News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ३ मा दीलिप राईले चुनाव लड्न नमानेपछि शिक्षक इरन राईलाई टिकट दिएको छ।
- एमालेले सुनसरी क्षेत्र नम्बर ४ को टिकट अबुल हुसैन अन्सारीलाई दिएको छ, जसले नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए।
- सुनसरी क्षेत्र नम्बर १ मा एमालेले सूर्यप्रकाश पन्धाकको सट्टा टिकाराम माङ्देवलाई उम्मेदवार बनाएको छ।
५ माघ, विराटनगर । नेकपा एमालेले शनिबार उम्मेदवारको नाम फाइनल गर्दा मोरङको क्षेत्र नम्बर ३ मा दीलिप राईको नाम थियो ।
क्षेत्रीय समितिको सिफारिसका आधारमा केन्द्रीय कमिटीले टिकट दिए पनि उनले मोबाइल अफ गरे । एमाले नेताहरूका अनुसार राईले चुनाव लड्न नमानेपछि क्षेत्र नम्बर ३ मा शिक्षक इरन राईले टिकट पाए ।
‘खासमा यो क्षेत्र पार्टी सचिव भानुभक्त ढकालको थियो, क्षेत्र बिगारेर उहाँ तेह्रथुम लागेपछि केही समस्या भएको हो,’ एमाले मोरङ स्रोत भन्छ, ‘दीलिप राईले नमानेपछि इरन राईले टिकट पाउनुभयो ।’
एमाले जिल्ला उपाध्यक्ष सागर थापाले दीलिप राई उम्मेदवार बन्न नमानेपछि इरनलाई टिकट दिइएको स्वीकार गरे ।
नेकपा एमालेको सुरक्षित क्षेत्रको रूपमा रहेको मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेस नेता सुनील शर्माको पनि प्रभाव छ । २०७४ को निर्वाचनमा भानुभक्त ढकालसँग पराजित भएका शर्माले २०७९ सालमा भानुभक्तलाई नै पराजित गरेका थिए । यो पटक पनि उनी नेपाली कांग्रेसबाट उम्मेदवार बन्दैछन् । उनीसँग प्रतिस्पर्धा गर्न नमानेका ढकालले तेह्रथुमको टिकट पाएका छन् । उनी तेह्रथुमकै बासिन्दा हुन् ।
शनिबार एमालेले मोरङ क्षेत्र नम्बर ५ र ६ खाली राखेको थियो । क्षेत्र नम्बर ५ मा युवा नेता मारवाडी समुदायका मनोज अग्रवाल र क्षेत्र ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ ।
एमाले भित्र इतर समूहमा रहेका ढकालको नाम क्षेत्र नम्बर १, ४ र ६ बाट सिफारिस भएको थियो । उनी चुनाव उठ्ने मनस्थतिमा थिएनन् । अध्यक्ष ओलीबाट टिकट पाउने आशमा पनि थिएनन् । तर, आइतबार अबेर टिकट पाएपछि उनी अभियानमा होमिएका छन् ।
नेकपा एमालेले मोरङ क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ । यो उनको पाँचौं संसदीय निर्वाचन प्रतिस्पर्धा हो । क्षेत्र नम्बर २ बाट रंगेली नगरपालिकाका मेयर दीलिप बगडिया उम्मेदवार बन्दैछन् ।
दुई पटक रंगेलीको मेयर जितेका बगडीयाको संघमा पहिलो उम्मेदवारी हो । क्षेत्र नम्बर ४ मा जीवन घिमिरे उम्मेदवार बन्दैछन् ।
सुनसरीमा जगदीशको टिकट खोसियो, धरानमा उम्मेदवार फेरियो
नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले)प्रवेश गरेका अबुल हुसैन अन्सारीले सुनसरी क्षेत्र नम्बर ४ को टिकट पाएका छन् । यो क्षेत्रबाट जगदीश कुसियतको एकल उम्मेदवारी सिफारिस भएको थियो ।
एमाले केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज कुसितले टिकट पनि पाएका थिए । तर, उनको टिकट नेपाली कांग्रेस छाडेर आइतबार एमाले प्रवेश गरेका अन्सारीले पाए ।
ओलीले हुसैनलाई टिकट दिएपछि पार्टी भित्र विवाद सुरू भएको छ । कुसियतलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी छ । यो क्षेत्रबाट रेवतीरमण भण्डारीको नाम फाइनल भएको थियो ।
नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार परिवर्तन गरेको छ । सूर्यप्रकाश पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरे पनि स्थानीय नेताको विरोधपछि टिकाराम माङ्देवले टिकट पाएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ मा धरान उमपहानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका हर्क साम्पाङको श्रम संस्कृति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाट मनोज भट्टराई उम्मेदवार बनेका छन् ।
उम्मेदवार सिफारिस भएपछि भट्टराईले वडाध्यक्षबाट राजीनामा दिएका थिए । एमालेले सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया 4