News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका विशेष महाधिवेशनका मागकर्ताले नियमित महाधिवेशन नहुँदा अब विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन्।
- केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनका लागि २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाइएको र संख्या बढ्ने दाबी गरेका छन्।
- विशेष महाधिवेशनको एजेण्डा लिएर मागकर्ताहरू निर्वाचन आयोगमा पनि जाने तयारीमा छन्।
१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशनका मागकर्ताले नै विशेष महाधिवेशन आह्वान गर्ने उक्त पक्षले जानकारी गराएको छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका केन्द्रीय सदस्य मधु आचार्यले तोकिएको समयमा नियमित महाधिवेशन हुने सम्भावना टरेको बताउँदै मागकर्ताले विशेष महाधिवेशन आह्वान गर्ने बताए ।
नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्ने नियतले ल्याइएको बताउँदै आचार्यले अनलाइनखबरसँग भने,‘केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन सक्नेछ । केन्द्रीय समितिले पनि बोलाउने देखिदैन । अब मागकर्ताले विशेष महाधिवेशन आव्हान गर्छौ ।’
कांग्रेस पुनर्जागरणका लागि विशेष महाधिवेशन अत्यावश्यक बनेको उनले बताए । विशेष महाधिवेशन मागका लागि प्रस्ताव पेस गरेको पुस २८ गते तीन महिना पुग्दछ । नियमित महाधिवेशन २६ देखि २८ पुसमा हुन नसकेको अवस्था त्यही समय विशेष महाधिवेशन आव्हान गरिने आचार्यले बताए ।
विशेष महाधिवेशनले नै त्यसको लागि कार्यविधि तय गर्न सक्ने उल्लेख गर्दै केन्द्रीय सदस्य आचार्यले भने,‘पहिलो सेसनबाट आवश्यक कार्यविधि बनाउन सकिन्छ । त्यही कार्यविधि अनुसार विशेष महाधिवेशन सम्पन्न गर्न सकिन्छ ।’
विशेष महाधिवेशनका लागि २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ । उक्त संख्या थप बढ्ने विशेष महाधिवेशन पक्षधरको दाबी छ ।
विशेष महाधिवेशनको एजेण्डालाई लिएर मागकर्ताहरू निर्वाचन आयोग समक्ष पनि जाने भएका छन् । बहुमत प्रतिनिधिले हस्ताक्षर गरेर माग अनुसार नयाँ समिति चयन भए/नभएको जानकारी पार्टीबाट माग्नका लागि निर्वाचन आयोगमार्फत जान लागिएको विशेष महाधिवेशन पक्षधरले बताएका छन् ।
प्रतिक्रिया 4