News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश सरकारका खेल सल्लाहकार आसिफ नज्रुलले सुरक्षा कारण देखाउँदै आगामी आईसीसी टी–२० विश्वकप भारतमा खेल्न अस्वीकार गरेको पुनः स्पष्ट पारेका छन्।
- आईसीसीले बंगलादेश क्रिकेट बोर्डलाई जनवरी २१ सम्म भारतमा खेल्ने विषय टुंग्याउन समयसीमा तोकेको छ र स्कटल्यान्डलाई प्रतिस्थापन गर्ने सम्भावना छ।
- भारतीय क्रिकेट बोर्डले आईपीएल टोलीबाट बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद सुरु भएको र बंगलादेशले स्थान परिवर्तनको माग गरेको छ।
६ माघ, काठमाडौं । बंगलादेश सरकारका खेल सल्लाहकार आसिफ नज्रुलले आगामी आईसीसी टी-२० विश्वकप भारतमा खेल्ने विषयमा बंगलादेश आफ्नो अडान परिवर्तन गर्न तयार नभएको पुनः स्पष्ट पारेका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा कारण देखाउँदै भारतमा खेल्न नसकिने बताएको समाचार संस्था क्रिकबजमा उल्लेख छ ।
बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेमा स्कटल्यान्डलाई प्रतिस्थापन गरिने चर्चा चले पनि आसिफले त्यसलाई अस्वीकार गरे। ‘हाम्रो स्थानमा स्कटल्यान्डलाई सहभागी गराइने भन्नेबारे म जानकार छैन’ उनले भने।
यसअघि बंगलादेश भारतमा खेल्न नगएको अवस्थामा स्कटल्यान्डले मौका पाउने रिपोर्टहरू सार्वजनिक भएका थिए । यद्यपी स्कटल्यान्ड क्रिकेट बोर्डलाई पनि उक्त विषयमा आधिकारिक जानकारी भने छैन ।
आईसीसीले यो विषय टुंग्याउन बंगलादेश क्रिकेट बोर्डलाई (बीसीबी) लाई जनवरी २१ सम्मको समयसीमा तोकेको छ। यदि बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई सहभागी गराउनुपरेमा, स्कटल्यान्डलाई कम्तीमा १५ दिन तयारी समय दिनुपर्ने भएकाले आईसीसी दबाबमा रहेको छ।
हाल भारत र बंगलादेशबीचको राजनीतिक तनावका कारण बीसीबीले भारतमा खेल खेल्न सुरक्षा जोखिम रहेको भन्दै आईसीसीसँग आफ्ना खेलहरू सह–आयोजक श्रीलंकामा सार्न आग्रह गरेको छ। यही विषयमा गत साता ढाकामा बीसीबी र आईसीसीबीच छलफल भए पनि कुनै सहमति जुट्न सकेन।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टिमबाट रिलिज गर्न निर्देशन दिएपछि यो विवाद सुरु भएको थियो ।
बंगलादेशले आयरल्यान्डसँग समूह साटफेरको प्रस्ताव पनि राखेको थियो, तर आयरल्यान्ड त्यसमा सहमत नभएको बताइएको छ।
नज्रुलले भने, ‘यदि आईसीसीले भारतीय क्रिकेट बोर्डको दबाबमा अव्यावहारिक शर्त थोपर्न खोज्छ भने हामी त्यस्ता शर्त स्वीकार गर्दैनौं।’
उनले विगतको उदाहरण दिँदै भने, ‘पहिले पाकिस्तानले भारत जान अस्वीकार गर्दा आईसीसीले स्थान परिवर्तन गरेको थियो। हामीले पनि तर्कसंगत कारणका आधारमा स्थान परिवर्तनको माग गरेका हौं। अव्यावहारिक दबाब दिएर हामीलाई भारतमा खेल्न बाध्य पार्न सकिँदैन।’
प्रतिक्रिया 4