+

प्रधानमन्त्री कार्कीका श्रीमान् अस्वस्थ, अस्पताल भर्ना

२०८२ पुष  २० गते १४:०७ २०८२ पुष २० गते १४:०७

यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । अहिले संक्रमणका कारण रिंगटा लाग्ने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

प्रधानमन्त्री कार्कीका श्रीमान् अस्वस्थ, अस्पताल भर्ना

२० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार, उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा देखिएको हो । ती चिकित्सकले अन्य थप समस्या भने खुलाउन चाहेनन् ।

यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । अहिले संक्रमणका कारण रिंगटा लाग्ने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना भएका हुन् ।

अहिले उनको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनको उपचारबारे चिकित्सकहरूसँग थप परामर्श भइरहेको छ ।

‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनुहुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

किन हुन्छ पिसाबमा संक्रमण ?

मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी र्ट्याक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ ।

चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।

पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ ।

पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।

मुख्य लक्षणहरू :

बारम्बार पिसाब लाग्ने

पिसाब गर्दा पोल्ने वा दुख्ने

पिसाबबाट कडा गन्ध आउने

पिसाब धमिलो देखिने

तल्लो पेट दुख्ने

कहिले बन्छ जटिल ?

चिकित्सकहरूका अनुसार सामान्य यूटीआई समयमै उपचार नगरेमा जटिल बन्न सक्छ । मिर्गौलासम्म संक्रमण पुग्ने ‘अपर यूटीआई’ अवस्थामा मिर्गौलामा स्थायी क्षति हुन सक्छ । सबैभन्दा खतरनाक अवस्था भनेको ‘युरोसेप्सिस’ हो । पिसाबको संक्रमण रगतमा फैलिएर यो अवस्था सिर्जना हुन्छ ।

युरोसेप्सिस भएमा मुटु, कलेजो, फोक्सो लगायत महत्वपूर्ण अंगमा गम्भीर क्षति पुग्न सक्छ र बिरामीको ज्यानै जान सक्ने जोखिम अत्यधिक हुन्छ ।

अस्पताल दुर्गा प्रसाद सुवेदी प्रधानमन्त्री सुशीला कार्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय