+
+
Shares

मुसहर समुदायबाट पहिलो डाक्टर बन्ने यात्रामा पवन : छात्रवृत्तिमा नाम निकाले, होस्टेल खर्चको चिन्ता

मधेशको सबैभन्दा पिछडिएको मुसहर समुदायबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाउने पवनदेव सम्भवतः पहिलो व्यक्ति हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १३:३७

१७ पुस, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबीबीएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर इतिहास रचेका छन् ।

मधेशको सबैभन्दा पिछडिएको मुसहर समुदायबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाउने २२ वर्षीय पवनदेव सम्भवतः पहिलो व्यक्ति हुन् ।

कडा मिहिनेत र लगनशिलताले सफलता हात लाग्दा उनी उत्साहित त छन्, तर विपन्न आर्थिक अवस्थाका कारण मनमा चिन्ता र चुनौती पनि थपिएको छ ।

पवनदेवको परिवार आर्थिक रूपमा निकै कमजोर छ । उनका ६० वर्षीय बुबा शिवनारायण माझी विगत १४ वर्षदेखि कतारमा मजदुरी गरिरहेका छन् ।

‘बुबाले विदेशमा पसिना बगाएर कमाएको पैसाले नै घरको गुजारा चलेको छ । उहाँकै मिहिनेतले म यहाँसम्म आइपुगेको हुँ,’ पवनदेव भन्छन्, ‘बुबा वृद्ध हुनुभयो, उताबाट पठाउने रकमले घर चलाउने कि मेरो पढाइ खर्च धान्ने ? ६ वर्षको होस्टेल खर्च कसरी जुटाउने भन्ने चिन्ता छ ।’

शिवनारायणको नाममा ५ धुरमा बनेको एउटा सानो पक्की घर र दुई कठ्ठा जग्गा मात्र छ । आमा सिर्जना माझीले घरधन्दा सम्हाल्दै अर्काको खेतमा अधिया खेती र ज्याला–मजदुरी गरेर परिवारलाई साथ दिइरहेकी छिन् । पवनदेव आफैँ पनि पढाइसँगै आमालाई सघाउन कहिलेकाहीँ मजदुरीमा जाने गर्थे ।

युट्युबको सहायताले तयारी

पवनदेवले २०७७ सालमा गोगल प्रसाद नमुना माविबाट एसईई र २०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे । उनका हजुरबुबा र बुबाको पवनदेवलाई ‘हेल्थ असिस्टेन्ट’ (एचए) बनाउने थियो, किनकि गाउँमा एचएलाई नै ‘डाक्टर’ भनिन्थ्यो । तर उनको लक्ष्य ठूलो थियो– वास्तविक चिकित्सक बन्ने ।

आर्थिक अभावका कारण नामी कोचिङ सेन्टर धाउन सक्ने अवस्था थिएन । उनले घरमै बसेर युट्युबको सहयोगमा स्वअध्ययन गरे । पहिलो पटकको परीक्षामा नाम निस्किएन, तर उनले हिम्मत हारेनन् ।

२०८१ सालमा विभिन्न पाँच विधामा परीक्षा दिए र एमबीबीएस बाहेक सबैमा नाम निकाले । बीडीएस पढ्न काठमाडौं गए पनि उनको मन मानेन । अन्ततः ऋण काढेर कोचिङ कक्षा लिएपछि तेस्रो प्रयासमा (२०८२ सालमा) उनले एमबीबीएस र बीडीएस दुवैमा पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल भए ।

भर्ना हुन पनि संघर्ष

एमबीबीएसमा नाम त निस्कियो, तर भर्ना प्रक्रियाकै लागि ७५ हजार रुपैयाँ आवश्यक पर्यो । विपन्न परिवारका लागि यो ठूलो रकम थियो ।

पवनको भर्ना खर्च जुटाउन मुसहर समुदायका अगुवा पचु माझीको पहलमा सामाजिक सञ्जालमार्फत आर्थिक संकलन गरियो । विभिन्न व्यक्तिहरूको सहयोगबाट एक लाख रुपैयाँ जुट्यो । त्यही पैसाले उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए ।

१५ लाखको चुनौती र सरकारसँग गुहार

पवनदेव एमबीबीएस भर्ना त भए तर समस्या अझै सकिएको छैन । आगामी ६ वर्षसम्म लाग्ने होस्टेल शुल्क, किताब–कापी र अन्य विविध खर्च गरी करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको उनी बताउँछन् । बुबाले विदेशबाट महिनाको २० हजार रुपैयाँ जति मात्र घर पठाउन सक्छन्, जसले घर खर्च चलाउनै धौ–धौ हुन्छ ।

पवनदेव भन्छन्, ‘बुबाको सीमित आम्दानीले यति ठूलो खर्च धान्न सकिँदैन । यदि सरकार र सहयोगी मनहरूबाट थोरै–थोरै सहयोग प्राप्त भए मेरो डाक्टर बन्ने सपना पूरा हुने थियो ।’ चिकित्सक बनेर आफ्नो पिछडिएको समुदायको उत्थान गर्ने अन्तिम लक्ष्य रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?