+
+
WC Series
Nepal Women
0/0 (0.0)
VS
Netherlands Women
0/0
Shares
ब्लग :

देउवादेखि गगन–विश्वसम्म

जीवन र जगत्‌को क्षणभंगुरता किताबमा मात्र नभई आँखै अगाडि प्रस्ट देखिने उमेरमा पनि शक्तिको कामना गरिरहनुले देउवालाई नेपाली राजनीति जगत्‌ले ‘प्याथोलोजीकल क्यारेक्टर’ को रूपमा भने सधैँ नै सम्झिरहने छ।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ माघ ८ गते ७:५९

पार्टी विभाजनबारे संसारमा अनेकन सिद्धान्तहरूको प्रतिपादन भए पनि सामान्य तवरमा भने मध्यमार्गी र विचारवादीहरू बीचको तनाव नै मूल र महत्त्वपूर्ण विभाजक हो। यो तनावको स्थिति लगभग हरेक ठूला राजनीतिक दलहरूले ढिलोचाँडो सामना गर्नुपर्ने हुन्छ।

पार्टीहरू फुट्नुको मुख्य कारण पार्टीभित्र रहेका दुई भिन्न झुकाव- सत्ता जोगाउने र सिद्धान्त बचाउनेहरूको विपर्यासले हुने गर्छ। मध्यमार्गीहरूको मुख्य लक्ष्य भनेको आगामी चुनाव जित्नु हो। चुनाव जित्नका लागि उनीहरूले अधिकांश नागरिकहरूलाई भोट बैंक मात्र सम्झेर आकर्षित गर्नुपर्ने हुन्छ, जो तरल विचारधाराका हुन्छन्। त्यसैले, सत्तामा रहनका लागि उनीहरू सम्झौता गर्न, पार्टीको एजेन्डालाई अलि नरम बनाउन र विपक्षीसँग पनि तालमेल गर्न तयार हुन्छन्।

विचारवादी समूह पार्टीको उद्देश्यबारे प्रस्ट हुन्छन् र केन्द्रीय विचारका कट्टर समर्थक हुन्छन्। उनीहरू कुनै खास विचार वा आमूल परिवर्तनको एजेन्डा बोकेर पार्टीमा लागेका हुन्छन्। उनीहरूका लागि सम्झौता गर्नु भनेको धोका दिनु वा आफ्नो अस्तित्व बेच्नु जस्तै हो। पार्टी जब एउटा यस्तो रणनीतिक दोबाटोमा आइपुग्छ जहाँ एउटा पक्षलाई छान्नै पर्ने हुन्छ, तब फुटको सुरुवात हुन्छ।

मानव मस्तिष्कको एउटा विशेषता के छ भने यसले आफू सामुन्ने भएका विकल्पहरूलाई उही तीव्रता र गहिराइका साथ चयन गर्न सक्दैन; सन्तुलन केवल अमूर्त अवधारणा हो। दलीय व्यवस्थाका हरेक संस्थामा नै आफूलाई बहुप्रिय तुल्याउन यति केन्द्रमा आइपुग्छन् कि पार्टीले आफ्नो मौलिकता गुमाउँदै जान्छ र विचारको ‘ग्लु’ सुकेपछि पार्टी अन्तिम घर्षण भोगेर टुक्रिन्छ।

फुट्नु-टुक्रेनु सुन्दा आफैँमा नरमाइला शब्दहरू हुन्। तर नेपाली कांग्रेसको फुटले भने कताकता सिद्ध गरिदिएको छ कि हरेक टुक्याइ र फुटाइ नरमाइलो, निख्लो र निरस भने हुँदैन। नितान्त व्यक्तिगत जीवनका सम्बन्धहरू जस्तो होइन पार्टीसँगको सम्बन्ध। राष्ट्रिय स्वार्थ र पार्टीको विचारलाई मूलधाराका वाहकहरूले निरन्तर उपेक्षा गरिरहेको वखतमा फुटभन्दा उत्तम औषधी अन्य नहुन सक्छ; किनभने पार्टीका सर्वेसर्वा “शेर” बहादुरले लोकतान्त्रिक आलोकमा ‘शेर’ शब्दको अर्थ बुझ्नै नसक्ने बोधो रहेछन् भन्ने कुरा विगतले दोहोर्‍याइ-तेहर्‍याइ पुष्टि गरिसकेको कुरा हो।

‘जेन-जेड’ विद्रोहले पनि डेग सार्न नसकेको उनको मानसिकता पछिल्लो समयमा आएर प्रस्टताका साथ देखिएको थियो। फलित ज्योतिषशास्त्रका अपुगता र कमी-कमजोरीबारे अलिकति पनि परिचित नभएका देउवा ध.च. गोतामेको ‘यहाँदेखि त्यहाँसम्म’ का पात्र ‘नथुनी मुखिया’कै अर्को पर्याय हुन् भन्दा फरक नपर्ला।

तीयर नदीको धारिलो प्रवाहको चेतबिनै एउटा अङ्ग्रेजले देखेको दिवास्वप्नको फुर्को समाउँदै आफ्ना सारा आर्जनलाई नाउ र बहनामा ढालेर विनाश पर्खिरहेको नथुनी अन्य कोही हुन सक्दैन, देउवाबाहेक।

राजनीतिमा धेरै सामेल हुन्छन्— प्रत्यक्ष र अप्रत्यक्ष रूपमा, अग्रभाग र नेपथ्यमा, पर्दाअगाडि र पर्दापछाडि। तर सर्वरूपेण राजनीतिक प्राणी हुने कमै हुन्छन्।

उमेर र ऊर्जा निख्रिँदै गएका पाकाहरूले युवाहरूलाई बाटो छाडिदिनुपर्छ। अझ बौद्धिक रूपले विलक्षण नै हो भने समयमै पार्टीलाई हाक्न सक्ने पात्र उमेर छँदै छानिराख्नुपर्छ। तर जीवन र जगत्‌को क्षणभंगुरता किताबमा मात्र नभई आँखै अगाडि प्रस्ट देखिने उमेरमा पनि शक्तिको कामना गरिरहनुले देउवालाई नेपाली राजनीति जगत्‌ले ‘प्याथोलोजीकल क्यारेक्टर’ को रूपमा भने सधैँ नै सम्झिरहने छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन बोलाउनुलाई ऐतिहासिक अनिवार्यता सम्झेर आफ्नो कुर्सी छाड्ने जमर्को गरेको भए पनि कमसेकम कांग्रेसीहरूको मुहारमा उनको लागि अलिकति सम्मान त दौडिन्थ्यो नै होला।

तर लाग्छ, देउवाले आफ्नो प्याथोलोजी अझै प्रदर्शन गरिसकेका छैनन्। उनी रक्षात्मक मुडमा भए पनि सर्वोच्च अदालतको दैलो ढकढक गर्न गएका छन्। एक त पार्टीभित्रको विस्फोट, अर्कोतिर निर्वाचन आयोगको प्रतिकूल निर्णय अनि मुखैमा पर्खिरहेको निर्वाचन- जसले पसिना छुटाउने भइहाल्यो ।

तर यस्तो विषम घडीमा पनि देउवाको जब्बरता देखेर तीनै लोक चौध भुवनलाई समेत आश्चर्य नलागी सुख हुने देखिँदैन। ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको उपस्थितिलाई समेत जाबो ठान्ने तर एउटा प्रश्नलाई पनि बढ्ता बोलेको देख्ने देउवा गणित अलौकिक नै ठाने पनि हुने भयो।

राजनीतिमा धेरै सामेल हुन्छन्— प्रत्यक्ष र अप्रत्यक्ष रूपमा, अग्रभाग र नेपथ्यमा, पर्दाअगाडि र पर्दापछाडि। तर सर्वरूपेण राजनीतिक प्राणी हुने कमै हुन्छन्। राजनीतिक प्राणीहरू भने बहुत चतुर हुन्छन्। समयको डेगलाई समय छँदै चिन्ने गर्छन् र मागअनुसारको निर्णय गर्न पछि हट्दैनन्। समयलाई खुसामद गर्न सक्नुमा आफ्नो नाफा रहेकाले यिनीहरूलाई चतुर भनिएको हो।

कांग्रेसकै गिरिजाप्रसाद कोइराला यसका अनुपम उदाहरण हुन्। तर देउवा राजनीतिको सबैभन्दा नमीठो अध्याय अनौठो असफलतासँग जोडिएको छ। उनले जिन्दगीमा राजनीतिबाहेक अर्को कुनै आफू अनुकूल ठाउँ भेटेनन् तर राजनीतिक प्राणी बन्न पनि असफल भए। योभन्दा तितो यथार्थ देउवा महात्म्यमा अर्को नहोला। आफ्नै पार्टीका मानिसहरूबाट सिक्न नसक्नु अनि आफ्नै अनुभवबाट पनि सिक्न नसक्नु देउवाको अर्को विशेषता हो। बुढापाका भन्छन्, ‘मानिस दुई तरिकाबाट सिक्छ— कि पढेर कि परेर।’ यसमा अर्को वाक्य थपिदिए ज्ञान झन् रसिलो हुँदो हो- जब दुवै तरिकाबाट सिक्न सक्दैन, तब मानिस ‘देउवा’ बन्छ।

पार्टी फुटको वैचारिक कारण र उक्त कारणसँग मूर्त रूपमा गाँसिएको देउवा महात्म्य पश्चात् अब हामी कांग्रेसको भविष्यतर्फ दृष्टि लगाऔँ। भविष्यको अर्को नाम निश्चितताभित्रको अनिश्चितता हो। जे भए पनि अबको समयले देउवा एक रति पनि चाहेको छैन (यो निश्चित भयो), तर नयाँ युवा पङ्क्तिले विगतबाट सिक्छ या सिक्दैन, नयाँ राजनीतिक मौसमको माग बुझ्छ कि बुझ्दैन, अझै सन्देह गर्ने ठाउँ छ (यो अनिश्चित भयो)।

तर आशा गर्नुबाहेक विकल्प पनि छैन। आखिर लोकतन्त्र जनताको हो भने जनताले नयाँ नेतृत्व पङ्क्तिलाई समय छँदै सजग गराउनुपर्छ। गगन-विश्वप्रकाशले यति बुझ्न पर्‍यो कि यो जनआन्दोलनको छर्राले आघात भएको भूमि होइन, यो नयाँ भूमि हो र यसका थुप्रै अपेक्षित मागहरू छन्।

 

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?