News Summary
Generated by OK AI. Editorially reviewed.- पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघको निर्वाचन प्रक्रिया रोक्न दिएको अन्तरिम आदेश रद्द गराउन एन्फा निर्वाचन समितिले दायर गरेको रिटमाथि सुनुवाइ अघि बढाइएको छ।
- अदालतले निवेदक रविन्द्र चन्द र विराटजंग शाहीलाई माघ २३ गते उपस्थित हुन म्याद तामेल गर्न आदेश दिएको छ।
- एन्फा निर्वाचन समितिले माघ ६ गते निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो।
११ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन समितिले अन्तरिम आदेश रद्द गरिपाउँ भन्दै दायर गरेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ प्रक्रिया अघि बढाइएको छ।
यसअघि गत माघ ४ गते पाटन उच्च अदालतले एन्फाको निर्वाचन प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशको विरुद्धमा एन्फा निर्वाचन समितिले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो ।
न्यायाधीशद्वय राजुकुमार खतिवडा र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले उक्त अन्तरिम आदेश रद्द गरिपाउँ भन्ने निवेदनमाथि छलफलका लागि विपक्षी पक्षलाई उपस्थित गराउने आदेश दिएको छ।
निवेदक रविन्द्र चन्दको ठेगानामा म्याद तामेल हुन नसकेको तथा मोबाइल सम्पर्क पनि हुन नसकेको भन्दै म्याद फिर्ता आएको अदालतले जनाएको छ। साथै, विराटजंग शाहीलाई पनि उक्त निवेदनको छलफलको सूचना नदिइएको देखिएपछि दुवै जनालाई माघ २३ गते अदालतमा उपस्थित गराउन म्याद तामेल गर्न आदेश दिइएको छ।
यदि व्यक्तिगत रूपमा म्याद तामेल हुन नसकेमा रविन्द्र चन्द र विराटजंग शाही दुवैको हकमा एन्फा कार्यालयमै म्याद तामेल गरिने आदेशमा उल्लेख छ। साथै, विराटजंग शाहीलाई माघ २२ कै तारेखमार्फत जानकारी दिई, रिट निवेदन तथा सम्बन्धित निषेधाज्ञा मुद्दासमेत सोही मितिमा पेशी तोकिएको छ।
पाटन उच्च अदालतको उक्त आदेश आएको पर्सिपल्ट माघ ६ गते एन्फाको निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया 4