ६०–४० मै अघि बढ्नुपर्ने अडान दोहोर्याइराखेका छन् । ‘तपाईंलाई प्रधानमन्त्री र मपछिको वरियताको कुरा भनेको नै छु, अहिलेलाई यति गरेर एकता गरौं,’ बालेनसमक्ष रविले राखेको भनाइ उद्धृत गर्दै उक्त स्रोतले भन्यो ।
अझै ६०–४० पनि भन्न नपर्ने भए नभनि अघि बढ्नुपर्ने बताए । स्रोतले दिएको जानकारी अनुसार, दोस्रो चरणमा कुलमानलाई इन्ट्रि गर्न रविले पटकपटक बालेनसँग आग्रह गरेका छन् ।
तर, बालेनले भने कुलमान र जेनजीलाई छाडेर अहिलेको परिस्थितिमा अघि बढ्न नसकिने उनले बताए । ‘कुलमानलाई कसरी मिलाउनुपर्छ भन्ने मेरो हो, तर सँगै लिएर जाऔं, जेनजीलाई पनि छुटाउन हुँदैन,’ बालेनले रविलाई भनेका छन् ।
स्रोतका अनुसार, रविसँग एकताको प्रक्रिया अघि नबढेको खण्डमा समानुपातिक सूची बुझाउनेगरी काम भइसकेको छ । बालेनका कोर टिमका सदस्यले भने, ‘यो प्रक्रिया (एकता) अघि नबढेको खण्डमा हामी समानुपातिक सूची तयार पारेर बसेका छौं ।’
बालेनकै सल्लाहमा निर्वाचन आयोगमा ‘देश विकास पार्टी’ दर्ता भइसकेको छ । सोही पार्टीको नाममा समानुपातिक सूची बुझाउने तयार रहेको उक्त स्रोतको दाबी छ ।
रास्वपा र कुलमानसँगको संवादलाई समानान्तर रुपमा अघि बढाउने र जेनजीलाई पनि सँगै लाने तरखरमा बालेन रहेको र केही प्रक्रियागत कुराहरू नमिलेको बालेनको टिममै बसेर काम गरिरहेका एक सदस्यले भने ।
शनिबार निर्णायक वार्ता हुन नसकेपछि कुलमानको पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले पनि रास्वपाकै प्रस्तावमा आपत्ति जनाएको छ ।
विशेषगरी रास्वपाले अघि सारेको प्रस्तावमा सो पार्टीका नेताहरूको असहमति छ । ‘पार्टी सभापति, प्रधानमन्त्री, पार्टीको नाम, चुनाव चिन्ह सबै छाडेर त हामी कसरी एकतामा जान सक्छौं,’ उज्यालो पार्टीका एक नेता भन्छन् ।
यता, बालेन शाहका स्वकीय सचिव भूपदेव शाह पनि परस्पर सम्मानको आधारमा वार्ता अघि बढाउनुपर्ने बताउँछन् ।
‘हाम्रा समानताका र परस्पर सम्मानको आधारमा वार्ता अघि बढाउने हो,’ शाहले अनलाइनखबरसँग भने, ‘यसअघि विभिन्न एजेन्डामा छलफल भए पनि परस्पर समान सहभागीताको कुरा अलि कम भएको थियो । त्यो कुरा समेत समावेश गर्दै छलफल अघि बढाउँदैछौं ।’
यो वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन नेताहरू छलफलमै रहेको उनले बताए ।
प्रतिक्रिया 4