२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आजको अवस्था आउला भन्ने सोच्दै नसोचेको बताएका छन् ।
गत पुस १४ गते रास्वपासँग गरिएको सहमति यसरी चाँडै भत्कनसक्ने कुरा आफूलाई कहिल्यै नलागेको समेत उनले दाबी गरे ।
‘म आज अत्यन्तै मर्माहित भएको छु । यो अवस्था आउँछ भनेर लागेको थिएन,’ घिसिङले भने, ‘यो १२ दिन मेरा लागि ठूलो बिलखबन्दमा, कता जाने भन्ने नै अन्यौलमा भएको परिस्थिति, आगाडि बढौं भने उहाँहरू अघि बढ्न नदिने, पछि जाऔं भने आम नेपाली र जेनजी भाइबहिनीहरूको सपनालाई पूरा गर्नका लागि पछि हट्न नमिल्ने अवस्था थियो ।’
साथै, उनले सहमतिका बुँदा रास्वपाले नै कार्यान्वयन गर्न नमानेको समेत उनले बताए ।
‘करिब दुई महिना जति भयो, जुन बेला कठिन परिस्थितिमा उज्यालो नेपाल पार्टीलाई नेतृत्व गर्नुभएको अनुपकुमार उपाध्यायलाई धन्यवाद,’ उनले भने, ‘विगत केही समय हाम्रो लागि अत्यन्तै पीडादायी भयो ।’
यो १२ दिनमा धेरैपटक धेरै चरणमा छलफल हुँदा पनि सहमति जुट्न नसकेको उनको भनाइ थियो ।
‘पुस १४ गते भएको सो सहमति करिब १२ दिनसम्म हामी पटकपटक धेरै चरणको छलफलमा सहमति कार्यान्वयन भएन । अत्यन्तै हिनताबोधका साथ हामीले अगाडि बढाउनुपर्ने अवस्था आयो । एउटा सहमति भएको थियो,’ घिसिङले भने, ‘लिखितमा नभएका सहमति पनि धेरै थिए । कसरी कार्यान्वयन गर्ने यो एकीकरण प्रक्रियालाई भन्ने थिए । त्यसमा हाम्रो ठूलो माग पनि थिए । यसलाई छिटो कार्यान्वयन गरौं भन्ने माग थियो ।’
प्रतिक्रिया 4