News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री वर्षा राउतले हिन्दी फिल्म 'रिमझिम गिरे सावन' मा शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी छन्।
- फिल्म सामाजिक कथावस्तुमा आधारित छ र उत्तरी सिक्किमको लाचुङमा छायांकन हुनेछ।
- निर्देशक अर्नब पलले प्रणालीगत भ्रष्टाचार र न्यायका लागि महिला पात्रको संघर्ष चित्रण गर्ने बताए।
काठमाडौं । अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यू गर्ने भएकी छन् । हिन्दी भाषाको फिल्म ‘रिमझिम गिरे सावन’ मा उनी शीर्ष भूमिकाको लागि अनुबन्धित भएको जनाइएको छ ।
अर्नब पलले निर्देशन गर्ने यो फिल्म सामाजिक कथावस्तुमा आधारित हुनेछ । उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागको सेटिङमा फिल्म बन्न लागेको हो ।
त्यहाँको नेपालीभाषी समुदायको परिवेश समेटिएको यस फिल्मले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’ को कथा पेश गर्छ
प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिला पात्रले गर्ने भावनात्मक र साहसी संघर्षलाई फिल्मले चित्रण गर्ने निर्देशक पलले बताए । निर्देशक पल बंगाली भाषाको क्षेत्रीय फिल्ममा सक्रिय छन् ।
यसअघि क्राइम थ्रिलर ‘तान्त्रिक’ र ’मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेका फिल्म निर्देशन गरिसकेका पलले ‘वृष्टि तोमाके दिलाम’ बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारिसकेका छन् ।
उक्त फिल्ममा भारतीय कलाकारहरू सुव्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी र यशपाल शर्माको पनि अभिनय हुने जनाइएको छ ।
फिल्म साइन गरेपछि वर्षाले भनिन्, “मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु । हिउँले भरिएको कठिन भूगोलमा छायाङ्कन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो ।’
भारतमा ख्याति कमाएको टिमको फिल्म र बलिउड कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको उनले बताइन् । पटकथा राकेशकुमार त्रिपाठीले तयार पारेका हुन् ।
प्रतिक्रिया 4