तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ७२ वर्ष पूरा भएको छ । उक्त ऐतिहासिक आरोहणमा नेपाली कामदारहरूको महत्त्वपूर्ण भूमिका थियो । साँच्चै भन्ने हो भने उचाइमा काम गर्न सक्ने मानवशक्ति सबै नेपाली थिए । भरिया, भान्सेदेखि पथप्रदर्शक (गाइड) समेत नेपालको उच्च भेग हिमाली क्षेत्रबाट लिइएको थियो । कारण थियो उचाइमा काम गर्न सक्ने विशेष शारीरिक क्षमता । अर्को शब्दमा भन्नु पर्दा पहिलो आरोहण भएको कारण अनुभव, प्रविधि लगायत आधुनिक सुविधा थिएनन् । त्यो आरोहण साहस, शारीरिक क्षमता र शिखर पुग्ने उत्कट आकांक्षाले मात्र सफल भएको थियो ।
विगत सात दशकमा साहसिक यात्रामा धेरै सकारात्मक परिवर्तन भएका छन् । जस्तो– आरोही, पथप्रदर्शक तथा हिमालमा काम गर्नेहरूका लागि सुरक्षा र सुविधा दुवै अब पहुँचयोग्य र सहज हुँदै गएको छ । जोखिम मोलेर आरोहीहरूलाई सुरक्षित शिखर पुर्याउने अनि फेरि आधारशिविर ल्याइपुर्याउने काम गर्न अब निकै सहज भइसकेको छ । यसको कारण हो पर्वतारोहण शिक्षा र सीप ।
गत साता नेपालले २०औं राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक दिवस मनाइरहँदा धेरैको जिज्ञासा थियो– यो दिवस अरू कति जनालाई थाहा छ होला ? सर्वोच्च शिखरको सफल आरोहणको सात दशक बितिसक्दा पनि हिमाल आरोहणमा काम गर्नेहरूका जानकारी वा चासो नै नहुनुले एउटा कुरो स्पष्ट पार्छ कि उनीहरूले लिएको जोखिम र पेशा कसैको चासोको विषय हैन । नेपालले पर्यटनबाट गर्ने भनिएको आम्दानीको मुख्य हिस्सा चाहिं पर्वतारोहणबाट आउँछ । तर यो क्षेत्रप्रति चाहिं किन बेवास्ता भन्ने बुझ्न सकिएन ।
हिमालमा काम गर्ने कुनै नयाँ पेशा–व्यवसाय हैन । सगरमाथाको सफल आरोहणपछि नेपालमा पर्वतारोहण सम्बन्धी गतिविधि बढेसँगै धेरै नेपालीले यस क्षेत्रमा रोजगारी प्राप्त गर्न थाले । अझ त्योभन्दा करिब ५० वर्ष अगाडिदेखि नै नेपालीहरू हिमालमा काम गर्न थालिसकेका थिए भन्ने कुरो प्रमाणित तथ्य हो ।
सन् १८९१ मा अन्तर्राष्ट्रिय सर्वेक्षण टोलीहरूसँग हिमालयन शृङ्खलाको सर्वे गर्न आउने टोलीहरूमा नेपालीहरू काम गर्न थालेका थिए । सन् १९५० को दशकपछि नेपालले औपचारिक रूपमा आरोहण खुला गरेसँगै यस क्षेत्रमा काम गर्ने नेपालीको संख्या उल्लेख्य वृद्धि भयो । तर लामो समयसम्म पनि नेपालीहरू कुनै औपचारिक प्राविधिक शिक्षा विना मात्र आफ्नो मिहिनेत, प्रतिबद्धता, शारीरिक बल र आँटको भरमा काम गरिरहेका थिए ।
पर्वतारोहण सम्बन्धी औपचारिक शिक्षाको शुरुआत
नेपालमा पर्वतारोहण सम्बन्धी औपचारिक शिक्षा भने वि.सं २०३५ तिर मात्र शुरु भयो, जब स्लोभेनियाका स्वर्गीय आलेस कुनाभरले युरोपेली संस्थाहरूसँगको सहकार्यमा नेपाल पर्वतारोहण संघ (नेपसं) मार्फत आधारभूत प्राविधिक तालिमको थालनी गरे । नेपाल विश्वको महत्त्वपूर्ण प्रमुख पर्वतारोहण गन्तव्यका रूपमा स्थापित हुँदै जाँदा त्यही अनुसारको दक्ष जनशक्तिको माग बढ्दै थियो । यसै कारण केही नेपाली गाइडहरू सोही अनुसारको तालिम लिन विदेश गए । यसरी नेपालमा पनि सानो तर सक्रिय दक्ष पर्वतारोहण जनशक्ति निर्माण हुन थाल्यो । यो समूहले नेपालमै पर्वतारोहण तालिम र शिक्षाको विकासका लागि एउटा व्यावसायिक संस्थाको आवश्यकता महसुस गर्यो ।
यही समूहले २०६१ मा स्वर्गीय इमान गुरुङको नेतृत्वमा फ्रान्स, स्लोभेनिया, अष्ट्रिया, स्विट्जरल्यान्ड लगायत देशका संस्था तथा व्यक्तिहरूको सहयोग लिएर नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) को स्थापना गर्यो । स्थापनाकालदेखि नै एनएनएमजीएले हिमालमा काम गर्ने जनशक्तिलाई एकताबद्ध र नेपालमै विश्वस्तरीय गाइड तालिम प्रदान गर्ने काम निरन्तर गरिरहेको छ ।

लामो र कडा परिश्रमपछि २०६९ सालमा एनएनएमजीएले अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक महासंघ (आईएफएमजीए) को आधिकारिक मान्यता प्राप्त गर्दै यसको नेपाल प्रतिनिधि बन्यो । त्यसपश्चात् एनएनएमजीएले नेपालमा ‘आईएफएमजीए गाइड’ कोर्स सञ्चालन गरिरहेको छ । हालसम्म आईएफएमजीए मार्फत १०० भन्दा बढी आईएफएमजीए पथप्रदर्शक अर्थात् माउन्टेन गाइड उत्पादन भइसकेका छन् । आईएफएमजीए भनेको पर्वतारोहण पथप्रदर्शनमा विश्वकै उच्चतम अन्तर्राष्ट्रिय योग्यता हो । नेपालको आईएफएमजीए लाइसेन्स भएपछि गाइडहरूलाई सदस्य राष्ट्रहरूमा रक क्लाइम्बिङ्ग, आइस क्लाइम्बिङ्ग तथा अल्पाइन पर्वतारोहणमा नेतृत्व, प्रशिक्षण र शिक्षण गर्न अनुमति दिन्छ ।
एनएनएमजीएले आफ्नो २०औं वार्षिकोत्सव मनाउँदै गर्दा, विशेषगरी युवा नेपालीमा हाम्रो काम र यस पेशाबारे जनचेतना फैलाउने लक्ष्य राखेका छौं । विश्वभर दक्ष र योग्य नेपाली गाइडहरूको ठूलो माग भए तापनि उपलब्ध गाइडहरूको संख्या एकदम न्यून छ । यसको मुख्य कारण नेपालमै यस्तो तालिम उपलब्ध छ भन्ने बारे सर्वसाधारणलाई त्यति जानकारी छैन र अर्को भनेको धेरै युवाले पर्वतारोहणमा पनि राम्रो भविष्य छ भनेर अनभिज्ञ छन् ।
मेरो आफ्नै आईएफएमजीए गाइडको शुरुआतको कथा पनि यस्तै छ । म गोरखाको लाप्राक गाउँमा जन्मे–हुकेको हुँ । पर्यटन क्षेत्रमा भरियाका रूपमा करिअर शुरु गरेको थिएँ । एक ट्रेकका क्रममा मैले आईएफएमजीए/युआईएजीएम लोगो लगाएका फ्रान्सेली गाइडहरू देखें, जुन मैले पहिले कहिल्यै देखेको थिइनँ । त्यो के होला भनेर मलाई एकदम खुल्दुली भयो । त्यसको अर्थ बुझिसकेपछि म पनि एक दिन उहाँहरू जस्तै बन्ने अठोट राखें । अन्तत: धेरै वर्षको मिहिनेतपछि सन् २०१० मा एनएनएमजीए मार्फत आईएफएमजीए प्रमाणपत्र हासिल गर्न सफल भएँ । यो प्रक्रिया लामो, कठिन र खर्चिलो भए तापनि यसको प्रतिफल कैयौं गुणा उच्च छ । यसले अत्यन्त जोखिमयुक्त हिमालको वातावरणमा चाहिने अत्यावश्यक प्राविधिक दक्षता, नेतृत्व क्षमता र सुरक्षाको ज्ञानले हामीलाई सुसज्जित गराउँछ ।
पथ–प्रदर्शकको उच्च माग
आज आईएफएमजीए नेपाली गाइडहरूको विश्वभर उच्च माग छ । धेरैजसो युरोप, उत्तर अमेरिका र स्क्यान्डिनेभियामा मौसमी रूपमा काम गर्छन्, जसमा हरेक वर्ष करिब १५ जना गाइड नर्वे जाने गर्छन् । सन् २०२५ को सगरमाथाको बसन्त ऋतुमा धेरै कम्पनीले आईएफएमजीए गाइडको माग गरेका थिए । तर माग अनुसारको पथप्रदर्शकहरू पूरा गर्न सकिएन । नेपालमा हिमाल चढ्ने पर्यटकको संख्या बढ्दै जाँदा, सुरक्षाको ज्ञान, विश्वसनीयता र प्राविधिक सीप भएका दक्ष नेपाली गाइडहरूको माग पनि बढ्दो छ ।
गाइडिङ मात्र होइन, एनएनएमजीए सदस्यहरू खोज तथा उद्धार कार्यका साथै प्राकृतिक विपद् जस्ता आपतकालीन अवस्थामा देशका लागि अत्यन्त महत्वपूर्ण जनशक्ति हुन् र हामी यी सबै अवस्थाहरूमा दिनरात नभनी खटिएर आफ्नो कर्तव्य पनि पूरा गरिरहेका छौं । विश्वभर चर्चित बनेको नेपालको ‘लङ–लाइन’ हेलिकोप्टर उद्धार प्रणाली हाम्रै सदस्यहरूले सफलतापूर्वक गरेका रेस्क्यु मिसनहरूबाट विकसित भएको हो । हिमालमा हराएका वा मृत व्यक्तिको सबैभन्दा जटिल र जोखिमपूर्ण खोज तथा उद्धार कार्यमा पनि अन्तिम विकल्पका रूपमा एनएनएमजीए सदस्यहरूलाई नै आह्वान गरिन्छ ।
एनएनएमजीए सदस्यहरू नेपालभरका विभिन्न उमेर समूह र समुदायबाट आएका छन् जस्तै शेर्पा, गुरुङ, तामाङ, राई, भोटे, बाहुन/क्षेत्री लगायत अन्य । महिलाको प्रतिनिधित्व अझै सीमित भए तापनि, संघ समावेशिताप्रति प्रतिबद्ध छ । नेपालका सबैभन्दा सफल पर्वतारोहीहरूमध्ये धेरै आईएफएमजीए गाइड पनि हुन् जसमा अहिलेका चर्चित मिंग्मा ग्याल्जे शेर्पा जो ‘मिंग्मा जी’ भनेर चिनिन्छन् र नेपाल तथा एशियाकी पहिलो महिला आईएफएमजीए गाइड दावा याङ्जुम शेर्पा पर्छन् ।
मिंग्मा जी, जो विश्वभर परिचित छन्, उनले सन् २०१६ मा एनएनएमजीए मार्फत आईएफएमजीए लाइसेन्स प्राप्त गरेका हुन् । उनी विना अक्सिजन १४ उच्च शिखर आरोहण गर्ने पहिलो नेपाली, सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने पहिलो नेपाली तथा ऐतिहासिक पहिलो र एक मात्र के२ हिउँद ऋतु आरोहण अभियानका अगुवा पनि हुन् ।
त्यसैगरी, एनएनएमजीए सदस्य दावा याङ्जुम शेर्पा नेपाल र एशियाकी पहिलो महिला आईएफएमजीए गाइड, १४ उच्च शिखर आरोहण गर्ने पहिलो नेपाली महिला तथा ‘द नर्थ फेस’ र ‘रोलेक्स’ जस्ता विश्वव्यापी ब्रान्डकी पहिलो नेपाली महिला ब्रान्ड एम्बेसडर हुन् । यी दुईसँगै, अहिलेसम्म ४ जना नेपाली आईएफएमजीए गाइडहरूले १४ शिखरको कीर्तिमान हासिल गरिसकेका छन् ।
नेपाल, जापान र किर्गिस्तानसँगै आईएफएमजीए सदस्यता पाएको एशियाका केवल तीन देशमध्ये एक हो । आईएफएमजीए गाइड लाइसेन्स लिन सामान्यतया ५–७ वर्ष लाग्छ र सम्पूर्ण अवधिमा करिब १६–१७ लाख रुपैयाँ खर्च हुन्छ । यसका लागि शारीरिक, प्राविधिक र मानसिक प्रतिबद्धता आवश्यक हुन्छ । योग्य उम्मेदवारहरूका लागि छात्रवृत्तिको व्यवस्था पनि छ ।
गत दुई दशकमा एनएनएमजीएले नेपाली पर्वतीय कामदारहरूलाई सम्मानित, दक्ष र राम्रो पेशाका रूपमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले केवल प्रमाणपत्र मात्र होइन, नेपाली पर्वतीय कामदारहरूको छवि नै परिवर्तन गरेको छ । अशिक्षित र सीप नभएको सघाउने कामदारको छवि परिवर्तन गर्दै नेपाली गाइडहरूलाई विश्वका उत्कृष्ट पर्वतारोही र गाइडहरूसँग काँधमा काँध मिलाएर उभिन सक्ने दक्ष, शिक्षित, सक्षम र विश्वसनीय पेशाकर्मीका रूपमा चिनाएको छ ।
२०औं वार्षिकोत्सवको अवसरमा एनएनएमजीएले पहिलो चोटि ‘रक क्लाइम्बिङ’ लाई चाहिने टोपो म्याप (टोपोग्राफिक म्याप) सार्वजनिक गरेको छ भने काठमाडौं, हात्तीवनस्थित ‘रक क्लाइम्बिङ’ क्षेत्र को लागि हालसालै टोपो/ग्रेडिङ म्याप बनाइएको छ । देशभर थप मार्गहरूका लागि पनि यस्ता नक्शा विकास गर्ने योजना छ । साथै, हिमाल आरोहणमा प्रयोग हुने फिक्स्ड–लाइन डोरी टाँग्ने जानकारीमूलक भिडियो म्यानुअल पनि सार्वजनिक गरिनेछ, जुन सुरक्षा र सफल आरोहणका लागि अत्यावश्यक हुन्छ ।
नेपालको पर्वतारोहण उद्योग सुदृढ बनाउने र देशलाई विश्वस्तरीय आरोहण गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हाम्रो अभियानले सबैको साथ पायो भने शिखर आरोहण तथा पर्यटनमा महत्वपूर्ण योगदान हुनेछ ।
(गुरुङ आईएफएमजीए गाइड तथा नेपाल राष्ट्रिय पर्वतारोहण पथ–प्रदर्शक संघका अध्यक्ष हुन् ।)

प्रतिक्रिया 4