News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोस्कोपिक ब्रेन सर्जरीले मस्तिष्कमा सानो चिरा बनाएर ट्युमर, रक्तस्राव वा अन्य समस्या हटाउन सहज बनाएको छ।
- यो विधि पिट्युटरी ट्युमर, हाइड्रोसेफालस र मस्तिष्कमा सिस्ट वा संक्रमणमा प्रभावकारी छ।
- नेपालमा यो सेवा २०१६ देखि निजी र सरकारी अस्पतालमा उपलब्ध छ र भविष्यमा एआई र रोबोटिक प्रविधिले न्युरो सर्जरी बदल्नेछन्।
मस्तिष्क संवेदनशील अंग हो । त्यसैले, मस्तिष्कभित्र हुने कुनै पनि समस्यालाई अरू अंगको भन्दा जटिल र जोखिमपूर्ण मानिन्छ ।
मस्तिष्कमा ट्युमर, रक्तस्राव वा अन्य समस्या भए पहिले ठूलो चिरा पारेर मात्र उपचार सम्भव थियो । त्यसले घाउ ठूलो हुन्थ्यो । निको हुन समय लाग्थ्यो ।
दाग पनि पछिसम्म देखिने हुन्थ्यो । विज्ञानले यो जटिलता न्यूनीकरण गर्ने प्रविधि विकास गरेको छ ।
आजको समयमा बिना चिरफार ट्युमर, रक्तस्राव वा अन्य समस्या हटाउन सहज विकल्प बनेको छ, इन्डोस्कोपिक ब्रेन सर्जरी ।
इन्डोस्कोपिक ब्रेन सर्जरी भनेको के हो ?
सबैभन्दा पहिले, यसको नामबाटै बुझौं । ‘इन्डोस्कोपी’ भनेको दूरबिन जस्तो यन्त्र प्रयोग गरेर शरीरभित्रको अवस्था हेर्ने विधि हो, जसलाई ब्रेन सर्जरीमा प्रयोग गरिन्छ ।
मस्तिष्कमा शल्यक्रिया गर्नुपर्ने कुनै पनि रोगलाई चिरफार नै नगरी वा सानो चिरा बनाएर दूरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई इन्डोस्कोपिक ब्रेन सर्जरी भनिन्छ । यो विधि परम्परागत ओपन ब्रेन सर्जरीभन्दा धेरै उन्नत छ ।
परम्परागत तरिकामा, चिकित्सकले मस्तिष्ककाे उपचारको लागि खप्परमा १२–१५ सेन्टिमिटर लामो चिरा बनाउँथे, यसरी हड्डी काटेर मस्तिष्कलाई खुला गरेर शल्यक्रिया गर्थे । त्यो शल्यक्रिया भनेको एउटा ठूलो दराज खोलेर भित्रका सामान निकाल्नुजस्तै थियो । तर यसले मस्तिष्कको स्वस्थ भागहरूलाई पनि प्रभावित गर्न सक्छ ।
यसको विपरीत, इन्डोस्कोपिक विधिमा हड्डीमा मात्र २–३ सेन्टिमिटरको सानो फ्ल्याप (छिद्र) बनाएर इन्डोस्कोप नामक दूरबिन पठाइन्छ । यो दूरबिनमा क्यामेरा र प्रकाश हुन्छ, जसले मस्तिष्कको भित्री भागलाई स्क्रिनमा देखाउँछ । त्यसपछि, विशेष यन्त्रहरू प्रयोग गरेर ट्युमर वा समस्या भएको भाग निकालिन्छ ।
कुन अवस्थामा यो शल्यक्रिया गरिन्छ ?
इन्डोस्कोपिक ब्रेन सर्जरी कुनै पनि मस्तिष्क सम्बन्धी समस्यामा प्रयोग हुन सक्छ, तर यो विशेष गरी केही अवस्थाहरूमा प्रभावकारी छ ।
१. ब्रेन ट्युमर- यदि टाउकोको तल्लो भागमा ट्युमर छ र यसले ब्रेनलाई थिचिरहेको छ, वा पिट्युटरी ग्रन्थी (आँखा पछाडि नाक माथि हुने) मा ट्युमर छ भने गर्न सकिन्छ । उदाहरणका लागि, पिट्युटरी ट्युमरलाई नाकबाटै टनेल बनाएर इन्डोस्कोप पठाएर निकालिन्छ । बाहिर कुनै चिरा नै देखिँदैन ।
२. रक्तस्राव वा चोटपटक- टाउकोमा लागेको चोटबाट रगत जम्मा भएको छ भने, यो विधिबाट सजिलै निकाल्न सकिन्छ । परम्परागत तरिकामा ठूलो चिरा चाहिन्थ्यो, तर अब सानो छिद्रबाटै काम हुन्छ ।
३. हाइड्रोसेफालस- मस्तिष्कमा अधिक पानी जम्मा हुने समस्यामा भेन्ट्रिकुलोस्कोपी नामक इन्डोस्कोप प्रविधीले मस्तिष्कभित्रकाे पानीको बहावलाई सुधार्छ ।
४. अन्य जटिल रोगहरूः जस्तै, मस्तिष्कमा सिस्ट वा संक्रमण । यो विधिले सिस्ट निकाल्ने वा संक्रमण हटाउने क्रममा ब्रेनको संवेदनशील भागहरूलाई बचाउँदै काम गर्छ ।
प्रक्रिया कसरी सुरु हुन्छ ?
यो शल्यक्रिया गर्नुअघि चिकित्सकले विस्तृतरूपमा योजना बनाउँछन् । सुरूमा एमआरआई वा सिटी स्क्यान हेरेर ‘ब्रेनको थ्रिडी मोडेल’ योजना बनाइन्छ । जस्तो कि, ट्युमर कुन भागमा छ ? त्यहाँ पुग्ने बाटो के छ ? त्यसपछिको प्रक्रिया कस्तो हुन्छ भन्ने मोडल बनाइन्छ ।
त्यसपछि
तयारी — बिरामीलाई एनेस्थेसिया दिएर बेहोस बनाइन्छ । टाउकोमा सानो चिरा (२–३ से.मी.) बनाइन्छ ।
इन्डोस्कोप प्रवेश — दूरबिन जस्तो यन्त्र छिद्रबाट पठाइन्छ । यसमा क्यामेराले ब्रेनको भित्री दृश्य दिन्छ ।
समस्या हटाउने — विशेष यन्त्रहरू (जस्तै, सक्शन वा लेजर) प्रयोग गरेर ट्युमर वा रगत निकालिन्छ । यो १ देखि ३ घण्टा लाग्न सक्छ । त्यसपछि प्वाल बन्द गरिन्छ । दाग सानो हुन्छ, संक्रमणको जोखिम कम हुन्छ ।
यो प्रक्रिया एउटा भिडियो गेम खेल्नुजत्तिकै हुन्छ । किनकी, चिकित्सकहरूले स्क्रिन हेरेर उपचार प्रक्रिया अघि बढाउने र यसमा नियन्त्रण लिई शल्यक्रिया गर्छन् ।
फाइदा
— सानो घाउ हुन्छ, सानो घाउ भएपछि दुखाइ स्वत कम हुन्छ ।
— छिटो निको हुन्छ, शल्यक्रिया गरेको भोलिपल्टै हिँडडुल गर्न सकिन्छ ।
— मस्तिष्कको भाग स्वस्थ र सुरक्षित रहन्छ । संक्रमणको जोखिम कम हुन्छ ।
— अस्पताल बसाइ छोटो हुन्छ ।
जोखिम पनि
यदि ट्युमर धेरै जटिल छ भने, पूर्णरूपमा निकाल्न मुश्किल हुन सक्छ । संक्रमण वा रक्तस्रावको थोरै जोखिम रहन्छ । तैपनि, आधुनिक प्रविधिले यो कम गर्छ ।
कति लाग्छ, खर्च ?
यसको शुल्क अस्पताल अनुसार फरक-फरक पर्छ । सरकारी अस्पतालमा ५० देखि ६० हजार लाग्छ । त्यस्तै, निजी अस्पतालमा शुल्क दुई लाखसम्म पनि लाग्न सक्छ । यद्यपि, समस्याको जटिलता, प्रकृति अनुसार शुल्क फरक हुनजान्छ ।
यो सेवा नेपालमा कहिले आयो ?
इन्डोस्कोपी सेवा २५ वर्षअघि नेपालमा वीर अस्पतालबाट सुरु भयो । तर अत्याधुनिक सेवा भने २०१६ बाट सञ्चालनमा आयो । अहिले नेपालका न्यूरो सेवा दिने निजी तथा सरकारी अस्पतालमा यो सेवा उपलब्ध छ ।
यो उपकरण महँगो-इन्डोस्कोपिक टावर, क्यामेरा, लाइट सोर्स आदि लाखौं पर्ने भएकोले पनि अलि खर्चिलो हुन्छ ।
भविष्यको सम्भावना
एआई गाइडेड न्युरो सर्जरी, रोबोटिक न्युरो सर्जरी र इन्डोस्कोपिक ब्रेन नेविगेसन टेक्नोलोजी जस्ता प्रविधिहरूले आगामी दिनमा न्युरो सर्जरीको स्वरूप पूर्णरूपमा बदल्नेछन् ।
नेपालले यदि समयमै लगानी, नीति र जनशक्ति उत्पादनमा ध्यान दियो भने ‘स्वदेशमै विश्वस्तरीय न्युरो उपचार’ केवल सपना रहने छैन ।
प्रतिक्रिया 4