News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुरमा नेसोग बागमती च्याप्टर र नेशनल प्याथ ल्याबको संयुक्त आयोजनामा इन्डोमेट्रियल क्यान्सरको निदान र उपचारबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
१३ पुस, काठमाडौं । इन्डोमेट्रियल क्यान्सरको निदान र उपचारबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार चितवनको भरतपुरमा यस क्यान्सरको निदान र उपचारमा भएका प्रगति विवरणबारे छलफल आयोजना गरिएको हो । नेसोग बागमती च्याप्टर र नेशनल प्याथ ल्याबको संयुक्त आयोजनामा भएको कार्यक्रममा गरिएको थियो।
कार्यक्रमको प्रमुख वक्ताका रूपमा आमन्त्रित डा. जुली चौधरीले इन्डोमेट्रियल क्यान्सरको उपचारमा विश्वव्यापी रूपमा भएका नयाँ अनुसन्धान र प्रगतिहरूबारे प्रस्तुति राखिन् । उनले क्यान्सरको जोखिम कारक, प्रारम्भिक निदानको महत्व, सर्जिकल उपचारका आधुनिक विधि, रेडियसन थेरेपी, केमोथेरापी तथा इम्युनोथेरापीका नयाँ विकल्पहरू र लक्षित औषधिहरू (टार्गेटेड थेरेपी)का बारेमा जानकारी गराएकी थिइन्।
स्त्री रोग विशेषज्ञ डा. लोकबहादुर सेढाईंले यस्ता सिएमई तथा नलेज सेयरिङ कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा देशभरका ५० भन्दा बढी स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको उपस्थिति रहेको थियो।

सहभागी चिकित्सकहरूले इन्डोमेट्रियल क्यान्सरको बढ्दो जोखिम, विशेषगरी मोटोपन, मधुमेह र हर्मोन असन्तुलनसँग जोडिएका पक्षहरूमा गहन छलफल गरेका थिए । नेपालमा यो क्यान्सरको घटना बढ्दै गएको सन्दर्भमा प्रारम्भिक पहिचान र आधुनिक उपचारको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमको अर्को महत्वपूर्ण सत्रमा नेशनल प्याथ ल्याबका ल्याबका प्रमुख तथा प्याथोलोजिस्ट डा. जीवन अधिकारीले नेक्स्ट जेनेरेशन सिक्वेसिङ (एनजीएस) प्रविधिमा आधारित इन्डोमेट्रियल क्यान्सरको जीन प्यानल परीक्षणबारे विस्तृत जानकारी दिएका थिए ।
यो प्रविधिले क्यान्सरको जेनेटिक म्युटेसन पहिचान गरेर उपचारको दिशा निर्धारण गर्न मद्दत गर्छ ।
डा. अधिकारीका अनुसार ललितपुरस्थित नेशनल प्याथ ल्याबको अत्याधुनिक प्रयोगशालाले विगत एक वर्षदेखि फोक्सो क्यान्सर, ब्रेन ट्युमर, इन्डोमेट्रियल क्यान्सरलगायत ३० भन्दा बढी प्रकारका जेनेटिक प्यानल परीक्षण सेवा प्रदान गर्दै आएको छ ।
यो सुविधाले नेपाली बिरामीलाई विदेश जानुपर्ने बाध्यता घटाउँदै व्यक्तिगत उपचारको अवसर प्रदान गरेको उनले जानकारी दिए ।
सहभागी चिकित्सकहरूले यस्ता कार्यक्रमले ज्ञान आदान-प्रदान र नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने बताएका थिए । स्त्री रोग विशेषज्ञ डा. लोकबहादुर सेढाईंले यस्ता अन्तरक्रियात्मक कार्यक्रम नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिँदै चिकित्सकहरूलाई निरन्तर अपडेट र अपग्रेडेसनका लागि आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4