News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेश सभाका तीन सदस्य धनबहादुर मास्की, धर्मबहादुर चौधरी र कन्हैया बानियाँले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन्।
- मास्की दाङ ३ बाट, चौधरी बर्दिया २ बाट र बानियाँ रुपन्देही ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेका छन्।
- प्रदेश सभा सचिवालयले उनीहरूको राजीनामा मनोनयन दर्ता अघि सूचना टाँस गरी जानकारी दिने जनाएको छ।
५ माघ, बुटवल । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार दाङबाट प्रदेश सभा सदस्य रहेका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, बर्दियाबाट सदस्य निर्वाचित उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले मास्की, चौधरी र बानियाँले आइतबार राजीनामा दिएको जानकारी दिए । उनीहरूको राजीनामा बारे मनोनयन दर्ताको समय भन्दा अगाडि नै सूचना टाँस गरेर जानकारी दिइने प्रदेश सभा सचिवालयले जनाएको छ ।
चौधरी यसअघि लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीको बर्दिया २ (२) बाट निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टी छोडेर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीका मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र उज्यालो पार्टीका चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका हुन् ।
मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए । मास्की लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
त्यस्तै, बर्दिया–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका चौधरीले पनि प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । उनी २०७९ को निर्वाचनमा बर्दिया २ (२)बाट विजयी भएका थिए । उनले माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई हराउँदै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए ।
प्रदेश सभामा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका चौधरीले नागरिक उन्मुक्तिमा निरन्तर विवाद बढेपछि पार्टी नै छोडेर उज्यालो पार्टी रोजेका हुन् । यस्तै, रुपन्देही ४ बाट प्रदेश सभा सदस्य निर्वाचित कन्हैया बानियाँ रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्न राजीनामा दिएका हुन् ।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बानियाँले आज राजीनामा दिएका हुन् ।
प्रतिक्रिया 4