News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले बैंककमा सम्पन्न ३१औं थाई इन्टरनेसनल ट्राभल फेयर २०२६ मा सफल सहभागिता जनाएको छ।
- बोर्डले नेपाल एयरलाइन्स र ११ ट्राभल कम्पनीसँग मिलेर नेपाल प्याभिलियनमार्फत पर्यटन प्रवर्द्धन गरेको छ।
- थाई बजारमा नेपालको पर्यटन छविलाई मजबुत बनाउँदै दीर्घकालीन साझेदारी सुदृढ गर्ने विश्वास बोर्डले व्यक्त गरेको छ।
१२ माघ, काठमाडौं । दक्षिण-पूर्वी एसियाको प्रमुख पर्यटन स्रोत बजार थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन सशक्त बनाइएको छ ।
नेपाल पर्यटन बोर्डले बैंककमा सम्पन्न ३१औं ‘थाई इन्टरनेसनल ट्राभल फेयर (टीआईटीएफ) २०२६’ मा सफल सहभागिता जनाएको बताएको छ । जहाँ नेपाली पर्यटनका विविधता र सम्भावना देखाइएको थियो ।
२२ देखि २५ जनवरीसम्म क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा आयोजित चार दिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवर्द्धन गरेको हो ।
मेलामा सहभागी कम्पनीले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादनबारे प्रत्यक्ष जानकारी दिएका थिए । थाइल्यान्ड र नेपालबीचको दैनिक प्रत्यक्ष उडान तथा साप्ताहिक २० भन्दा बढी हवाई सेवाले दुई देशबीचको पर्यटन आदान–प्रदानलाई सहज बनाएको छ ।
यही हवाई पहुँचले थाई बजारमा नेपालको पर्यटनप्रति चासो बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बोर्डको भनाइ छ ।
मेलामा लुम्बिनी, हिमाली क्षेत्र, सम्पदा सहर, पदमार्ग, साहसिक तथा आध्यात्मिक यात्रा उत्पादनले थाई पर्यटकहरूलाई आकर्षित गरेको थियो ।
पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवाद मार्फत सम्भावित यात्रुलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अवसर मेलाले प्रदान गरेको बोर्डले जनाएको छ । पर्यटन प्रवर्द्धनसँगै टीआईटीएफ २०२६ व्यवसाय–देखि–व्यवसाय (बीटुबी) नेटवर्किङका लागि पनि प्रभावकारी प्ल्याटफर्म बनेको थियो ।
सहभागी नेपाली कम्पनीले थाई ट्राभल ट्रेड, टुर अपरेटर तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग भेटघाट गर्दै नयाँ व्यावसायिक सम्बन्ध स्थापना र भविष्यका सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।
टीआईटीएफ २०२६ मा नेपालको उपस्थितिले थाई बजारमा नेपालको पर्यटन छविलाई थप मजबुत बनाएको, दीर्घकालीन पर्यटन वृद्धिका लागि साझेदारी सुदृढ गरेको र दक्षिण–पूर्वी एसियामा नेपालको गन्तव्य पहिचानलाई नयाँ उचाइमा पुर्याउन भूमिका खेलेको बोर्डको विश्वास छ ।
प्रतिक्रिया 4