८ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ ।
पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
बिहिबार विज्ञप्ति जारी गर्दै गर्बुजाले आफ्नो दलको दर्शन, विचार र सिद्धान्तप्रति प्रतिबद्धता कायम राख्दै पुन स्वतन्त्र उम्मेदवार बनेकाले आफूले उम्मेदवारी फिर्ता गर्न लागेको बताए ।
सर्वसम्मतिका साथ साझा उम्मेदवार बनाएर निर्विरोध निर्वाचित गराउनुपर्छ भन्ने मान्यताका साथ आफूले उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
शुक्रवार आयोगले निर्धारण गरेको समयसिमाभित्र जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता गर्ने समेत उनले बताए ।
यसै पार्टीबाट यसअघिका निर्वाचनमा उम्मेदवार बनेका डिके पुन, ओमराज मगर र दिपक पुनले समेत महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।
उनको रोचक प्रचार शैलीका कारण पनि सामाजिक सञ्जालमा चर्चा बढेको छ ।
प्रतिक्रिया 4