१७ पुस, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले महामन्त्रीहरूले गर्ने गतिविधि पार्टी विभाजनमा जानेखालको हुन नहुने बताएका छन् ।
महामन्त्रीहरूले नियमित महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशनको तयारी गरेको वक्तव्य जारी गरिसकेपछि संस्थापन (सभापति शेरबहादुर देउवा)निकट उनले अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘महामन्त्रीहरू कांग्रेसको नेता होइन देशकै नेता हुने सम्भावना छ,’ उनले भने, ‘उहाँहरूले गर्ने गतिविधिले पार्टी विभाजन नहोस् पार्टी विभाजनतिर गयो भने त्यसले उहाँहरूलाई, पार्टीलाई, लोकतन्त्रलाई र देशलाई सबैलाई नोक्सान हुन्छ ।’
कांग्रेसको नियमित महाधिवेशन असम्भव भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले माग गरेअनुसारको विशेष महाधिवेशन बाध्यकारी भएको बताउँदै त्यसको तयारी गरिरहेका छन् ।
सोहीअनुसार महामन्त्री थापा राजनीतिक प्रतिवेदन लेख्नका लागि काभ्रेको धुलीखेल पुगेका छन् । यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले भोलि सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको विषयमा जानकारी गराउने तयारी छ ।
आजै साँझ ५ बजे देउवालाई भेटेर यसबारे जानकारी गराउने महामन्त्रीद्वयको तयारी भए पनि अन्तिममा पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले छलफल स्थगित भएको जानकारी गराएका थिए ।
शर्मा र थापाले पुस २७-२८ गते कांग्रेस विशेष महाधिवेशन गर्ने गरी तयारी गरेका छन् । विशेष महाधिवेशन पक्षधरले काठमाडौंको भृकुटीमण्डपसमेत भाडाका लागि बुकिङ गरिसकेका छन् ।
कांग्रेसको संस्थापन समूह भने कुनै पनि हालतमा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्ने पक्षमा छैन । नियमित महाधिवेशनको तालिका प्रभावित भइसकेपछि अब फागुनको चुनावलगत्तै महाधिवेशन गर्न उपयुक्त हुने प्रवक्ता डा प्रकाशशरण महतले बताउँदै आएका छन् ।
तर शर्मा र थापाले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि मात्रै चुनावमा होमिनुपर्ने अडान लिइरहेका छन् ।
प्रतिक्रिया 4