News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले २९ पुसदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलका लागि १५ टिम तयार भएको जनाएको छ।
- प्रशिक्षक र कप्तानहरूले राष्ट्रिय लिगले नेपाली फुटबलको माहोल पुनर्जीवित गर्ने विश्वास व्यक्त गरेका छन्।
- एपीएफ क्लबका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिग १० वर्षपछि हुन लागेको र टप फोरमा पर्ने लक्ष्य रहेको बताए।
२९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलका लागि टिमहरू तयार देखिएका छन् ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको प्रि-म्याच प्रेस कन्फेरेन्समा १५ टिमका कप्तान तथा प्रशिक्षकले तयारीबारे संक्षिप्त जानकारी गराएका हुन् । नवजनजागृति युथ क्लब र काँक्रेविहार युथ क्लब भने उपस्थित थिएनन् ।
नेपालको शीर्ष लिग ए डिभिजन लिग फुटबल समयमै नहुँदा फुटबल गतिविधि कायमै राख्न भनेर राष्ट्रिय लिग फुटबल हुन लागेको छ । तर यसका लागि खासै उत्साह देखिएको छैन ।
अधिकांश क्लबले छोटो समयमै युवा र अनुभवी खेलाडीको संयोजनमा टिम बनाएका छन् भने केहीले उपाधि जित्ने स्पष्ट लक्ष्य राखेका छन्।
प्रशिक्षक र कप्तानहरूले लिगले नेपाली फुटबलको माहोल पुनर्जीवित गर्ने विश्वास व्यक्त गरेका छन्।
फ्रेन्ड्स क्लब
फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले तयारी राम्रो भएको बताएका छन् । ‘तयारी राम्रो छ। युवालाई प्राथमिकता दिएर टिम बनाएका छौं। पहिलो खेलमै राम्रो नतिजाको आशा छ। लक्ष्य टप सिक्समा पर्ने हो’ उनले भने । यस्तै कप्तान रुपेश केसीले नेपालीलाई मौका दिइएको बताए । ‘हाम्रो टिममा सबै नेपाली खेलाडी छन्। विदेशी नराखेर नेपाली भाइहरूलाई मौका दिएका छौं। राम्रो खेलेर अघि बढ्ने विश्वास छ’ उनले भने ।
श्री भगवती क्लब
श्री भगवतीका सहायक प्रशिक्षक धनेश्वर प्रजापतिले टिममा अनुभवी खेलाडीहरू रहेको र तयारी राम्रै भएको बताएका छन् । कप्तान अशोक खवासले लिगभन्दा प्रतियोगिता जस्तो तयारी भएको भएपनि मैदानमा राम्रो खेल देखाउने विश्वास व्यक्त गरेका छन् ।
चर्च ब्वाइज क्लब
चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले उपाधि जित्ने लक्ष्य भएको बताएका छन् । ‘राष्ट्रिय लिगको तयारी एकदम राम्रो भएको छ। हाम्रो लक्ष्य उपाधि नै हो’ उनले भने । मुख्य प्रशिक्षक सुमन श्रेष्ठले उपाधि जितेर एएफसीका लागि खेल्ने लक्ष्यसहित तयार रहेको बताए । कप्तान एरिक विष्टले प्रतियोगिताले खुसी लागेको बताए । ‘तीन विदेशी र राष्ट्रिय टिमका खेलाडी तथा जुनियरहरूको मिश्रण छ। तीन वर्षपछि लिग हुँदा सबै खेलाडी खुशी छन् । भविष्यमा पनि यस्तै होस् भन्ने चाहन्छु’ उनले भने ।
सातदोबाटो युथ क्लब
सातदोबाटोका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले तयारी राम्रो रहेको बताए। ‘लामो समयपछि लिग भएकाले फिटनेस पूर्ण छैन तर अवस्था ठिक छ,’ उनले भने, ‘विदेशी खेलाडी एकजना छन्, पोजिसन अनुसार अन्य खेलाडी ल्याउँछौं।’ कप्तान पासाङ लामाङले अनुभवी र युवा खेलाडीको संयोजन राम्रो रहेको बताए। ‘हाम्रो लक्ष्य उपाधि जित्ने हो,’ उनले भने।
संकटा क्लब
संकटा क्लबका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले युवा खेलाडीलाई प्राथमिकता दिएको बताए। ‘सिनियर खेलाडी थोरै छन्, एकेडेमीका खेलाडी धेरै छन्। लिगमा राम्रो प्रदर्शन गर्ने लक्ष्य छ,’ उनले भने। कप्तान टिकेन्द्र थापाले छोटो तयारी भए पनि आत्मविश्वास देखाए। ‘युवाहरूले राम्रो गरिरहेका छन्। यस्तो लिग खेल्दा खेलाडीलाई फाइदा हुन्छ,’ उनले भने।
जावलाखेल युथ क्लब
जावलाखेल युथ क्लबका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले टिमको तयारी राम्रो रहेको बताएका छन्। ‘३–४ वटा मैत्रीपूर्ण खेल खेलेका छौँ। तीन विदेशी खेलाडी पनि आइपुग्दैछन्,’ उनले भने। कप्तान युनेश चौधरीले युवा टिम भए पनि प्रतिस्पर्धा गर्न सक्ने बताए। ‘टप टिमसँग पनि फाइट गर्न सक्छौँ,’ उनले भने।
मछिन्द्र क्लब
मछिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले तयारी सन्तोषजनक नभएको स्वीकार गरे। ‘समय कम भएकाले पूर्ण तयारी हुन सकेन,’ उनले भने। यद्यपि उपाधिकै लागि खेल्ने प्रतिबद्धता जनाए।
कप्तान विशाल श्रेष्ठले युवा र अनुभवीको मिश्रण रहेको बताए। ‘जे होस्, फुटबलको माहोल बनेको छ,’ उनले भने।
एनआरटी क्लब
एनआरटी क्लबका मुख्य प्रशिक्षक जीवन सिंकेमानले उपाधि लक्ष्य रहेको बताए। ‘हाम्रो खेलाडीहरू अन्य खेल खेलेकोले सबै खेलाडी एकजुट भएर तयारी गर्न पाएका छन् । लमजुङमै खेलेका खेलाडीहरु छन् । मैदानको समस्या भएपनि अगाडिदेखि नै तयारी गरेका थियौं, उपाधिकै लागि खेल्नेछाैं’ उनले भने। कप्तान कृतिश रत्न छुन्जुले तयारी छोटो भए पनि सकारात्मक रहेको बताए। ‘लिग हुनु राष्ट्रिय टिमका लागि पनि फाइदाजनक छ,’ उनले भने।
चित्लाङ एफसी
चित्लाङ एफसीका मुख्य प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले नयाँ टिम भए पनि आत्मविश्वास देखाए। ‘अनुभव कम छ तर राम्रो फुटबल देखाउने विश्वास छ,’ उनले भने। कप्तान सकल रेग्मीले ब्यालेन्स टिम रहेको बताए। ‘ए डिभिजन खेलेको खेलाडी र नयाँ खेलाडी पनि छन् । राम्रो गेम खेलेर अरु टिमलाई चुनाैती दिने लक्ष्य छ ।जित–हारभन्दा राम्रो खेल देखाउने लक्ष्य छ,’ उनले भने।
त्रिभुवन आर्मी क्लब
त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षक जितेन्द्र काकीले डेढ महिनादेखि तयारी भइरहेको बताए। ‘नयाँ र युवा खेलाडीलाई अवसर दिएका छौं। कोच नयाँ आउनुभएको छ । पुराना खेलाडी छाड्दा नयाँ युवाहरू आएका छन् । नयाँ एकेडेमीको खेलाडीहरु समावेश छ युथ टिमको खेलाडी छन् । लक्ष्य लिग जित्ने हो,’ उनले भने। कप्तान जर्ज प्रिन्स कार्कीले टिम सेट भइसकेको बताए। ‘ट्रेनिङ निरन्तर छ । नयाँ खेलाडी आएका छन् । नतिजा राम्रो आउने आशा छ,’ उनले भने।
मनाङ मर्स्याङ्दी क्लब
मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक शैलेश कर्माचार्यले छोटो तयारी भएको बताए। ‘हाम्रो तयारी एक हप्ता भएको छ । युवा र यू–२३ खेलाडीहरू छन् अनि विदेशी ३ जना छन्’ उनले भने। कप्तान राज गुरुङले समय अभावले तयारी प्रभावित भएको बताए। ‘तर हामी प्रतिस्पर्धा गर्न तयार छौं,’ उनले भने।
प्लानिङ ब्वाइज युनाइटेड
प्लानिङ ब्वाइज युनाइटेडका सहायक प्रशिक्षक गणेश खड्काले तयारी राम्रो रहेको बताए। ‘युवा खेलाडी धेरै छन्। पाँच खेल भाइटल छ, अहिले नै लक्ष्य लिन मिल्दैन । पुलिससँगको पहिलो खेलपछि लक्ष्य स्पष्ट हुनेछ,’ उनले भने। सञ्जित सिंह मुख्य प्रशिक्षकका रूपमा रहेको पनि उनले जानकारी गराए । कप्तान फागुराम थारुले सबै युवा खेलाडीले भरिएको टिम रहेको र बी डिभिजन जितेर आएकाले आत्मविश्वास व्यक्त गरे। ‘हाम्रो लक्ष्य च्याम्पियन हुने नै हो,’ उनले भने।
नेपाल पुलिस क्लब
पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेले वर्षभरि तयारी रहेको बताए। ‘दुई वर्षपछि लिग हुँदा सबै उत्साहित छन् । खेलाडी मात्र नभएर कोच फ्यान रेफ्रीहरुका लागि पनि उत्साह छ । बीचमा विदेश जाने लहरचल्दा दुई खेलाडी हाम्रो पनि विदेश गएका छन् । हामीले पुलिसकै एज ग्रुपबाट खेलाडी लिएर राम्रो बनाएका छाैं’ उनले भने। सुरुमा विदेशी ल्याउने तयारी नभएको उनको भनाइ छ । कप्तान राम वाजीले टिम सन्तुलित रहेको बताए। ‘निरन्तर ट्रेनिङले हामी फाइटिङ टिम बनेका छौँ,’ उनले भने।
एपीएफ क्लब
एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिग १० वर्षपछि हुन लागेको बताउँदै अनुभव सम्झिएका छन्। ‘१० वर्षअघि थ्री स्टारलाई राष्ट्रिय लिग च्याम्पियन बनाएको थिएँ। फेरि राष्ट्रिय लिग हुन लागेकोमा खुशी छु,’ उनले भने। ए डिभिजन लिग पनि नियमित हुने आशा व्यक्त गर्दै उनले टिममा राष्ट्रिय टिमका चार खेलाडी रहेको बताए। ‘तयारीको समयभन्दा पनि हाम्रो खेल्ने फिलोसोफी महत्त्वपूर्ण हुन्छ। लक्ष्य टप फोरमा पर्ने हो,’ तामाङले भने। रेलिगेसन नभएको र विदेशी खेलाडी नराख्ने निर्णय पनि क्लबले गरेको उनले जानकारी दिए। कप्तान हरि कार्कीले टिम सन्तुलित रहेको बताए। ‘नयाँ खेलाडीका रूपमा अनिश क्षेत्री र सन्तोष खत्री आएका छन्। समग्रमा टिम राम्रो छ,’ उनले भने।
लालीगुराँस
लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्न सक्षम टिम रहेको बताए। ‘यो मोफसलको टिम हो। गण्डकी प्रदेशका खेलाडीहरू छन्, युवा खेलाडी पनि छन्। टिम राम्रो बनेको छ,’ उनले भने। विदेशी खेलाडीबारे जानकारी दिँदै उनले भने, ‘स्ट्राइकर तान्जानियाबाट आएका छन्, मिडफिल्डमा एक विदेशी र सेन्ट्रल डिफेन्समा उज्बेकिस्तानका खेलाडी छन्।’
गोलकिपिङमा केही चुनौती रहेको स्वीकार्दै उनले लामो लिगमा संघर्ष गर्ने प्रतिबद्धता जनाए। ‘लक्ष्य भनेको मोफसलका टिमले पनि राष्ट्रिय लिगमा आएर प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश दिनु हो,’ किरण श्रेष्ठले भने।
प्रतिक्रिया 4