१७ पुस, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् ।
झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलामा निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल र मधेशी महिलामा बिना शाह महतो रहेका छन् ।
समानुपातिक तर्फको बन्दसूची बुझाउने समय यही पुस १३ र १४ गते थियो । एमालेले निर्धारित समयमै गएर बन्दसूची बुझाएको थियो ।
एमालेले ११० जनाकै नाम दिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फको निर्वाचन र १६५ जना प्रत्यक्ष तर्फको निर्वाचनबाट निर्वाचित हुन्छन् ।
प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुनेछ ।
समानुपातिक तर्फका उम्मेदवारको सन्दर्भमा भने निर्वाचन आयोगले प्राप्त बन्दसूची उपर छानबिन सुरु गरेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार ‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे/नरहेको हेर्ने कार्य जारी छ ।’
उनका अनुसार आयोगले आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ । प्रवक्ता भट्टराई भन्छन्, ‘अध्ययन पश्चात २० गते नै हामी दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्छौं । त्यसपछि उहाँहरुले मिलाएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’
आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।
त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।
आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।
माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।
आयोगको तालिका अनुसार आगामी माघ २० गते हिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिक्रिया 4