८ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् ।
उम्मेदवारको यही ६ माघमा भएको हो । ९ माघमा चुनाव चिह्न पाउने छन् । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।
धनुषामा धेरै
धनुषामा सबैभन्दा धेरै १०६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । काठमाडौंमा ८९ जना, महोत्तरीमा ८७ जना, सिराहामा ८५ जनाको स्वतन्त्र उम्मेदवारी छ । रौतहटमा ७८, सर्लाहीमा ७२, रूपन्देहीमा ६३, कपिलवस्तुमा ४९, बारामा ४७, पर्सामा ४७, सप्तरीमा ४२, सुनसरीमा ३८ र मोरङमा २९ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
ललितपुरमा २६, भक्तपुरमा २४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा २३, गुल्मीमा २३, धादिङमा १९, दोलखामा १९, दाङमा १९, झापामा १७, चितवनमा १६, मकवानपुरमा १५, कैलालीमा १३, बाँकेमा ११, काभ्रेपलाञ्चोकमा ११, कञ्चनपुरमा ११, नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १०, पाल्पामा ७ जनाको स्वतन्त्र उम्मेदवारी छ ।
स्याङजा, सिन्धुली, सिन्धुपाल्चोक र कास्कीमा ६-६ जनाको स्वतन्त्र उम्मेदवारी छ । नुवाकोटमा ५, बर्दिया, पर्वत, धनकुटा र कालिकोटमा ४-४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
सुर्खेत, रामेछाप, रसुवा, दैलेख, तनहुँ, डडेलधुरा, गोरखा, ओखलढुंगा र अर्घाखाँचीमा ३-३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
यस्तै सल्यान, रोल्पा, म्याग्दी, बैतडी, खोटाङ र उदयपुरमा २-२ जना, संखुवासभा, लमजुङ, रुकुमपूर्व, बाजुरा, डोल्पा, जुम्ला, इलाम र अछाममा १-१ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
मैदानमा महावीर
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पनि आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।
उनी मनोनयन दर्ताको दिन मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । गृहजिल्ला म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्नँ’ भनेका थिए ।
३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएपछि स्वतन्त्र उम्मेदवार भएर अगाडि बढेको उनको प्रतिक्रिया थियो । उम्मेदवारी दर्ता गरेसँगै उनी चुनावी प्रचारमा खटिइसकेका छन् । तर चुनाव चिह्न पाउन भने माघ ९ गतेसम्म पखिर्नुपर्छ ।

स्वतन्त्र उम्मेदवारी दिनेमा ८० वर्ष माथिको संख्या नै चार छ ।
काठमाडौं-४ मा ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै आचार्यले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि उम्मेदवारी दिएको बताएका थिए ।
काठमाडौं-९ मा ८२ वर्षीय पञ् कुमारी मानन्धरको स्वतन्त्र उम्मेदवारी छ । महोत्तरी-१ मा ८१ वर्षीय प्रेमबहादुर राना मगर र रुपन्देही-५ मा ८१ वर्षीय जयनारायण काफ्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
दलबाट बिच्किएपछि स्वतन्त्र
राजनीतिक दलबाटै टिकटका आकांक्षी रहेका र टिकट नपाएपछि बागी उम्मेदवार भएकाहरूसमेत स्वतन्त्र उम्मेदवारकै रूपमा गनिन्छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता महेश्वर दाहाल सिन्धुली-२ बाट टिकटका आकांक्षी थिए । तर नेकपाले त्यहाँ लेखनाथ दाहाल ‘राजन’लाई टिकट दियो । त्यसपछि महेश्वरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
कालीकोटमा कांग्रेसबाट नेता भूपेन्द्रजंग शाही उम्मेदवारका आकांक्षी दिए । तर पार्टीले हर्षबहादुर बमलाई टिकट दियो । त्यसपछि शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरे । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका शाहीले यसपटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

कालीकोटमै नेकपाका नेता जीवन बुढाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीबाट उम्मेदवारका दाबेदारी रहेका बुढाले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कालीकोटमा नेकपाका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाही रहेका छन् । यस क्षेत्रबाट सधैं पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही मात्र उम्मेदवार बनेको भन्दै नेता जीवन बुढाले बागी उम्मेदवारी दिएका हुन् ।
दाङ-१ मा पनि बागी उम्मेदवारी परेको छ । नेकपाबाट यस क्षेत्रमा पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ टिकटsf आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेकपाको आधिकारिक उम्मेदवारका रूपमा मेटमणि चौधरी छन् । अघिल्लो निर्वाचनमा पनि चौधरीले यही क्षेत्रबाट जितेका थिए ।
पर्सा-२ मा कांग्रेसको तर्फबाट राजेश्वरप्रसाद साह टिकटका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसले पर्सा–२ बाट आधिकारिक रूपमा पूर्वकानुन मन्त्री अजयकुमार चौरसियालाई उम्मेदवार बनाएको छ ।
डमी उम्मेदवार
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका नजरमा नेपालमा आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पर्नुका मुख्यतः दुई कारण छन् ।
पहिलो- एकथरीलाई राजनीतिमा चर्चित हुन मन लाग्छ । अलिअलि पैसा छ भने उठिहाल्छ ।
दोस्रो- राजनीतिक दलले टिकट नदिएको आक्रोशमा स्वतन्त्र उठ्ने प्रवृत्ति छ ।
राजनीतिमा चर्चित हुन मन लागेर होस् वा दलले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने प्रवृत्ति होस् यी दुवैको उम्मेदवारी मनको शान्तिको लागि रहने गरेको प्राध्यापक पोखरेल बताउँछन् ।
‘कहीँ जनाधार छ भने स्वतन्त्र पनि उठ्छन् र चुनाव जित्छन् । यो नगण्य मात्रामा रहन्छ,’ उनी भन्छन् ।
यस बाहेक डमी उम्मेदवारका रूपमा समेत कतिपयले स्वतन्त्र उम्मेदवार खडा गर्छन् । यस्तो अभ्यास नेपालमा भन्दा ज्यादा भारतमा देखिने गरेको पोखरेलको अनुभव छ ।
‘भारततिर स्वतन्त्र भनेको मत गणनामा प्रतिनिधि राख्नका लागि डमी उम्मेदवार बनाउने चलन पनि छ । आफूलाई जित्न सजिलो हुन्छ भनेर अर्को स्वतन्त्र उठाउने अभ्यास पनि छ ।’
नेपालमा पनि यदाकदा डमी उम्मेदवारको चर्चा हुने गरेको छ । तर भारतमा जस्तो नेपालमा डमी उम्मेदवार उठाउने प्रवृत्ति नरहेको पोखरेल बताउँछन् ।
प्रतिक्रिया 4