News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश क्रिकेट बोर्ड र टिमका प्रतिनिधिहरूले टी–२० विश्वकप २०२६ मा सहभागिता जनाउने विषयमा सरकारसँग अन्तिम छलफल सुरु गरेका छन्।
- बैठकमा बीसीबी अध्यक्ष अमिनुल इस्लाम, सीईओ निजामुद्दिन र राष्ट्रिय टिमका खेलाडीहरू सहभागी छन्।
- भारतमा गएर विश्वकप नखेल्ने अडान कायम राख्दै बीसीबीले सरकारसँग अन्तिम निर्णय गर्ने तयारी गरेको छ।
८ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र बंगलादेश क्रिकेट टिमका प्रतिनिधिहरूले टी–२० विश्वकप २०२६ मा सहभागिता जनाउने विषयमा सरकारसँग अन्तिम छलफल सुरु गरेका छन्। ढाकाको इन्टरकन्टिनेन्टल होटलमा भइरहेको बैठकमा खेलकुद सल्लाहकार आसिफ नजरुलसँग छलफल भइरहेको छ।
बैठकमा बीसीबी अध्यक्ष अमिनुल इस्लाम, सीईओ निजामुद्दिन तथा राष्ट्रिय टिमका खेलाडीहरू नुरुल हसन, शमीम हुसैन, हसन महमुद, नजमुल हुसैन शान्तो, जाकेर अली र सैफ हसन सहभागी छन्।
समाचार संस्था क्रिकइन्फोका अनुसार खेलाडीहरूको साझा धारणा टी–२० विश्वकप खेल्नुपर्छ भन्ने नै रहेको छ। तर छलफलका क्रममा भारतमा गएर विश्वकप नखेल्ने अडान भने कायम नै रहेको बताइएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टिमबाट रिलिज गर्न निर्देशन दिएपछि यो विवाद सुरु भएको थियो ।
त्यसयता बंगलादेश क्रिकेट बोर्डले भारतमा गएर टी-२० विश्वकप नखेल्ने अडान राख्दै आएका छन् । जनवरी ४ देखि नै भारतमा खेल्नुपर्ने विषयमा सुरक्षा चिन्ताका कारण बीसीबी र बंगलादेश सरकार भारत यात्रा नगर्ने अडानमा थिए।
तर, भारतमा खेल्न अस्वीकार गरे बंगलादेशलाई विश्वकपबाट हटाएर अर्को टिमलाई मौका दिने आईसीसीको चेतावनीपछि बीसीबीले सरकारसँग अन्तिम छलफल गर्ने निर्णय गरेको थियो ।
आजको बैठकले बंगलादेश विश्वकप खेल्न भारत जाने कि प्रतियोगिताबाट बाहिरिने भन्ने विषयमा निर्णायक फैसला गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4