+
+
Shares

इरानका १०० सहरमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन, इन्टरनेट र फोन सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते ८:४४

२५ पुस, काठमाडौं । इरानमा विगत दुई सातादेखि महँगीविरुद्ध भइरहेको प्रदर्शनका बीच बिहीबार राति स्थिति थप बिग्रिएको छ। सीएनएको रिपोर्ट अनुसार, प्रदर्शन देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिसकेको छ।

मानिसहरू ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’ भन्दै नारा लगाइरहेका थिए। हाल देशभर इन्टरनेट र फोन सेवा बन्द गरिएको छ। इरानको सरकारी एजेन्सी ‘फार्स’ का अनुसार, तेहरानमा स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका एक प्रहरी अधिकारीको चक्कु प्रहार गरी हत्या गरिएको छ।

हिंसामा हालसम्म ४५ जनाको मृत्यु, राष्ट्रिय झण्डा च्यातियो

देशको दोस्रो ठूलो सहर मशहदमा प्रदर्शनकारीहरूले देशको राष्ट्रिय झण्डा च्यातिदिएका छन्।

अमेरिकी मानव अधिकार एजेन्सीका अनुसार, प्रदर्शनका क्रममा भएको हिंसामा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ भने २,२७० भन्दा बढीलाई हिरासतमा लिइएको छ।

यो प्रदर्शन देशका निर्वासित युवराज रजा पहलवीको अपीलपछि तीव्र भएको हो। रजा पहलवी इरानका अन्तिम शाह मोहम्मद रजा पहलवीका छोरा हुन्। उनका पितालाई सन् १९७९ को इस्लामिक क्रान्ति ताका सत्ताबाट हटाइएको थियो। युवराज पहलवी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्।

ट्रम्पले दिए इरानलाई धम्की

यस अशान्तिका बीच अमेरिकी राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरूलाई मारियो भने अमेरिकाले इरानमाथि हमला गर्ने धम्की दोहोर्‍याएका छन् ।

ट्रम्पले भने, ‘मैले उनीहरूलाई भनिसकेको छु – यदि उनीहरूले मानिसहरूलाई मार्न थाले, जुन उनीहरूले आफ्ना दङ्गाहरूमा प्रायः गर्ने गर्छन्, हामी उनीहरूलाई निकै कडा रूपमा निशाना बनाउने छौं।’

महँगीले बढ्यो जनआक्रोश

देशभरका जेनजी आक्रोशित छन्। यसको मुख्य कारण आर्थिक दुरावस्था हो। डिसेम्बर २०२५ मा इरानी मुद्रा रियाल खस्केर प्रति अमेरिकी डलर करिब १.४५ मिलियन पुग्यो, जुन अहिलेसम्मकै न्यून स्तर हो।

वर्षको सुरुदेखि रियालको मूल्य झन्डै आधा भइसकेको छ। यहाँ महँगी चरम सीमामा पुगेको छ। खाद्य वस्तुको मूल्यमा ७२ प्रतिशत र औषधिको मूल्यमा ५० प्रतिशतसम्म वृद्धि भएको छ। यसबाहेक सरकारले सन् २०२६ को बजेटमा ६२ प्रतिशत कर बढाउने प्रस्ताव गरेपछि आम मानिसमा ठूलो असन्तुष्टि पैदा भएको छ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि आयतोल्लाह रुहोल्लाह खुमैनी सत्तामा आए । उनी सन् १९७९ देखि १९८९ सम्म १० वर्ष सर्वोच्च नेता रहे। उनीपछि सर्वोच्च नेता बनेका आयतोल्लाह अली खामेनी सन् १९८९ देखि हालसम्म ३७ वर्षदेखि सत्तामा छन्।

इरान आज आर्थिक संकट, चर्को महँगी, अन्तर्राष्ट्रिय प्रतिबन्ध, बेरोजगारी, मुद्राको अवमूल्यन र निरन्तर जनआन्दोलन जस्ता गम्भीर चुनौतीहरूसँग जुधिरहेको छ।

४७ वर्षपछि अब वर्तमान आर्थिक दुरावस्था र कडा धार्मिक शासनबाट रिसाएका मानिसहरू परिवर्तन चाहन्छन्।

यसै कारण ६५ वर्षीय क्राउन प्रिन्स रजा पहलवीलाई सत्ता सुम्पिनु पर्ने माग उठिरहेको छ। प्रदर्शनकारीहरू उनलाई एक धर्मनिरपेक्ष र लोकतान्त्रिक विकल्प मान्छन्। युवा र जेनजीलाई पहलवीको फिर्तीले इरानमा आर्थिक स्थिरता, वैश्विक स्वीकार्यता र व्यक्तिगत स्वतन्त्रता ल्याउन सक्ने लागिरहेको छ।

तेल निर्यातमा निर्भर इरानी अर्थतन्त्र

सन् २०२४ मा इरानको कुल निर्यात करिब २२.१८ बिलियन डलर थियो, जसमा तेल र पेट्रोकेमिकल्सको ठूलो हिस्सा थियो। आयात ३४.६५ बिलियन डलर रहेकाले व्यापार घाटा १२.४७ बिलियन डलर पुगेको थियो।

सन् २०२५ मा तेल निर्यातमा आएको कमी र प्रतिबन्धका कारण यो घाटा अझ बढेर १५ बिलियन डलर पुगेको छ। मुख्य व्यापारिक साझेदारहरूमा चीन (३५ प्रतिशत निर्यात), टर्कीए, यूएई र इराक सामेल छन्। इरानले चीनलाई ९० प्रतिशत तेल निर्यात गर्छ।

इरानले छिमेकी देशहरू र युरेसियन इकोनोमिक युनियनसँग व्यापार बढाउने प्रयास गरेको छ। यद्यपि, सन् २०२५ मा जीडीपी वृद्धि केवल ०.३ प्रतिशत रहने अनुमान छ। प्रतिबन्ध नहटेसम्म वा परमाणु सम्झौता पुनः स्थापना नभएसम्म व्यापार र रियालको मूल्य स्थिर गर्न कठिन देखिन्छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?